आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

११ करोडभन्दा बढी लागतमा पर्वतमा बन्दैछ चार मोटरेबल पुल, आगामी दुई वर्षभित्र सकिने

आइतबार, फागुन १३ २०८०
११ करोडभन्दा बढी लागतमा पर्वतमा बन्दैछ चार मोटरेबल पुल, आगामी दुई वर्षभित्र सकिने

चार पुलमध्ये मोदी-६ र ८ को सिमानामा रहेको लिदिखोलामा १६ मिटर लामो पुल निर्माण धमाधम भइरहेको छ। कुनै पुलको काम सुरु भएर तीव्र गतिमा चलिरहेको छ भने कुनै पुलको काम सुरु हुनै बाँकी छ।

पर्वत- पर्वतका ग्रामीण सडकमा चालु आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण हुने भएका छन्। जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमहिना सञ्चालन गर्ने उद्देश्यले खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो। 

पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिकाको लिदि खोला, पैँंयू गाउँ गाउँपालिकाको सरौ र भोर्लेखोला तथा कुश्मा र फलेवास नगरपालिकाको सिमानामा पर्ने मल्र्याङ्दीखोलामा मोटरेबल पुल निर्माण गरिने भएको हो। चार पुलमध्ये मोदी-६ र ८ को सिमानामा रहेको लिदिखोलामा १६ मिटर लामो पुल निर्माण धमाधम भइरहेको पूर्वाधार कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए।

उनका अनुसार डिमुवा-राम्जा सडक खण्डमा पर्ने उक्त पुलको करिब ४० प्रतिशत निर्माण सकिएको छ। प्रमुख अधिकारीले दुई करोड ५३ लाख रूपैयाँको लागतमा निर्माण हुन लागेको बताए।

यो पुल निर्माणपछि मोदी-७ राम्जा, वडा नं ८ चित्रे र कुश्मा नगरपालिका-१४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित हुनेछन्।

त्यस्तै, दक्षिण पर्वतको पैँयू गाउँपालिकामा पर्ने सरौ-बालाकोट सडक खण्डअन्तर्गत छत्तिसेघाट मोटरेबल पुलको निर्माण पनि तीव्र गतिमा भइरहेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ। करिब २५ मिटर लामो उक्त पुलको २० प्रतिशत भन्दाबढी काम सम्पन्न भइसकेको प्रमुख अधिकारीले जानकारी दिए। चार करोड ४३ लाख रूपैयाँमा उक्त पुल निर्माण भइरहेको छ।

वर्षायाममा सरौखोलामा आउने ठूलो बाढीका कारण पैंँयू गाउँपलिकाको सरौखोला र महाशिला गाउँपालिकाको होश्राङदी, भोसक्सिङ र बालाकोटका नागरिकले समस्या भोग्दै आएका थिए। पुल निर्माणपछि बाह्रैमहिना सहजरुपमा सडक सञ्चालन हुने विश्वास बढेको थानीय खगेन्द्र तिवारीले बताए।

कुश्मा-१० पीपलटारी र फलेवास-३ शंकरपोखरी जोड्नेगरी मल्याङदीखोलामाथि मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढेको छ। पुल निर्माणका लागि बोलपत्र आह्वान भइसकेको कार्यालयले जनाएको छ। करिब १६ मिटर लामो यो पुल झन्डै चार करोड रूपैयाँको लागतमा बन्नेछ।

बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने उक्त पुल दुई वर्षभित्र सम्पन्न हुने अधिकारीले बताए। यो पुलका लागि चालु आवमा ७५ लाख रूपैयाँ विनियोजन भएको छ।

यसैगरी दक्षिण पर्वतको पैँयू गाउँपालिका-७ स्थित भोर्ले खोला पनि मोटरेबल पुलको निर्माण प्रक्रिया अघि बढेको छ। बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने यो पुलका लागि चालु आवमा ३० लाख रूपैयाँ विनियोजन भएको छ। यसै वर्ष बोलपत्र आह्वान प्रक्रिया पूरा गरी सम्झौता गरिने भन्दै आगामी वर्षको बजेटबाट पुल निर्माण सुरु हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। उनका अनुसार चारवटै मोटरेबल पुलको निर्माण अवधि दुई वर्षको रहेको छ।

आगामी दुई वर्षभित्र चारवटै पुल निर्माण सम्पन्न हुने छन्। निर्माणाधीन लिदिखोला र छत्तिसेघाट मोटरेबल पुल चालु आवमै सम्पन्न हुने उनको भनाइ छ। बजेटको सुनिश्चितता भएपछि बाँकी दुई पुल निर्माण थालिने प्रमुख अधिकारीले बताए। मोटरेबल पुल निर्माणपछि बर्खायाममा ठप्प जस्तै हुने ती सडक सञ्चालन हुने भन्दै स्थानीय खुसी भएका छन्। रासस


प्रकाशित : आइतबार, फागुन १३ २०८०१५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend