आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भुक्तानी नपाएको भन्दै ठेकेदारले पारे काम ठप्प, नौ करोड लागतको पुल अलपत्र

बुधबार, फागुन ३० २०८०
भुक्तानी नपाएको भन्दै ठेकेदारले पारे काम ठप्प, नौ करोड लागतको पुल अलपत्र

रकम भुक्तानीका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेर पठाए पनि अहिलेसम्म रकम नआउँदा व्यवसायीले काम रोकेको नगरप्रमुख बताउँछन्।

नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-५ र १६ जोड्ने खजुरा खोलामाथि निर्माणाधीन पुलको काम बन्द भएको छ। करिब १० करोड रूपैयाँको लागतमा निर्माणाधीन उक्त पुलको भुक्तानी लामो समयसम्म नपाएको भन्दै ठेकेदार कम्पनीले काम ठप्प बनाएपछि निर्माणको काम अलपत्र भएको हो।

निर्माण व्यवसायीले अहिलेसम्म काम गरेबापत पाउनुपर्ने एक करोड १० लाख रूपैयाँमध्ये हालसम्म १६ लाख रूपैयाँ मात्र भुक्तानी दिइएको बर्दघाट नगरपालिकाले जनाएको छ।

पाउनुपर्ने बाँकी रकम नपाएको भन्दै निर्माण व्यवसायीले काम नगर्ने भन्दै काम ठप्प परेका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए। 'रकम भुक्तानीका लागि केही महिनाअघि अर्थ मन्त्रालयमा सिफारिस गरेर पठाएका थियौँ', उनले भने, 'अहिलेसम्म रकम नआएपछि व्यवसायीले काम रोकेको छ।'

वर्षायाममा खोला तर्न कठिन हुँदा बर्दघाटसँगै छिमेकी पालिका सुस्ता र प्रतापपुरका स्थानीय लामो दुरी भएर आवतजावत गर्नुपर्ने बाध्यतालाई हटाउन खोलामा पुल निर्माणको योजना परेको थियो।

सम्झौतापछिको लामो समयसम्म निर्माण कम्पनीले काम बन्द गरेपछि नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासनले प्रहरीमार्फत निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर काम सुरु गराएको थियो।

विसं २०७७ मा श्रीमती सञ्जीवनी निर्माण सेवाले नौ करोड ७७ लाख रूपैयाँमा पुल निर्माणको सम्झौता गरेको हो। रासस


प्रकाशित : बुधबार, फागुन ३० २०८०१३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend