आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

धरान-इटहरी सडक निर्माणमा सुस्त गति, व्यापारिक मार्ग अधुरो रहँदा व्यवसायमा असर

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २३ २०८०
धरान-इटहरी सडक निर्माणमा सुस्त गति, व्यापारिक मार्ग अधुरो रहँदा व्यवसायमा असर

सडकखण्ड निर्माणको ठेक्का हिमदुङ थोकर एन्ड प्यासिफिकले पाएको छ। तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म आधा काम पनि सकिएको छैन।

धरान- कोशी राजमार्गको रानी-विराटनगर-इटहरी-धरान सडक आयोजनाअन्तर्गत धरान-इटहरी सडकको सेउती-पानीपिया सडकखण्ड निर्माण कार्य सुस्त गतिमा भइरहेको छ। समयमै सडक निर्माण नहुँदा यात्रुले सास्ती भोगिरहेका छन्। 

धरानको सेउतीपुलदेखि इटहरीको तरहरास्थित पानीपियासम्मको पाँच दशमलव तीन किलोमिटर सडक निर्माणमा ढिलाई हुँदा यात्रुलाई समस्या भएको छ।

लामो समयदेखि जताततै सडक भत्काइएको छ। बर्खामा हिलो र हिउँदमा धुलोले यात्रा गर्न कठिन हुने गरेको छ। सडक भत्किएर खाल्डाखुल्डी हुँदा दुर्घटना बढिरहेको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा उक्त सडकखण्डमा ५३ वटा दुर्घटना भएका थिए। दुर्घटनामा परेर ६ जनाको ज्यान गएको थियो भने ८८ जना घाइते भएका थिए।

यस्तै आर्थिक वर्ष २०७९/८० मा २३ दुर्घटना हुँदा तीन ३ जनाको ज्यान गएको। दुर्घटनामा ४३ जना घाइते भएका थिए। चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म ६ वटा दुर्घटनामा एक जनाको मृत्युको छ भने १० जना घाइते भएका छन्। 

सडकखण्ड निर्माणको ठेक्का हिमदुङ थोकर एन्ड प्यासिफिकले पाएको छ। तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म आधा काम पनि सकिएको छैन।

ठेकेदारको ढिलासुस्तीका कारण सडक निर्माण कार्यले गति लिन सकेको छैन। चीनको नाका किमाथाङ्कादेखि भारतको नाका जोगबनी जोड्ने महत्वपूर्ण व्यापारिक मार्ग अधुरै रहँदा प्रदेशको व्यापार व्यवसायमा असर पुगेको छ। 

धरान-इटहरी सडक आयोजना इटहरीका इन्जिनियर अस्मिता सुवेदीले चार लेन सडकको पश्चिमतर्फको दुई लेन सडकको काम भइरहेको बताए। निर्माणमा संलग्न ठेकेदारलाई काम छिटो गर्न पत्राचार गरेको उनको भनाइ छ। ठेक्काको म्याद सकिएपछि म्याद थप्ने प्रक्रिया अघि बढाइएको इन्जिनियर सुवेदीले बताए। रासस


प्रकाशित : बुधबार, फागुन २३ २०८०१०:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend