सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भिनफास्टले भारतमा सानो विद्युतीय कार बनाउने, २०१ किमि रेन्ज, मूल्य कति?

शुक्रबार, फागुन १८ २०८०
भिनफास्टले भारतमा सानो विद्युतीय कार बनाउने, २०१ किमि रेन्ज, मूल्य कति?

भिनफास्टले भारतमा प्लान्ट स्थापना गरेर कार उत्पादन गर्न सुरु गरेपछि उक्त कार नेपाल आउने छ। भिनफास्टले नेपालका लागि आधिकारिक बिक्रेतासमेत चयन गरिसकेको छ।

काठमाडौं- भियतनामी विद्युतीय कार निर्माता कम्पनी भिनफास्टले भारतमा प्लान्ट स्थापना सुरु गरेसँगै उत्पादन हुने विद्युतीय कारको पेटेन्ट दर्ता सुरु गरेको छ। भिनफास्टले भारतमा सानो आकारको विद्युतीय कार बनाउन पेटेन्ट दर्ता गरेको हो। 

भिटफास्टले भारतमा स्टेट अफ द आर्ट ईभी उत्पादन प्लान्ट बनाउने र त्यहाँबाट वार्षिक १ लाख ५० हजार विद्युतीय कार उत्पादन हुनेछ। भिनफास्टले भारतमा ईभी प्लान्ट स्थापना गर्न ४ हजार करोड भारु लगानी गर्दै छ। 

भिनफास्टले भारतमा २०२५ मै विद्युतीय कार बजारमा ल्याउने योजना अघि सारेको छ। हालै कम्पनीले भीएफथ्री विद्युतीय ह्याचब्याक कारको पेटेन्ट दर्ता गराइसकेको छ।

यसका साथै भिनफास्टले भारतमा भीएफ सेभेन, भीएफ नाइन तथा सव कम्प्याक्ट एसयूभी भीएफ सिक्स र भीएफ ८ पनि क्रमिक रुपमा उत्पादन गर्दै जानेछ। भिनफास्टले भारतीय विद्युतीय कार बजारमा नयाँ आयाम थप्ने विश्वास लिएको छ। 

भीएफ थ्री ३.२ मिटरको र उच्च ग्राउन्ड क्लियरेन्स भएको विद्युतीय कार हुनेछ। अत्याधुनिक विशेषताले गरिएको यो कारले एक पटकको फुल चार्जमा २ सय १ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। एमजी कोमेट र टाटा टियागो ईभीसँग प्रतिस्पर्धा गर्ने गरि आउने अनुमान गरिएको यो कारको मूल्य ७ देखि १० लाख भारु हुनेछ। 

भारतको तामिलनाडूमा स्थापना भएको प्लान्टमा ३ हजारदेखि ३५ सय जनाले स्थानीय रुपमा रोजगारी पाउने छनु। भारतीय प्लान्टबाट उत्पादन हुने भिनफास्टका विद्युतीय कार भारतसहित दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकी मुलुकमा निर्यात गर्ने योजना कम्पनीको छ। 

ईभी स्टार्टअपका रुपमा टेस्लाकै प्रतिस्पर्धी भनेर चर्चा हुने गरेको भिनफास्ट २०२१ मा विश्व बजारमा प्रवेश गरेको थियो। कम्पनीले भारत सबैभन्दा ठूलो राइट ह्यान्ड ड्राइभ कारको बजार भएको पहिचान गरी भारत आउने तय गरेको थियो।

भारत अटोमोबाइलका लागि बढ्दो बजार भएको र विद्युतीय सवारीलाई भारत सरकारले प्राथमिकता दिएकाले पनि भिनफास्ट आकर्षित भएको हो। 

भारतमा चीनबाहेक देशका सवारी उत्पादक कम्पनीलाई सहज हुँदै गएको छ। चिनियाँ सवारी उत्पादक कम्पनीहरुप्रति भने भारत सरकार कठोर देखिँदै आएको छ। त्यसैले पनि विद्युतीय सवारी उत्पादनमा आक्रामक बजार विस्तारमा रहेका टेस्ला, भिनफास्टजस्ता कम्पनीका लागि भारत उर्वर हुन सक्ने विज्ञहरुले बताएका छन्। सोहीअनुरुप नै भिनफास्ट भारत प्रवेश गरिसकेको छ भने टेस्ला भारत आउने विभिन्न छलफलमै छ। 

भियतनाको भिन ग्रुपको स्वामित्वमा रहेको विद्युतीय कार निर्माता भिनफास्ट कम्पनी २०१७ मा स्थापना भएको थियो। त्यसयता कम्पनीले ठूल्ठूला योजनाहरु सार्वजनिक गरिरहेको छ। भिनफास्टले भारतसहित मलेसिया, मध्यपूर्व, अफ्रिका तथा ल्याटिन अमेरिकामा उत्पादन प्लान्टसहित प्रवेश गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। भिनफास्टले ४० देखि ५० सम्भावित बजारको पहिचान गरी प्लान्ट स्थापनाको योजनासहित काम गरिरहेको छ। 

भिनफास्टले भारतमा प्लान्ट स्थापना गरेर कार उत्पादन गर्न सुरु गरेपछि उक्त कार नेपाल आउने छ। भिनफास्टले नेपालका लागि आधिकारिक बिक्रेतासमेत चयन गरिसकेको छ।

विशाल समूहअन्तर्गतको एसभान्स्ड अटोमोबाइल प्रालि भिनफास्टको आधिकारिक बिक्रेता नियुक्त गरिसकेको छ। भारतमा उत्पादन हुनुपूर्व एडभान्स्ड अटोमोबाइलले तेस्रो मुलुकमा उत्पादन भएको भिनफास्टको विद्युतीय कार ल्याउने अनुमान गरिएको छ। 


प्रकाशित : शुक्रबार, फागुन १८ २०८०११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend