शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

३१५ किमि प्रसारण लाइनमध्ये बुटवल-गोरखपुरको १८ किमिमा काम अघि बढ्यो, बंगलादेश विद्युत निर्यातमा सहज हुने

बुधबार, फागुन २३ २०८०
३१५ किमि प्रसारण लाइनमध्ये बुटवल-गोरखपुरको १८ किमिमा काम अघि बढ्यो, बंगलादेश विद्युत निर्यातमा सहज हुने

सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको एमसीए नेपालले जनाएको छ।

काठमाडौं- एमसीए नेपाल सञ्चालक समितिले विद्युत् प्रसारण लाइनको १८ किलोमिटर लामो सीमापार खण्डको काम अगाडि बढाएको छ।

एमसीए-नेपाल सञ्चालक समितिको २०८० साल फागुन २१ गते बसेको ४०औँ बैठकले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागेको ३१५ किलोमिटर लामो प्रसारण लाइन सञ्जालबाट १८ किलोमिटर लामो बुटवल-गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको जनाएको छ।

यस सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको एमसीए नेपालले जनाएको छ।

सञ्चालक समितिको बैठकपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह-सचिव तथा प्रवक्ता श्री नविन राज सिंहले भने, 'नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको गम्भीरतापूर्ण महत्वलाई दृष्टिगत गर्दै एमसीए नेपाल सञ्चालक समितिले उक्त ठहर गरेको हो। यस खण्डलाई वृहद् प्रसारण लाइन सञ्जालबाट छुट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्नका लागि यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न हुने सुनिश्चित गर्नेछ।'

एमसीए नेपालका अनुसार यो सीमापार प्रसारण लाइन विद्युत् प्रसारण आयोजनाको महत्वपूर्ण अंश हो र यसले नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्नेछ।

नयाँ बुटवल गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्यको व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचनासम्बन्धमा नेपाल सरकार तथा भारत सरकारबीच २०७६ साल असोजमा सहमति भएको थियो।

बाँकी २९७ किलोमिटर प्रसारण लाइनका सन्दर्भमा, निर्धारित समयावधिभित्रै उक्त प्रसारण लाइनको निर्माण सम्पन्न गर्न डिजाइन-बिल्ड निर्माण कम्पनीहरूको सेवा खरिदका लागि एमसीए-नेपालले काम अगाडि बढाइरहेको जनाएको छ।

एमसीए-नेपाल प्रसारण लाइनहरू समयमै, बजेटभित्रै र नेपाल सरकार एवं एमसीसीको वातावरणीय तथा सामाजिक मापदण्डअनुसार निर्माण हुने सुनिश्चित गर्न प्रतिबद्ध रहेकोसमेत जनाएको छ।


प्रकाशित : बुधबार, फागुन २३ २०८०१७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend