शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

अझै पुनर्निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २५ २०८०
अझै पुनर्निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना

जलविद्युत् आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा तत्कालीन समयमा ७० करोड रुपैयाँ बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो।

ताप्लेजुङ- गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पुर्‍याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनर्निर्माण सम्पन्न भएको छैन।  

ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना  निर्माण गरिएको थियो। सो आयोजनाको क्षमता ९.९ मेगावाट रहेको थियो।

तत्कालीन रैराङ हाइड्रोपावर कम्पनीको प्रवर्द्धनमा उत्पादित सो जलविद्युत् आयोजनाको बाँध, पाइप लाइन र प्रसारण लाइन र विद्युत्गृहमा बाढीपहिरोले क्षति गरेको छ। आयोजनाको पुनर्निर्माणको काम अहिलेसम्म नसकिँदा विद्युत् उत्पादन ठप्प रहेको हो। 

जलविद्युत् आयोजनाको विभिन्न संरचना ध्वस्त बनाउँदा तत्कालीन समयमा ७० करोड रुपैयाँ बढी क्षति हुन पुगेको प्रारम्भिक अनुमान गरिएको थियो।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का कार्यकारी सदस्यसमेत रहनुभएका आयोजनाका कार्यकारी निर्देशक कुवेरमणि नेपालका अनुसार बाढीपहिरोले बाँध, एक किलोमिटर जति पाइप लाइन, विद्युत्गृह र अन्य संरचनामा क्षति गरेको थियो। 

बाढीपहिरोले क्षति गरेको संरचनाको मर्मत तथा पुनर्निर्माणको काम भने अहिले धमाधम भइरहेको उनले जानकारी दिए।

पुनर्निर्माणलाई तीव्रता दिँदै आएको र हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाका स्थानीय जनसम्पर्क अधिकृत टीकाराम मिश्रले जानकारी दिए।

आगामी बैशाखसम्ममा उत्पादन सुरु गर्ने गरी हाल निर्माणको काम भइरहेको उनले बताए। उनका अनुसार लामो समयसम्म उत्पादन सञ्चालन नहुँदा आयोजनाले नोक्सानी खेपिरहनुपरेको छ। 

आयोजना नजिक रहेको २५ मेगावाट क्षमताको काबेली ‘बी-१’ को विद्युत् उत्पादन भने सञ्चालन भएको छ।

अरुण काबेली पावर लिमिटेडको प्रवर्द्धनमा निर्माण भएको काबेली ‘बी-१’ जलविद्युत् आयोजनाको उत्पादन करिब एक महिनाअघिदेखि सुरु भएको हो।

इँवाखोला, काबेली बी-१ लगायत यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनालाई सोहीअर्थात् एकै समयमा बाढीपहिरोले क्षति गरेको थियो। रासस


प्रकाशित : शुक्रबार, फागुन २५ २०८०११:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend