सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

विद्युतीय कार लिएर भारतमा पुनः प्रवेश गर्दै फोर्ड

मंगलबार, फागुन १५ २०८०
विद्युतीय कार लिएर भारतमा पुनः प्रवेश गर्दै फोर्ड

भारतबाट बाहिरिने निर्णय गरेको फोर्डले दुवै प्लान्ट बिक्री गर्नेगरि काम गरिरहेकोमा बीचमा एउटा प्लान्ट बिक्री नगर्ने भन्दै डिल रद्द गरेको थियो।

काठमाडौं- अमेरिकी सवारी उत्पादन कम्पनी फोर्ड भारतमा पुनः प्रवेश गर्दा विद्युतीय कार लिएर आउने भएको छ। फोर्डले भारतबाट बाहिरिने निर्णय जसरी लिएको थियो त्यही शैलीमा भारत पुनर्प्रवेशको तयारी गरेको देखिन्छ।

पछिल्लो एक रिपोर्टअनुसार फोर्ड भारत फर्किने तयारीमा रहेको र अब आउँदा विद्युतीय सवारी बिक्री/उत्पादनलाई केन्द्रित गरेर आउने भएको छ। २०२१ मा भारतबाट बाहिरिनु अघि फोर्डसँग दुईवटा सवारी उत्पादन प्लान्ट थियो।

भारतबाट बाहिरिने निर्णय गरेको फोर्डले दुवै प्लान्ट बिक्री गर्नेगरि काम गरिरहेकोमा बीचमा एउटा प्लान्ट बिक्री नगर्ने भन्दै डिल रद्द गरेको थियो। 

गुजरातमा रहेको फोर्डको प्लान्ट भने भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले खरिद गरेर विद्युतीय कारमात्र उत्पादन सुरु गरिसकेको छ। चेन्नईमा रहेको फोर्डको प्लान्ट भने बिक्री गर्ने निर्णयबाट पछि हटेर फोर्डले आफैँसँग राखेको हो। 

उक्त निर्णयले पनि फोर्ड पुनः भारत आउने कुरालाई बढावा दिएको हो। २०२१ मा भारतबाट बाहिरिएको फोर्ड चेन्नईमा रहेको उत्पादन प्लान्टमार्फत भारत आउने तय भएको हिन्दू बिजनेस लाइनले दाबी गरेको इकोनोमिक टाइम्सले लेखेको छ। त्यस्तै हालै फोर्डले भारतमा मिडसाइज एसयूभीको डिजाइन स्वीकृतिका लागि प्रस्ताव गरेको छ। 

प्रस्तावित डिजाइन आकारका अनुसार फोर्डको नयाँ मिडसाइज एसयूभी हुन्डाई क्रेटा, किया सेल्टोस तथा सुजुकी ग्रान्ड भिटारासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने खालको छ। सो एसयूभीको विद्युतीय भर्सन आउँछ वा आउँदैन भन्नेबारे फोर्डले खुलाएको छैन।

फोर्डले भारतमा मस्टाङ म्याक ईको ट्रेडमार्क दर्ता गरिसकेको छ। भारतमा विद्युतीय कारको बजार बढ्दै गएको र सवारी उत्पादकहरु पनि यही सेगमेन्टमा केन्द्रित हुन थालेकाले फोर्डले विद्युतीय कार लिएर भारत आउने योजना बनाएको अनुमान धेरैको छ।

केही समयअघि फोर्डले जेएसडब्लू ग्रुपलाई चेन्नईमा रहेको प्लान्ट बिक्री गर्ने गरि छलफल गरिरहेको थियो। तर पछिल्लो पटक उक्त छलफललाई रद्द गरिएको छ। त्यसैले जेएसडब्लूले ओडिसामा आफ्नो प्लान्ट स्थापना गर्ने घोषणा गरिसकेको छ। 


प्रकाशित : मंगलबार, फागुन १५ २०८०१५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend