आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

गुल्मीमा १९ करोड लागतका चार पक्की पुल निर्माण सुस्त, यात्रामा सास्ती

आइतबार, चैत ४ २०८०
गुल्मीमा १९ करोड लागतका चार पक्की पुल निर्माण सुस्त, यात्रामा सास्ती

सडक कालोपत्र भएको चार वर्ष बितिसक्दा पनि खोलामा पक्की पुल निर्माण हुन सकेका छैनन्।

गुल्मी- गुल्मीमा चार पक्की पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ। सम्झौता बमोजिम तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन।

हुलाके, धनार्जी, घमिर र फूलबारीमा पक्की पुल निर्माणाधीन अवस्थामा छन्। तम्घास-सिमलटारी सडक खण्डअन्तर्गतका ती पक्की पुल समयमै निर्माण नहुँदा यात्रुले वर्षौँदेखि सास्ती खेप्दै आएका छन्। सडक कालोपत्र भएको चार वर्ष बितिसक्दा पनि खोलामा पक्की पुल निर्माण हुन सकेका छैनन्।

तम्घास‐सिमलटारी सडक खण्डअन्तर्गत हुलाके, धनार्जी, फूलबारी र घमिरका खोलामा पुल नहुँदा बर्खामा सवारीसाधान सञ्चालन गर्न समस्या भएको छ। पैदलयात्रुले पनि समस्या भोग्दै आएका छन्। तम्घास-सिमलटारी सडक खण्डका चार स्थानका पुल नबन्दा बर्खामा सवारीसाधन बीच बाटोमै थन्किने गर्छन्।

संघीय सरकारको सहयोगमा धनार्जीमा सात करोड ४८ हजार रुपैयाँ र हुलाके खोलामा पाँच करोड ७९ लाख ५३ हजार रूपैयाँको लागतमा पुल निर्माण थालिएको हो। त्यसैगरी घमिर खोलामा तीन करोड १३ लाख रूपैयाँ र फूलबारी खोलामा तीन करोड ३२ लाख रूपैयाँको लागतमा पुल निर्माण कार्य अघि बढेको हो।

मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास-सिमलटारी, पुर्कोट हुँदै प्युठानसम्म जोडने उक्त सडकमा १९ करोड रूपैयाँभन्दा बढीको लागतमा चार पुल निर्माणाधीन अवस्थामा छन्। पुल निर्माणका लागि घमिर र फूलबारीमा पन्त निर्माण सेवा तथा हुलाके र धनार्जी खोलामा सुनिल समीर निर्माण सेवा प्रालीले निर्माणको जिम्मा लिएका छन्।

मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका प्रमुख इन्जिनियर युवराज पोखरेलले आगामी वर्ष असारसम्म चारवटै पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए। रासस


प्रकाशित : आइतबार, चैत ४ २०८०१६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend