सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एक कामदार बराबर कति आम्दानी गर्छन् विश्वका ठूला कार उत्पादक?

सबैभन्दा अब्बल किया : प्रतिकामदार २१ लाख डलर आम्दानी

आइतबार, फागुन २७ २०८०
एक कामदार बराबर कति आम्दानी गर्छन् विश्वका ठूला कार उत्पादक?

चर्चित अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंक प्रतिकामदार आम्दानीमा मध्यम देखिएको छ।

काठमाडौं- कम्पनीहरूले आफ्नो उत्पादकत्व वृद्धि गर्नका लागि कामदार राख्छन्। त्यसका लागि उनीहरूले प्रतिस्पर्धाका आधारमा अब्बल कर्मचारीहरू छनोट गर्छन्। कम संख्यामा कामदार राखेर धेरै आम्दानी निकाल्ने जमर्कोमा सबै कम्पनी हुन्छन्। 

कम्पनीको आम्दानी बढाउन कामदर थप गर्नेभन्दा उनीहरूको उत्पादकत्व क्षमता बढाउँदा धेरै फाइदा हुन्छ। प्रतिकामदार आम्दानी दरले कम्पनीको कुल आम्दनीमा हरेक कामदारको योगदान कति छ भन्ने देखाउन महत्वपूर्ण भूमिका हुन्छ। 

विश्वका मुख्य कार उत्पादकको प्रतिकामदार कति आम्दानी भयो भन्ने बारेमा भिजुअल क्यापिटालिस्टले तथ्यांकसहितको ग्राफिक्स तयार पारेको छ। यो ग्राफिक्स कम्पनीज्मार्केटक्याप डटकममा उल्लेखित तथ्यांकमा आधारित रहेर तयार पारिएको हो। 

कार उत्पादक कम्पनीको २०२३ को बजार पुँजीकरणका आधारमा तथ्यांक लिएर प्रतिकामदार आम्दानी निकालिएको छ। प्रतिकामदार आम्दानीमा सबैभन्दा अब्बल कोरियाली कम्पनी किया रहेको छ। प्रतिकामदार आम्दानीमा जापाकी कार उत्पादक कम्पनी निसान केही कमजोर देखिएको छ। 

चर्चित अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंक प्रतिकामदार आम्दानीमा मध्यम देखिएको छ। २०२३ मा टेस्लाको प्रतिकामदार आम्दानी ७ लाख ४० हजार डलर रहेको थियो। 

यस्तो छ २०२३ मा कम्पनीअनुसार प्रतिकामदार आम्दानी

१. किया

२०२३ मा कियाले ७२ अर्ब ६७ करोड डलर आम्दानी गरेको थियो। सो वर्ष कियामा ३४ हजार १ सय ७८ जना कामदार कार्यरत थिए। यस हिसाबमा २०२३ मा कियाको प्रतिकामदार आम्दानी २१ लाख ३० हजार डलर रहेको थियो। 

२. हुन्डाई

कामदार उत्पादकत्वमा अर्को कोरियाली कम्पनी हुन्डाई पनि अब्बल नै दरिएको छ। २०२३ मा हुन्डाईको आम्दानी १ सय १७.९८ अर्ब डलर रहेको थियो। ६३ हजार ९ सय ४२ जना कामदारबाट हुन्डाईले उक्त आम्दानी गरेको हो। सो वर्ष हुन्डाईको प्रतिकामदार आम्दानी १८ लाख ५० हजार रहेको थियो। 

३. फरारी

स्पोर्टस कार निर्माता कम्पनी फरारीको प्रतिकामदार आम्दानी राम्रो देखिएको छ। फरारीले २०२३ मा ५ अर्ब ८५ करोड डलर आम्दानी गरेको थियो। यो आम्दानीमा ४ हजार ९ सय ६१ जना कामदारको योगदान छ। फरारीको २०२३ को प्रतिकामदार आम्दानी ११ लाख ८० हजार डलर रहेको थियो। 

४. पोलस्टार

पोलस्टारले २०२३ मा २ हजार ३ सय ७७ कामदारको मद्दतले २ अर्ब ६५ करोड डलर आम्दानी गरेको थियो। यो हिसाबमा पोलस्टाको सो वर्ष प्रतिकामदार आम्दानी ११ लाख २० हजार डलर रहेको छ। 

५. बीएमडब्लू

जर्मन विलासी कार निर्माता कम्पनी बीएमडब्लूले २०२३ मा १ सय ५९.५ अर्ब डलर आम्दानी गरेको थियो। सो वर्ष बीएमडब्लूसँग १ लाख ४९ हजार ४ सय ७५ जना कामदार कार्यरत थिए। २०२३ मा बीएमडब्लूको प्रतिकामदार आम्दानी १० लाख ७० हजार डलर थियो। 

६. जनरल मोटर

अमेरिकी कार उत्पादक कम्पनी जनरल मोटरले २०२३ मा १ सय ६७.७२ अर्ब डलर आम्दानी गरेको थियो। सो वर्ष जनरल मोटरसँग १ लाख ६७ हजार जना कामदार कार्यरत थिए। २०२३ मा जनरल मोटरको प्रतिकामदार आम्दानी १० लाख २० हजार डलर रहेको थियो। 

७.फोर्ड

अर्को अमेरिकी कार उत्पादक कम्पनी फोर्डले २०२३ मा १ सय ६९.८१ अर्ब डलर आम्दानी गर्दा फोर्डमा १ लाख ७३ हजार कामदार कार्यरत थिए। २०२३ मा फोर्डको प्रतिकामदार आम्दानी ९ लाख ८० हजार डलर थियो। 

८. मर्सिडिज बेन्ज

जर्मन विलासी कार उत्पादक कम्पनी मर्सिडिज बेन्जले २०२३ मा १ सय ६०.६१ अर्ब डलर आम्दानी गरेको थियो। उक्त वर्ष मर्सिडिजसँग १ लाख ६९ हजार ३ सय ५५ जना कामदार थिए। २०२३ मा मर्सिडिजको प्रतिकामदार आम्दानी ९ लाख ५० हजार डलर रहेको थियो। 

९. मारुती सुजुकी इन्डिया

भारतीय कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डियाले २०२३ मा १३ अर्ब ८२ करोड डलर आम्दानी गरेको थियो। उक्त वर्ष मारुती सुजुकी इन्डियामा १६ हजार २ सय ५९ जना कामदार कार्यरत थिए। २०२३ मा मारुती सुजुकीको प्रतिकामदार आम्दानी ८ लाख ५० हजार डलर थियो। 

१०. भोल्भो कार

भोल्भो कारले २०२३ मा ३५ अर्ब ८९ करोड डलर आम्दानी गरेको थियो। सो वर्ष उक्त कम्पनीमा ४२ हजार ३ सय जना कामदार कार्यर थिए। २०२३ मा भोल्भोको प्रतिकामदार आम्दानी ८ लाख ५० हजार डलर रहेको थियो। 

११. सुबारु

जापानी कार उत्पादक कम्पनी सुबारुले २०२३ मा २९ अर्ब १५ करोड डलर आम्दानी गरेको थियो भने सो वर्ष उक्त कम्पनीमा ३७ हजार ५ सय २१ जानले काम गरिरहेका थिए। २०२३ मा सुबारुको प्रतिकार आम्दानी ७ लाख ८० हजार डलर थियो। 

१२. टोयोटा

जापानी कार उत्पादक कम्पनी टोयोटा संसारको सबैभन्दा धेरै कार उत्पादन गर्ने कम्पनी हो। टोयोटाले २०२३ मा २ सय ८३.९७ अर्ब डलर आम्दानी गरेको थियो। सो वर्ष टोयोटामा ३ लाख ७५ हजार २ सय ३५ कामदार कार्यरत थिए। टोयोटा अटोमोटिभ क्षेत्रको सबैभन्दा ठूलो रोजगादाता समेत हो। २०२३ मा टोयोटाको प्रतिकामदार आम्दानी ७ लाख ६० हजार डलर रहेको थियो। 

१३. टेस्ला 

अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला पछिल्लो समयको सबैभन्दा बढी चर्चित सवारी उत्पादक मध्येको एक हो। २०२३ मा टेस्लाको कुल आम्दानी ९४ अर्ब २ करोड डलर थियो। सो वर्ष टेस्लामा १ लाख २७ हजार ८ सय ५५ जना कामदार कार्यरत थिए। २०२३ मा टेस्लाको प्रतिकामदार आम्दानी ७ लाख ४० हजार डलर रहेको थियो। 

यसैगरी मित्सुबिसी मोटर्सले २०२३ मा १८ अर्ब ५९ करोड आम्दानी गर्दा २८ हजार ४ सय २८ जना कामदार कार्यरत थिए। सो वर्ष मित्सुबिसीको प्रतिकामदार आम्दानी ६ लाख ५० हजार डलर थियो। २०२३ मा अर्को जापानी कम्पनी होन्डाको पनि प्रतिकामदार आम्दानी ६ लाख ५० हजार डलर नै थियो। तर २०२३ मा होन्डाको आम्दानी १ सय २८.२४ अर्ब डलर हुँदा १ लाख ९७ हजार ३९ जना कामदार कार्यरत थिए। 

जापानी कम्पनी माज्दा र निसानको प्रतिकामदार आम्दानीमा धेरै ठूलो भिन्नता छैन। तर कामदार संख्या र आम्दानीमा भने ठूलै भिन्नता छ। २०२३ मा माज्दा र निसानको आम्दानी क्रमशः ३१ अर्ब १७ करोड डलर र ८२ अर्ब ५७ करोड डलर रहेको थियो।

सो वर्ष यी दुई कम्पनीमा क्रमशः ४८ हजार ४ सय ८१ जना र १ लाख ३१ हजार ७ सय १९ जना कामदार कार्यरत थिए। २०२३ मा माज्दा र निसानको प्रतिकामदार आम्दानी क्रमशः ६ लाख ४० हजार डलर र ६ लाख ३० हजार डलर रहेको थियो। 


प्रकाशित : आइतबार, फागुन २७ २०८००९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend