आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

साढे ४९ अर्बमा तयार हुने ‘सुनकोशी मरिन डाइभर्सन’ आयोजनाको सुरुङ ८० प्रतिशत खनियो

सुरुङभित्रको पहिरोले ५५ दिन निर्माणको काम ठप्प

शुक्रबार, फागुन ४ २०८०
साढे ४९ अर्बमा तयार हुने ‘सुनकोशी मरिन डाइभर्सन’ आयोजनाको सुरुङ ८० प्रतिशत खनियो

काठमाडौं- अबको चार वर्षभित्रमा मधेश प्रदेशका ८ जिल्लामध्ये ५ जिल्लामा बाह्रै महिना सिँचाइको सुविधा पुर्‍याउने र ३१.७ मेगावाट बिजुलीसमेत उत्पादन गर्नेगरी ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’को काम धमाधम भइरहेको छ। 

ठेक्का प्रक्रियाको ढिलाइका कारणले अबको दुई वर्षमै सकिनुपर्ने काम पर धकेलिएकोमा अब भने भौतिक क्षति हुनेगरी समस्या नआएमा थप भएको समयमा नै काम हुनेछ। राष्ट्रिय गौरवको ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ चार वर्षभित्र निर्माण सम्पन्न भएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइको सुविधा पुग्ने छ। 

३१.७ मेगावाटको बिजुलीसमेत उत्पादन हुने आयोजनाले विशेषगरी तराईका ठूला पाँच जिल्लामा सिँचाइका लागि ठूलो महत्व बोकेको छ। जसले धान उत्पादनमा ठूलो फड्को मार्न सकिने अनुमान गरिएको छ। 

२०७९ असोज २८ गतेबाट आयोजनाको सुरुङ खन्ने काम सुरु भएपनि पटक-पटक गरी ५ पटक सुरुङ निर्माणमा प्रयोग भएको अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम)मा समस्या आएको थियो। पछिल्लो समय ५५ दिनदेखि टीबीएम टनेलभित्र फसेको थियो। ‘अहिले बल्ल भित्र आएको पहिरो पन्छाएर टीबीएमलाई सुरक्षित गर्न सफल भएका छौँ,’ आयोजनाका निर्देशक मित्र बरालले भने। अब टीबीएमलाई स्टार्ट गराउने तरखरमा पुगेकोसमेत निर्देशक बरालले जानकारी दिए।

sunkoshi marin diversion (2).jpg

टनेलभित्र ९० मिटर अगाडि ठूलो पहिलोले टीबीएम थुनिएकोले समस्या आएको उनले बताए। चीनबाट ल्याइएको टीबीएम मेसिनमार्फत सुरुङ खन्न थालिएकोमा अहिले ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। ‘अबको ४ महिनाभित्रै सुरुङमा ब्रेकथ्रु हुने छ,’ निर्देशक बरालले भने। 

मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइ पुर्‍याउनु आयोजनको मुख्य लक्ष्य रहेको छ। १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्‍याउने र देशको कृषि उत्पादन बढाउने सरकारको लक्ष्य छ। १३.२ किलोमिटर सुरुङमार्फत सुनकोशी नदीको पानी मरिन नदीमा पुर्‍याइने छ। अहिलेसम्म १०.५ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको बराल बताउँछन्। 

sunkoshi marin diversion (3).jpg

सुनकोशी नदीको ६७ हजार लिटर प्रतिसेकेन्ड पानीलाई उक्त नदीमा बाँध बाँधी १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिन नदीको किनारमा पुर्‍याइ उपलब्ध ६४ मिटर हेडको सदुपयोग गर्दै विद्युत् उत्पादन गरीने निर्देशक बराल बताउँछन्।

पानी मरिन खोलामा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट क्रमशः ७६ हजार ६ सय हेक्टर र ४५ हजार ४ सय हेक्टर गरी जम्मा १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिइएको छ।

sunkoshi marin diversion (4).jpg

आयोजनाअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि २ किलोमिटरमाथि सुनकोशी नदीमा १ सय ५८ मिटर लामो ब्यारेज, १ सय ५० मिटर लामो डिसेण्डिङ बेसिन, टनेल इन्ट्री पोर्टल, ५.५ मिटर व्यास भएको १३.३ किमी लामो सुरुङ तयार हुने छ।

सुनकोशी मरिन डाइभर्सन आयोजना सुनकोशी नदीको पानी बागमती नदीको सहायक नदी मरिन खोलामा स्थानान्तरण गरिने निर्देशक बरालले जानकारी दिए। खुर्कोटबाट पानीलाई सुरुङमार्फत सिन्धुली कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइने ६४ मिटर अग्लो हेडमा खन्याइने छ। जसबाटै ३१.७ मेगावाट विद्युत् उत्पादन गरिनेछ। 

sunkoshi marin diversion (5).jpg

सिन्धुलीको खुर्कोटदेखि लगभग दुई किलोमिटर माथि सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज वा ड्याम निर्माण गरिनेछ। त्यस्तै १५० मिटर लामो डिसेन्डिङ बेसिन जसले सुनकोशी नदीबाट आएको पानी छान्ने काम गर्छ। ‘अहिले ब्यारेजको ठेक्का लागेको छ र सबै काम सम्पन्न हुन करिब ४ वर्ष लाग्ने छ,’ निर्देशक बरालले भने। 

आयोजना आर्थिक वर्ष २०८२/८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते यो आयोजना शिलान्यास गरेका थिए। आयाेजनाकाे म्याद थप गरेर २०८५/८६ सम्म पुर्‍याइएकाे छ। आयोजनका लागि ४६ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको थियो। अब ४९ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ लाग्ने देखिएको निर्देशक बरालले बताए। 

sunkoshi marin diversion (6).jpg

सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ। सुरुङ निर्माण सँगसँगै आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य पटेल रमण जेभी ठेकेदार कम्पनीले गरिरहेको छ।

अहिलेसम्म परियोजनाको भौतिक प्रगति २६.३८ प्रतिशत रहेको छ भने वित्तीय प्रगति २४.१० प्रतिश रहेको छ। अहिलेसम्म ११ अर्ब ९१ करोड रुपैयाँ खर्च भइसकेको छ। सरकारले चालु वर्षका लागि ४ अर्ब १७ करोड विनियोजन गरेकोमा ३ अर्ब ५ करोड रुपैयाँ खर्च भइसकेको छ। 

sunkoshi marin diversion (7).jpg


प्रकाशित : शुक्रबार, फागुन ४ २०८०१२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend