आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक स्तरोन्नति गरिँदै

बिहीबार , फागुन ३ २०८०
धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक स्तरोन्नति गरिँदै

धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक स्तरोन्नतिको काम गरिए पनि सुनकोशीस्थित धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न नहुँदा तराईसँगको सीधा यातायात सञ्चालन हुन सकेको छैन।

खोटाङ- बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ। संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुई खण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो।

प्रदेश सरकार र गाउँपालिकाको ५०/५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे-खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम सुरु गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए।

बराहपोखरी गाउँपालिका-२ सुन्तलेमा पर्ने दुवै सडकखण्डमा ग्याविन (तारजाली प्रयोग गरेर निर्माण गरिने पर्खाल), मेसिनरी वाल (सिमेन्ट, बालुवा र ढुंगा प्रयोग गरेर निर्माण गरिने पर्खाल), ड्रेन निर्माण, आरसिसी ढलान, ग्राभेल, माटो फिलिङलगायतका काम भइरहेको छ।

धाप्लाङघाटदेखि बिचशङ्खे-खाकरगैरासम्मको सडक स्तरोन्नति गर्न ६२ प्रतिशत सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ। विसं २०८१ बैशाख मसान्तसम्ममा सक्नेगरी उक्त ठेकेदार कम्पनीले गत पुस ८ गते सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो।

मूल्य अभिवृद्धि करसहित एक करोड ७२ लाख ४१ हजार २४४ रूपैयाँमा कार्यदेश लिएको ठेकेदार कम्पनीले रनिङ बिलमार्फत गत माघ-१५ गते एक करोड छ लाख ९७ हजार ६२३ रूपैयाँ भुक्तानी लिइसकेको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिएका छन्।

सो सडकखण्डमा दुई हजार पाँच सय आठ घनमिटर माटो कटिङ, ४३ दशमलव ३८ घनमिटर ब्रेकर, ३१३ दशमलव २३ घनमिटर ढुंगा सोलिङ, छ सय ८४ घनमिटर ग्याविन वाल, एक सय ६० मिटर ढलानलगायतका काम गर्ने सम्झौतामा उल्लेख छ।

ढलानको काम भइरहेको यो सडकखण्ड यही फागुन मसान्तभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको स्थानीयस्तरमा निर्माणको जिम्मा लिएको सुन्तले कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि बराहपोखरीका प्रबन्ध निर्देशक कृष्णप्रसाद बञ्जराले जानकारी दिए। 'ढलानको काम तीन दिनभित्रमा सम्पन्न हुन्छ। ग्राभेल ५४ घरटिरमात्र बाँकी छ। ६६४ दशमलव १५ घनटिर वालको काम गर्नपुर्नेमा ३० घनमिटर बाँकी छ। करिब ७० जना कामदार छन्', उनले भने, 'समग्रमा ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । फिनिसिङको काम सम्पन्न गरेर यही फागुन मसान्तभित्र फरफारक गर्ने योजनामा छौँ।'

यस्तै, संघीय सरकारसँगको लागत साझेदारीमा सुरु गरिएको सोही सडकको चेकेथुमखण्ड स्तरोन्नतिको काम ९० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। मूल्य अभिवृद्धि करसहित ७७ लाख ११ हजार नौ सय ४० रूपैयाँमा सक्नेगरी निर्माण कम्पनीले चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम लिएको हो।

विसं २०८० बैशाख मसान्तसम्ममा सक्ने गरी गत मङ्सिर २२ गते ठेक्का सम्झौता गरिएको सडक फागुनभित्रै सम्पन्न गर्ने योजनामा रहेको ठेकेदार कम्पनीले जनाएको छ। निर्माणाधीन दुवै खण्डको सडक तोकिएको मितिमा सम्पन्न गर्न तथा गुणस्तर निर्धारणमा खबरदारी गर्ने काम भइरहेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक भूबलराज राईले बताए।

धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक स्तरोन्नतिको काम गरिए पनि सुनकोशीस्थित धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न नहुँदा तराईसँगको सीधा यातायात सञ्चालन हुन सकेको छैन। खोटाङको बराहपोखरी गाउँपालिका-२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका-१४ साउने जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको काम रोकेर सात वर्षपछि डिजाइन (ढाँचा) परिवर्तन गरेर पुनःनिर्माण थालिएको छ।

विसं २०७६ असार २९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते रसुवा-एसएनएस-पप्पु जेभी निर्माण कम्पनीले धाप्लाङघाट पुल निर्माणको जिम्मा लिएको थियो। वेल फाउन्डेसन प्रविधिको मोटरेबल पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा ढाँचा परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको हो।

भ्याटबाहेक २२ करोड ५० लाखमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको पुलको दुईवटा पिलर तथा बीच भागमा एउटा वेलमात्र निर्माण गरिएको छ। ठेक्का सम्झौता भएको सात वर्षपछि ‘डिजाइन’ परिवर्तन गरिएको पुलको लम्बाइ दुई सय मिटर लामो छ।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापार्वाहीले तोकिएको समयमा मोटरेबल पक्की पुल नबन्दा दुई जिल्लाबीचको सिधा यातायात सञ्चालन हुन सकेको छैन। धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण नहुँदा सवारीसाधनमा करिब एक दिनको यात्रापछि गाईघाट पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन्।

धाप्लाङघाटबाट उदयपुरको बेल्टार आधा घण्टा तथा गाईघाट डेढ घण्टामा पुग्ने गरिएको छ। लामो समयसम्म अलपत्र अवस्थामा रहेको धाप्लाङघाटको मोटरेबल पक्की पुल चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राईले जानकारी दिएका छन्। रासस


प्रकाशित : बिहीबार , फागुन ३ २०८०१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend