शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

मन्त्रालयबाट बिदा हुँदै शक्ति बस्नेतले भने - एक वर्षमा ऊर्जा क्षेत्रमा उल्लेख्य प्रगति

दिउँसो बिदाइ कार्यक्रम, बेलुकी शपथको तयारी

बुधबार, फागुन २३ २०८०
मन्त्रालयबाट बिदा हुँदै शक्ति बस्नेतले भने - एक वर्षमा ऊर्जा क्षेत्रमा उल्लेख्य प्रगति

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो अरुण, दुधकोशी जस्ता आयोजना निर्माण सुरु गर्ने तयारी छ।

काठमाडौं- मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति भएको छ। नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता, रोकिएका आयोजनालाई गति दिने तथा नयाँ आयोजनाको सुरुवातलगायतका विषयमा भएका प्रगति उल्लेख्य छन्।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा निर्वतमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको बिदाइका लागि आयोजित कार्यक्रममा मन्त्रालयका सम्बद्ध अधिकारीले एक वर्षमा उल्लेख्य प्रगति भएको बताए। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गत चैतमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीको रुपमा बस्नेतले कार्यभार सम्हालेका थिए। उनी पुन: नयाँ सत्ता साझेदारीपछि पनि ऊर्जामन्त्री नै बन्ने भएका छन्। जसमा बुधबार बेलुकी नै शपथ हुँदै छ। ‘अहिलेको परिस्थितिले मन्त्रालयमा नेतृत्व फेरिनेभन्दा पनि नयाँ भएर आउने हो’ बिदाइ कार्यक्रममा उनले भने।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना, माथिल्लो अरुण, दुधकोशी जस्ता आयोजना निर्माण सुरु गर्ने तयारी छ।

यस्तै, रानीजमरा कुलरिया सिँचाइ आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ। लामो समयसम्म समस्यामा रहेका विद्युत् प्रसारण लाइन समेत निर्माण सम्पन्न भएका छन्। ठूला क्षमताका सवस्टेशनहरु पनि निर्माण सम्पन्न भएका छन्।

विद्युत् विधेयक संघीय संसद्मा पेश भएको छ। मन्त्रालय सम्वद्ध अन्य विधेयकहरु प्रक्रियामा अगाडि बढेका छन्। कानूनी एवम् संरचनागत सुधारमा विशेष ध्यान दिइएको भन्दै ऊर्जा सचिव गोपालप्रसाद सिग्देलले एक वर्षमा उल्लेख्य प्रगति भएको बताए।

कार्यप्रगतिका हिसाबले पनि यो अवधिमा उल्लेख्य काम भएको जानकारी दिँदै उनले तोकिएका लक्ष्य प्राप्तिमा समेत मन्त्रालय अब्बल रहेको बताए।

जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले समीक्षा अवधिमा मुलुकको जलस्रोत तथा सिँचाइको क्षेत्रमा परिणाम देखिने गरी काम भएको बताए।

जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले आयोगलाई गतिशिल बनाउनका लागि यस अवधिमा परिणाममुखी र सार्थक काम अगाडि बढेको बताए।

निर्वतमान ऊर्जामन्त्री बस्नेतले आफू गैरप्राविधिक मन्त्री भएपनि ऊर्जा, जलस्रोतको क्षेत्रमा सामूहिक रुपमा कार्यसम्पादन गर्ने प्रयत्न गरेको बताए। उनले मुलुकको समग्र ऊर्जा क्षेत्रको प्रगतिका लागि यस अवधिमा भएका कामलाई थप गति दिन अझै मेहनतको जरुरी रहेको बताए।

'केही रणनीतिक महत्वका कामहरु यसबीचमा भएका छन्। त्यसले देश र जनताको हितमा काम गर्नेछ। हामीले यसबाट सार्थक परिणाम प्राप्त गर्नेछौँ', बस्नेतले भने। उनले यस अवधिमा मन्त्रालयको समग्र टोलीबाट आफूले सार्थक सहयोग पाएको बताए।


प्रकाशित : बुधबार, फागुन २३ २०८०१५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend