सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

७ अर्ब ९१ करोडको लागतमा ४४ मेगावाटको बकान खोला जलविद्युत आयोजना निर्माण हुने

आइतबार, चैत ४ २०८०
७ अर्ब ९१ करोडको लागतमा ४४ मेगावाटको बकान खोला जलविद्युत आयोजना निर्माण हुने

आयोजनाबाट उत्पादित विद्युत २२० केभी लम्बाइको प्रसारण लाइनमार्फत ५५ किलोमिटरको दूरीमा अवस्थित सितलपाटी सब-स्टेशनमा जडान गरिने रिपोर्टमा उल्लेख छ।

काठमाडौं- ४४ मेगावाट क्षमताको बकान खोला जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ। वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि रिपोर्ट सार्वजनिक गरेको छ। आयोजना संख‍ुवासभाको भोटखोला गाउँपालिका रहने छ। आयोजनाको प्रस्तावक समिट इनर्जी सोलसुन प्रालि रहेको छ।
 
आयोजनाको परामर्शदाता नेपाल इन्भाइरोमेन्ट एण्ड डेभलपमेन्ट कन्सल्टट्यान्ट प्रालिले वातावरणीय प्रभाव रिपोर्ट तयार पारेको हो। ४४ मेगावाट क्षमताको बकान खोला जलविद्युत आयोजना संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर २ मा प्रस्ताव गरिएको छ।

प्रस्तावित आयोजना पिक रन अफ अफ रिभर प्रकृतिको रहेको छ। प्रस्तावित आयोजनाको ग्रस हेड १०५२.१० मिटर, नेट हेड १००३.१५ मिटर रहेको छ र डिजाइन डिस्चार्ज ५.१५ घनमिटर प्रति सेकेण्ड रहेको छ। 

प्रस्तावित आयोजनाबाट औसत वार्षिक २५७.६७ गिगावाट आवर (वर्षा याममा ऊर्जा १७८.९६ गिगावाट आवर, सुख्खा यामको कुल ऊर्जा उत्पादन ७८.७१ गिगावाट आवर (सुख्खा मौसमको पिक ऊर्जा उत्पादन१५.१५ गिगावाट आवर र सुख्खा मौसमको नन पिक ऊर्जा उत्पादन ६३.१६ गिगावाट आवर) ऊर्जा उत्पादन हुने रिपोर्टमा उल्लेख छ। 

डाइभर्जन वेयर, इन्टेक, अन्डरस्लुइस, ग्राभेल ट्रयाप, एप्रोच क्यानल, सेटलिङ बेसिन, पिकिंङ पोण्ड, हेडरेस पाइप, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप, प्रेशर साफ्ट, विद्युतगृह, टेलरेस क्यानल तथा प्रसारण लाइन प्रस्तावित आयोजनाका मुख्य अवयवहरू हुने रिपोर्टमा उल्लखे छ।  

हेडरेस टनेलको लम्बाइ करिब ३३०७ मिटर, हेडरेस पाइपको लम्बाइ १२९.५ मिटर र व्यास १.८० मिटर तथा पेनस्टक पाइपको लम्बाइ ११६० मिटर र आन्तरिक व्यास १.२ मिटर र प्रेशर साफ्टको लम्बाइ १२२१ मिटर रहेको छ।

यस आयोजनाबाट उत्पादित विद्युत २२० केभी लम्बाइको प्रसारण लाइनमार्फत ५५ किलोमिटरको दूरीमा अवस्थित सितलपाटी सब-स्टेशनमा जडान गरिने रिपोर्टमा उल्लेख छ।

आयोजनाको  निर्माण अवधि पाँच वर्षको राखिएको छ।  आयोजनाको लागत आईडीसी बाहेक ६ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ अनुमान गरिएको छ। प्रतिमेगावाट १५ करोड ७८ लाख खर्चको अनुमान गरिएको छ। तर आईडीसीसमेत गर्दा आयोजनाको लागत ७ अर्ब ९१ करोड रुपैयाँ अनुमान गरिएको छ।


प्रकाशित : आइतबार, चैत ४ २०८०११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend