आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

खाँदबारी-नुम सडकखण्ड : दुई वर्षमा २८ प्रतिशत काम

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २ २०८०
खाँदबारी-नुम सडकखण्ड : दुई वर्षमा २८ प्रतिशत काम

निर्माण कम्पनीले २०८१ असारसम्ममा ३९ किलोमिटर सडक कालोपत्र गरिसक्नुपर्ने सम्झौता भए पनि हालसम्मको प्रगति हेर्दा समयमा काम नसकिने देखिन्छ।

सङ्खुवासभा- सङ्खुवासभामा निर्माणाधीन उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिनसकेको छैन।

खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रुले सास्ती खेप्नुपरेको छ।

उत्तर-दक्षिण कोशी सडक आयोजनाले अनुसार किमाथांका-रानी सडकको सो खण्डमा ठेक्का लागेको दुई वर्षमा २८ प्रतिशतमात्र काम सम्पन्न भएको जनाएको छ।

३९ किलोमिटर कालोपत्रका लागि तीन खण्डमा ठेक्का आह्वान गरे पनि एउटै निर्माण कम्पनीको ठेक्का स्वीकृत भएको थियो।

तीन खण्डमध्ये पहिलो खण्ड खाँदबारी लभिङहिल-थामसेर्कुेसम्म ३६ प्रतिशत, दोस्रो थामसेर्कुे-कप्तानेसम्मको २२ प्रतिशत र  तेस्रो खण्ड कप्तानेबाट नुमसम्म २४ प्रतिशत भौतिक प्रगति भएको सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताए।

१ अर्ब २८ करोडमा कालोपत्रको जिम्मा शर्मा शिवशक्ति जेभीले पाएको थियो। कालोपत्र गर्ने भनिएको ३९ किलोमिटर सडकमा ठेकेदार कम्पनीले ठाउँठाउँमा ग्याबिन तारजाली लगाएर चौडा बनाउने र नाली निर्माणलगायतका सामान्य काममात्रै गरेको छ।

ठेक्का सम्झौता गर्दा माइलस्टोनसम्बन्धी व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार ठेक्का सम्झौता १२ महिना अवधिभित्र ३० प्रतिशत ठेक्का सम्झौता रकमबराबरको वित्तीय प्रगति हासिल गर्नुपर्ने प्राबधान रहेको जनाइएको छ।

सम्झौताअनुसार वित्तीय प्रगति नगरेको जनाउँदै उत्तर-दक्षिण कोशी सडक आयोजनाले दिनको २ लाख ५५ हजार जरिवानासमेत सो निर्माण कम्पनीलाई  तिराएको छ।

समयसीमाअनुसार काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीसँग आयोजनाले करिब ७० लाख जरिवाना तिराएको सूचना अधिकारी जिरेलले बताए।

खाँदबारीबाट चीनको सीमावर्ती किमाथांकासम्म सडकको लम्बाइ एक सय ६२ किलोमिटर छ। उत्तर-दक्षिण कोशी योजनाले ट्रयाक खुलेको एक सय ३९ किलोमिटरमध्ये ३९ किलोमिटर सडक कालोपत्र गर्न लागेको हो।

निर्माण कम्पनीले २०८१ असारसम्ममा ३९ किलोमिटर सडक कालोपत्र गरिसक्नुपर्ने सम्झौता भए पनि हालसम्मको प्रगति हेर्दा समयमा काम नसकिने देखिन्छ। रासस


प्रकाशित : बुधबार, फागुन २ २०८०१०:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend