आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मानपुर-बुलिङटार सडक : ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र

बुधबार, फागुन ९ २०८०
मानपुर-बुलिङटार सडक : ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र

२२ करोड ८५ लाख लागतमा कालोपत्र सुरु गरिएको हो। सडक स्तरोन्नतिका लागि सोमबारदेखि फागुन २२ गतेसम्म उक्त सडक बन्द गरिएको छ।

दमौली- गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र सुरु भएको छ। तनहुँको मानपुर-डेडगाउँ-बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको हो। 

मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दुरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। 

अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्र सुरु गरेको कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार सडक स्तरोन्नतिका लागि सोमबारदेखि फागुन २२ गतेसम्म उक्त सडक बन्द गरिएको छ।

विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र हुने भएपछि स्थानीयवासी खुसी भएका छन्। उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो।

भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् २२ करोड ८५ लाख ४१ हजार सातसय ९३ को लागतमा कालोपत्र सुरु गरिएको आचार्यले बताए। ३५ करोड १४ लाख ७४ हजार एकसय नौ रूपैयाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार तीनसय १६ रूपैयाँमा कालोपत्रको ठेक्का पाएको थियो।

सडक कालोपत्रको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो। ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारी सुरु भएको र लकडाउनका कारण काम सुरु हुन नसकेको निर्माण कम्पनीले जनाएको छ।

तनहुँको घिरिङ गाउँपालिका-४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको एघार किलोमिटर खण्डमा सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। उक्त सडकको चौडाई सात मिटर रहनेछ। सडकमा पाँच मिटरको कालोपत्र हुनेछ भने एक मिटरको नाला निर्माण हुनेछ। 

कालोपत्र सम्पन्न भएपछि यस क्षेत्रकै समृद्धिको ढोका खुल्ने घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए। रासस


प्रकाशित : बुधबार, फागुन ९ २०८०१८:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend