आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

राष्ट्रिय राजमार्ग जोड्ने सडक स्तरोन्नति गरिँदै

बिहीबार , चैत १ २०८०
राष्ट्रिय राजमार्ग जोड्ने सडक स्तरोन्नति गरिँदै

दुई राष्ट्रिय राजमार्गलाई जोड्नका लागि खुलाइएको यो सडक गाउँपालिकाको गौरवको योजना हो। दुवैतर्फबाट सडक जोडिएपछि दक्षिण बागलुङका हजारौँ नागरिकलाई बुटवल, भैरहवालगायतका सहरमा पुग्न सहज हुने भएको छ।

ढोरपाटन- बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजर्मागले जोडिएका छन्। तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी-ढोरपाटन सडकले जोडिएका हुन्।

राष्ट्रिय राजमार्गले नजोडिएको बरेङ गाउँपालिकाले सहज यातायातका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरसँग जोड्नका लागि सडक खुलाएर स्तरोन्नति गर्न थालेको छ। गाउँपालिकाको पश्चिममा मध्यपहाडी लोकमार्ग र पूर्वमा कालीगण्डकी करिडोर पर्छन्। दुवैतर्फ नाका खोलेर यस वर्षदेखि स्तरोन्नतिको काम गर्न थालिएको हो।

मध्यपहाडी लोकमार्गसँग जोड्न पेरीबाङतर्फबाट एक दशक अगाडि नै ट्रयाक खुले पनि पूर्वमा कालीगण्डकी करिडोरसँग जोड्न उर्लेनीमा गत वर्षमात्रै ट्रयाक खोलिएको थियो। दुई राष्ट्रिय राजमार्गलाई जोड्नका लागि खुलाइएको यो सडक गाउँपालिकाको गौरवको योजना हो। दुवैतर्फबाट सडक जोडिएपछि दक्षिण बागलुङका हजारौँ नागरिकलाई बुटवल, भैरहवालगायतका सहरमा पुग्न सहज हुने भएको छ।

गाउँपालिकाले दुईतिरैबाट राजमार्ग जोडेपछि सडकलाई स्तरोन्नतिसमेत गर्न थालेको छ। यस सडकलाई स्तरोन्नति गर्नका लागि गाउँपालिको चालु आर्थिक वर्षमा दुई करोड २० लाख रूपैयाँ विनियोजन गरेर काम अगाडि बढाएको छ। बरेङसँगै गलकोट क्षेत्रका नागरिकलाई राष्ट्रिय राजमार्गसँग जोडेर यातायातालाई सहज बनाउन यो सडक निर्माण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए।

राजमार्गको पहुँचभन्दा टाढा हुँदा यहाँका नागरिक हरेक अवसरबाट वञ्चित हुने हुँदा पालिकाले लगानी गरेर दुई राजमार्गसँगको पहुँच बढाएको उनको भनाइ छ। यो सडकले बरेङमा थुप्रै सम्भावनाको ढोका खोलेको अध्यक्ष शर्मा बताउँछन्। बुटवल तथा काठमाडौं जानका लागि धेरै फेरो लगाएर पुग्नुपर्ने बाध्यताको समेत अन्त्य हुने शर्माको भनाइ छ।

उनले भने, 'गलकोटतर्फको खण्ड धेरै वर्ष अगाडि खुलेको थियो, जसले मध्यपहाडी लोकमार्गमा पुग्न सहज बनाएको थियो, जैमिनीतर्फ खुलेको थिएन, करिब दुई किलोमिटर सडक गत वर्ष खुलाइयो, दुवैतर्फ सडक खुलेपछि दुई राष्ट्रिय राजमार्ग जोडिए, अब यहाँका नागरिकलाई देशका ठूला सहरमा जान समस्या हुने छैन, यहाँका किसानले उत्पादन भएका वस्तु बजारीकरण गर्नसमेत सहज हुनेछ, अब बरेङ पनि राष्ट्रिय सडकबाट टाढा भएन।'

सो सडक करिब २० किलोमिटर छ। सडक स्तरोन्नतिका लागि रेसुंगा दर्शन अर्जुन/श्रीकृष्ण जेभीले जिम्मा लिएको छ। गत पुसमा सम्झौता भएर काम सुरु गरेको निर्माण कम्पनीले हालसम्म करिब ७० प्रतिशत काम सकेको गाउँपालिकाका इन्जिनियर कृष्णबहादुर थापाले जानकारी दिए। यस वर्ष सडक फराकिलो बनाउने, ठाउँ-ठाउँमा ढलान गर्ने, पक्की नाली र ग्राभेल गरिने उनको भनाइ छ। निमार्ण कम्पनीले तीव्रगतिमा काम गरेको हुँदा अब ग्राभेलमात्रै गर्न बाँकी रहेको इन्जिनियर थापाले बताए। निर्माण कम्पनीले विसं २०८१ बैशाख ३१ गतेसम्म काम सक्नुपर्ने उनको भनाइ छ।

'निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ, अब धेरै काम बाँकी छैन, ग्राभेलिङ गर्न मात्रै छ, सडकलाई फराकिलो बनाउनेदेखि नाली बनाउनेसम्मको काम सकियो, यही रफ्तारमा काम गर्दै गयो भने समयमै सकिने सम्भावना छ', इन्जिनियर थापाले भने, 'काम थालेको पुसबाट हो, अहिले पनि कामदार परिचालन गरिएका छन्।' रासस


प्रकाशित : बिहीबार , चैत १ २०८०१४:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend