सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

८ मेगावाट क्षमताको नुवाकोट तादी घ्यांगफेदी आयोजना अघि बढ्यो, २०८३ भित्रै सम्पन्न गर्ने लक्ष्य

शनिबार, चैत ३ २०८०
८ मेगावाट क्षमताको नुवाकोट तादी घ्यांगफेदी आयोजना अघि बढ्यो, २०८३ भित्रै सम्पन्न गर्ने लक्ष्य

यो जलविद्युत आयोजनाले तादी खोलाको २.२५ घनमिटर प्रति सेकेण्ड पानी र ४४६ मिटर ग्रस हेडको प्रयोग गरी ८ मेगावाट विद्युत उत्पादन गर्नेछ।

काठमाडौं- नुवाकोटको गुप्तेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजना अघि बढाउन विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गरिएको छ।

आयोजनाले विभागमा पेश गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) रिपोर्टमा स्थानीयका तर्फबाट रायसुझाव भए ३५ दिनभित्र पेश गर्नका लागि विभागले चैत्र ३ गते सूचना जारी गरेको हो।

आयोजनाको प्रवर्द्धक कम्पनी एबीपी इनर्जी प्रालि रहेको छ। कम्पनी सञ्चालक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाले आयोजना निर्माणको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको बताए। आयोजना निर्माणमा अन्य अवरोधहरु नभएमा २०८३ चैत्रभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको खतिवडाले बताए।

नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाका मुख्य-मुख्य संरचनाहरु गुप्तेश्वर गाउँपालिका वडा नम्बर १ स्थित खोलाको दायाँ किनारमा रहने छन्।

विद्युत विकास विभागका अनुसार आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयबाट २०७९ फागुन ३० मा स्वीकृत भएको थियो।

प्रस्तावित जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा कुनै उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा विभाग वा एबीपी इनर्जी प्रालिको कार्यालयमा लिखित प्रतिक्रिया दिन आह्वान गरिएको छ।

तादी घ्याङफेदी जलविद्युत आयोजनाले तादी खोलाको २.२५ घनमिटर प्रति सेकेण्ड पानी र ४४६ मिटर ग्रस हेडको प्रयोग गरी ८ मेगावाट विद्युत उत्पादन गर्नेछ। आयोजनाबाट वार्षिक ४९.७६ गिगावाट आवर (सुक्खायाममा १६.१७ गिगावाट आवर र वर्षायाममा ३३.५९ गिगावाट आवर) विद्युतीय ऊर्जा उत्पादन हुनेछ।

आयोजनाका लागि आवश्यक पर्ने पानी फर्काउन तादी खोलामा २२ मिटर लम्बाइ र ४ मिटर उचाइको बाँध निर्माण गरिने छ। विद्युतगृह १९.६ मिटर लम्बाइ, १६.२ मिटर चौडाइ २१.७७ मिटर उचाइको विद्युतगृहमा ४/४ मेगावाट क्षमताका दुई वटा टर्बाइन रहने छन्।

आयोजनाबाट उत्पादित विद्युत आयोजनाको स्विचयार्डमा जडान गरी ५ किलोमिटर लामो ३३ केभी सिंगल सर्किट प्रसारण लाइनबाट नुवाकोटकै समुन्द्रटारमा रहेको सबस्टेसनमा जडान गरिने छ।


प्रकाशित : शनिबार, चैत ३ २०८०१५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend