शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

नीलगिरिखोला-२ को प्रसारण लाइनको परीक्षण सफल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २६ २०८०
नीलगिरिखोला-२ को प्रसारण लाइनको परीक्षण सफल

कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको एक सय ६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ।

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ। 

नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका-४ दोभिल्नादेखि वडा नं-३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो। यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिन्छ। 

नीलगिरिखोला हाइड्रोपावरका आधिकारिक प्रतिनिधि उपेन्द्र गौतमले दोभिल्नादेखि दाना जोड्ने दुई सय २० केभी क्षमताको प्रसारण लाइनको परीक्षण सफल भएको जानकारी दिए।

४२ मेगावाट क्षमताको नीलगिरिखोला पहिलोको विद्युतगृह रहेको छोटेपादेखि दोभिल्ना हुँदै दाना जोड्ने ७.४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भएको छ।  

नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको सहभागितामा दाना सबस्टेसनदेखि नीलगिरि दोस्रोको विद्युतगृहसम्म प्रसारण लाइनबाट विद्युत् आपूर्ति गराएर परीक्षण गरिएको हो। प्रसारण लाइनको परीक्षण सकिए पनि आयोजनाको सुरुङको परीक्षण भने जारी रहेको छ।  

सुरुङमा पानी हालेर परीक्षण गर्ने समय तालिका २०८० साल फागुन १५ गतेसम्म लम्ब्याइएको आयोजनाका आधिकारिक प्रतिनिधि गौतमले बताए। 'टनेलमा पानी हाल्ने क्रममा छोटेपादेखि दोविल्नासम्म खोलाको पानीको बहाव थपघट हुन्छ,' उनले भने, 'माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवतजावत गर्ने कार्य नगराउन सार्वजनिक सूचनामार्फत आग्रह गरेका छौँ।'

नीलगिरिखोला दोस्रो म्याग्दीमा हालसम्म निर्माण भएकोमध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो। बाँध, सुरुङ, विद्युतगृह, प्रसारण लाइन, स्विचार्ड निर्माण सकेपछि परीक्षणलाई तीव्रता दिएको आयोजनाले जनाएको छ।

छोटेपामा निर्माण भएको डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी)मा यसअघि नै पानी हालेर परीक्षण गरिएको थियो। छोटेपादेखि दोभिल्नामा रहेको विद्युतगृहसम्म चार हजार दुई सय ७५ मिटर लामो सुरुङ निर्माण भएको छ। 

विद्युतगृह र छोटेपाको बाँधसहित पाँचवटा अडितबाट विसं २०७६ देखि सुरुङ निर्माण थालिएको थियो। नीलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण भएको छ। दुईवटै आयोजनाको प्रवर्द्धक कम्पनी एउटै हो। 

नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण निर्माण अन्तिम चरणमा पुगेको छ। दुई हजार मिटर लामो सुरुङलाई प्लास्टर गरेर फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ। विद्युतगृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ। 

नीलिगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ। दुई वटै आयोजनाको विद्युतगृह परिसरमा स्विचार्ड बनाइएको छ। बस्तीदेखि टाढा रहेको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माणस्थल भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्छ। १३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको दुवै आयोजना रन अफ द रिभर प्रकृतिका हुन्। 

नारच्याङमा यसअघि पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण भएको थियो।

६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा रहेको कार्यवाहक वडाअध्यक्ष श्याम पुर्जाले बताए।  ९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणमा जाने तयारीमा छ।

कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको एक सय ६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युतगृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ। रासस


प्रकाशित : शुक्रबार, माघ २६ २०८०१०:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend