आइतबार, जेठ ६ गते २०८१    
images
images

३५ किलोमिटर लामो वसन्तपुर-ढुंगेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न

images
आइतबार, फागुन २७ २०८०
images
images
३५ किलोमिटर लामो वसन्तपुर-ढुंगेसाँघु २२० केभी प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न

वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ढुंगेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ। वसन्तपुरबाट २२० केभी प्रसारण लाइन हुँदै विद्युत् इनरुवा सबस्टेसनमा पुर्‍याएर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुनेछ।

images
images

काठमाडौं- कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ। 

images
images
images

तमोर नदी र त्यसका सहायक खोलानालाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर-ढुंगेसाँघु २२० केभी डबल प्रसारण लाइन निर्माण गरिएको हो। समुद्र सतहबाट ३ हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर-ढुंगेसाँघु २२० प्रसारण लाइनको लम्बाइ ३५ किलोमिटर छ। 

images

प्रसारण लाइनका लागि १२७ वटा टावरहरु निर्माण गरिएका छन्। वसन्तपुर-ढुंगेसाँघु प्रसारण लाइनअन्तर्गत नै वसन्तपुर सबस्टेसनमा ६ वटा वे विस्तार भइरहेको छ। त्यसमध्ये ३ वटा बेका उपकरणहरु जडान र परीक्षण कार्य भइरहेको छ। उक्त कार्य आगामी चैतको पहिलो हप्ताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

images
images

pasaran 2.jpg

images
images

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वसन्तपुर-ढुंगेसाँघु प्रसारण लाइन निर्माण सम्पन्न भएपछि मुख्यरुपमा सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ताप्लेजुङमा निर्माण गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजनाको विद्युत प्रवाहमा कुनै समस्या नरहेको बताए। 

‘वसन्तपुर-ढुंगेसाँघु प्रसारण लाइनमा केही हप्ताभित्रमा मध्य तमोरको विद्युत जोडिने छ, आयोजनाको हाल अन्तिम चरणका परीक्षणका कार्यहरु भइरहेको जानकारी पाएका छौँ, आयोजनाको विद्युत जोड्न वसन्तपुर सबस्टेसनमा वे विस्तारका लागि उपकरण जडान र परीक्षणका कार्यहरु भइरहेका छन्, मध्य तमोरले विद्युत उत्पादन सुरु गर्ने बेलासम्ममा वसन्तपुर सबस्टेसनमा वे विस्तार सम्पन्न भइ विद्युत प्रवाहका लागि तयार हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने।  

‘प्रसारण लाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत आयोजनाहरु निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनुपर्ने अवस्था छ, मध्य तमोरलगायतका जलविद्युत आयोजनाहरुको विद्युत उक्त लाइनमा जोडिएर इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भइ विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ’, कार्यकारी निर्देशक घिसिङ भन्छन्।

parsarn 3.jpg

कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज-३अन्तर्गत वसन्तपुर-ढुंगेसाँघु २२० केभी प्रसारण लाइन र ढुंगेसाँघुमा १३२/३३ केभी सबस्टेसन निर्माणका लागि केइसी इन्तरनेशनल, भारतसँग २०७४ माघमा २ करोड ४५ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो।

उक्त ठेक्का सम्झौता २०७५ जेठबाट कार्यान्वयनमा आएको थियो। प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने ढुंगेसाँघु सबस्टेसन निर्माण अन्तिम चरणमा छ। नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा वसन्तपुर-ढुंगेसाँघु प्रसारण लाइन निर्माण गरिएको हो।

कोशी करिडोर प्रसारण लाइन आयोजना प्याकेज-४अन्तर्गत वसन्तपुर-ढुंगेसाँघु प्रसारण लाइनको दोस्रो सर्किट निर्माण र वसन्तपुर सबस्टेसनमा वे विस्तार कार्य भइरहेको छ। कुल ३५ किलोमिटरमध्ये प्रसारण लाइनमध्ये हालसम्म १५ किलोमिटर तार तानिएको छ। वे विस्तार कार्य अहिले पनि जारी छ। 

यस प्याकेजका काम गर्न नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडसँग २०७९ कात्तिकमा ठेक्का सम्झौता भएको थियो। नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भइरहेको यस प्याकेजका सम्पूर्ण काम आगामी डेढ महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ। 

कोशी करिडोर प्रसारण लाइन प्याकेज-१ अन्तर्गत सङ्खुवासभाको तुम्लिङ्टारबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ। 

प्याकेज-२अन्तर्गत सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार, बानेश्वर तथा वसन्तपुरमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ढुंगेसाँघु सबस्टेसनबाट विद्युत आउने छ। वसन्तपुरबाट २२० केभी प्रसारण लाइन हुँदै विद्युत इनरुवा सबस्टेसनमा पुर्‍याएर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुनेछ। 

नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो। अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोशी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ।

कोशी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो। 

कोशी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार  मेगावाट, ढुंगेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ। कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दुरीको २२० केभी प्रसारण लाइन हो। 


प्रकाशित : आइतबार, फागुन २७ २०८०१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend