सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नयाँ ईभी र हाइब्रिड कार बनाउन फोर्डले भारतमा टाटा मोटर्ससँग साझेदारी गर्ने!

फोर्डलाई बजार विस्तार र टाटाका कार अमेरिका लान सहज हुने

शनिबार, फागुन १९ २०८०
नयाँ ईभी र हाइब्रिड कार बनाउन फोर्डले भारतमा टाटा मोटर्ससँग साझेदारी गर्ने!

टाटा मोटर्ससँगको साझेदारीले फोर्ड तथा टाटा दुवै कम्पनीलाई लाभदायी हुनेछ।

काठमाडौं- २०२१ मा भारतबाट बाहिरिएको अमेरिकी कार उत्पादक कम्पनी फोर्ड मोटर्स पुनः भारत आउने चर्चा सुरु भएको लामै समय भइसक्यो। पछिल्लो पटक फोर्डले भारतमा आउन चाहेको पुष्टि हुँदै गएको छ। यसको पछिल्लो प्रमाणका रुपमा तामिलनाडूमा रहेको फोर्डको प्लान्ट बिक्री नगर्नुलाई लिइएको छ। 

अब भारत आउँदा फोर्डले विद्युतीय र हाइब्रिड कारलाई प्राथमिकता दिने र स्थानीय साझेदारसँगको सहकार्यमा आउन चाहेको छ। सुरुमा भारतको व्यवसायिक घराना जेएसडब्लू ग्रुपसँग कुरा भइरहेको थियो।

तर फोर्ड र जेएसडब्लूको साझेदारीको सम्भावना सकिएको छ। पछिल्लो पटक फोर्डले साझेदारीका लागि भारतीय सवारी जायन्ट टाटा मोटर्ससँग छलफल भइरहेको चर्चा भारतमा छ। 

विद्युतीय कार र हाइब्रिड कार बनाउने गरी फोर्ड र टाटा मोटर्सबीच संयुक्त उपक्रम (जेभी)को सम्भावना निकै बलियो हुँदै भएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्।

भारतीय उत्पादन प्लान्टबाट घाटा धेरै भएको भन्दै फोर्ड २०२१ मा बाहिरिएको थियो। त्यसअघि अर्को अमेरिकी कम्पनी जनरल मोटर्सले पनि केही वर्षअघि नै भारत छाडेको थियो। 

फोर्डले भारतबाट बाहिरिने निर्णय जसरी लिएको थियो त्यही शैलीमा भारत पुनर्प्रवेशको तयारी गरेको देखिन्छ। पछिल्लो एक रिपोर्टअनुसार फोर्ड भारत फर्किने तयारीमा रहेको र अब आउँदा विद्युतीय सवारी बिक्री/उत्पादनलाई केन्द्रित गरेर आउने भएको छ। २०२१ मा भारतबाट बाहिरिनु अघि फोर्डसँग दुईवटा सवारी उत्पादन प्लान्ट थियो।

भारतबाट बाहिरिने निर्णय गरेको फोर्डले दुवै प्लान्ट बिक्री गर्नेगरि काम गरिरहेकोमा बीचमा एउटा प्लान्ट बिक्री नगर्ने भन्दै डिल रद्द गरेको थियो। 

गुजरातमा रहेको फोर्डको प्लान्ट भने भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले खरिद गरेर विद्युतीय कारमात्र उत्पादन सुरु गरिसकेको छ। चेन्नईमा रहेको फोर्डको प्लान्ट भने बिक्री गर्ने निर्णयबाट पछि हटेर फोर्डले आफैँसँग राखेको हो। 

उक्त निर्णयले पनि फोर्ड पुनः भारत आउने कुरालाई बढावा दिएको हो। २०२१ मा भारतबाट बाहिरिएको फोर्ड चेन्नईमा रहेको उत्पादन प्लान्टमार्फत भारत आउने तय भएको हिन्दू बिजनेस लाइनले दाबी गरेको छ। 

त्यस्तै हालै फोर्डले भारतमा मिडसाइज एसयूभीको डिजाइन स्वीकृतिका लागि प्रस्ताव गरेको छ। प्रस्तावित डिजाइन आकारका अनुसार फोर्डको नयाँ मिडसाइज एसयूभी हुन्डाई क्रेटा, किया सेल्टोस तथा सुजुकी ग्रान्ड भिटारासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने खालको छ। सो एसयूभीको विद्युतीय भर्सन आउँछ वा आउँदैन भन्नेबारे फोर्डले खुलाएको छैन।

फोर्डले भारतमा मस्टाङ म्याक ईको ट्रेडमार्क दर्ता गरिसकेको छ। भारतमा विद्युतीय कारको बजार बढ्दै गएको र सवारी उत्पादकहरु पनि यही सेगमेन्टमा केन्द्रित हुन थालेकाले फोर्डले विद्युतीय कार लिएर भारत आउने योजना बनाएको अनुमान धेरैको छ।

केही समयअघि फोर्डले जेएसडब्लू ग्रुपलाई चेन्नईमा रहेको प्लान्ट बिक्री गर्ने गरि छलफल गरिरहेको थियो। तर पछिल्लो पटक उक्त छलफललाई रद्द गरिएको छ। त्यसैले जेएसडब्लूले ओडिसामा आफ्नो प्लान्ट स्थापना गर्ने घोषणा गरिसकेको छ।

टाटा मोटर्स र फोर्डबीच साझेदारी भएमा आधुनिक समयको सबैभन्दा ठूलो साझेदारी हुनेछ। टाटा मोटर्स हाल भारतको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक हो। टाटा मोटर्ससँगको साझेदारीले फोर्ड तथा टाटा दुवै कम्पनीलाई लाभदायी हुनेछ। 

फोर्डका लागि भारतीय बजारमा टाटासँगको साझेदारीले पुनः ब्रान्डिङ गर्दै बजार हिस्सा बढाउन ठूलो सहयोग पुग्नेछ। त्यस्तै भारतीय कम्पनी टाटा मोटर्सलाई फोर्डसँगको साझेदारीले अमेरिकी बजारमा टाटा ब्रान्डका कार लिएर जान राम्रो गेटवे हुनेछ। 


प्रकाशित : शनिबार, फागुन १९ २०८०१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend