शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

राष्ट्रिय प्रसारण लाइनमा जोडियो लालुगाउँ, दुईसय घरधुरीमा पुग्यो बिजुली

बिहीबार , फागुन ३ २०८०
राष्ट्रिय प्रसारण लाइनमा जोडियो लालुगाउँ, दुईसय घरधुरीमा पुग्यो बिजुली

राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह हुँदै आएको थियो। विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको छ।

मान्म- कालीकोट नरहरिनाथ गाउँपालिका-९ को लालुगाउँमा विद्युतको राष्ट्रिय प्रसारण लाइनले जोडिएको छ। गाउँमा थ्रीफेज वितरण ट्रान्सफर्मर जडान तथा सञ्चालन भएको हो।

पहिलोपटक गाउँमा विद्युतको ११ केभी राष्ट्रिय प्रसारण लाइन जडान भएपछि वडाका दुई सय घरधुरीमा विद्युत् पुगेको वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए।

'विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीवनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको छ', उनले भने, 'राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह हुँदै आएको थियो।'

विद्युत् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुने वडाध्यक्ष बोहोराले बताए। 'अहिले यहाँका करिब एक हजार घरधुरीमा अबको करिब एक महिनाभित्र बत्ती बाल्ने योजना छ', उनले भने, 'पहिलो चरणमा दुई सय घरधुरीमा विद्युत् जडान गरिएको छ।'

कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको र पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताए। 'विद्युत् पुगेका पालिकाको वडा, प्रत्येक टोलमा प्रसारण लाइन जडानको काम चलिरहेको छ', उनले भने, 'चालु आर्थिक वर्षमा जिल्लाभर विद्युत् विस्तार गर्ने लक्ष्य राखिएको छ।'

जिल्लामा कुल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म पाँच हजार पाँच सय घरमा विद्युतको मिटर जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , फागुन ३ २०८०१६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend