आइतबार, जेठ ६ गते २०८१    
images
images

निसीखोलामा चार वर्षमा १८ झोलुंगे पुल निर्माण, आठ करोड १० लाख खर्च

images
बुधबार, माघ २४ २०८०
images
images
निसीखोलामा चार वर्षमा १८ झोलुंगे पुल निर्माण, आठ करोड १० लाख खर्च

'लामो समयदेखि खोला तरेर बजार पुग्नु परेको थियो, समय-समयमा खोला तर्दा केहीले ज्यान पनि गुमाए तर यहाँ पुल बनेपछि यस क्षेत्रका खोलाले बगाएर कसैको मृत्यु भएको छैन, वारपार गर्न सहज भएको छ', स्थानीय बताउँछन्।

images
images

ढोरपाटन- निसीखोला गाउँपालिका-९ की ममता घर्ती मगरको घर नजिकै खोला छ। खोला पारि गोठ र बारी छन्। दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ। तीन वर्षअगाडि खोलामा पुल थिएन।

images
images
images

काठको साँघुको भरमा गोठ-घर गर्थिन्। बर्खामा निसीखोला उर्लेर आउँदा समस्या हुन्थ्यो। तर अहिले निसीखोलामाथि झोलुंगे पुल निर्माण भएपछि वारपारमा सहज भएको छ।

images

पुल निर्माण भएपछि वारपारका लागि मात्रै नभएर स्थानीयवासीको दैनिकी नै सहज बनेको छ। अधिकांश समय बारी र गोठामा बिताउने उनी दिनमा १०/१२ पटक खोला वारपार गर्छिन्। पुल नबन्दा खोलामा खसेर छिमेकीले ज्यान गुमाएको पीडा उनीमा अझै छ। तर झोलुंगे पुल निर्माण भएपछि यहाँका स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन।

images
images

खोला तर्दा बगाउँछ कि भन्ने पीरले पनि सताउन छोडेको छ। पुल बनेपछि मान्छेसँग पशुचौपायालाई समेत वारपार गर्न सहज भएको उनी बताउँछिन्। पहिले बर्खाको समयमा धेरै पशुचौपाया खोलाले बगाइदिएको घर्ती मगरले बताइन्। उनले विगतको सम्झना गर्दै भनिन्, 'हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिँदैनथ्यो, काठको साँघु हालेर खोला तर्ने गर्थ्यौँ, साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे।'

images
images

विसं २०७६ पछि निसीखोलामा झन्डै दुई दर्जन झोलुंगे पसल निर्माण भएका छन्। जसले यहाँका हजारौँ स्थानीयको दैनिकी सहज बनाइदिएको छ। गाउँपालिकाको ठाउँठाउँमा झोलुंगे पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन्। गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुंगे पुल निर्माण गरिरहेको छ। निसीखोला गाउँपालिका-४ बडाचौरदेखि झिवाखोला बजार पुग्न जोगिथुम्कादेखि पाँच मिनेट लाग्ने गर्थ्यो तर पुल नहुँदा स्थानीयले झन्डै आधा घण्टा लगाएर अर्को पुल प्रयोग गर्न बाध्य थिए।

अहिले जोगिथुम्पाका-बोहोरागाउँ स्वास्थ्य चौकी जोड्ने झोलुंगे पुल बनेपछि एकै छिनमा बजार पुगिन्छ। पुल नबन्दा गाउँबाट बजार झर्दा नागरिकले जोखिम मोलेर खोला नै तर्ने गरेको भन्दै अहिले पुल तर्न पाउँदा दंग परेको स्थानीय तीर्थबहादुर क्षेत्रीले बताए। पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती खेप्दै आएका स्मरण गर्दै अहिले हिउँद बर्खा बाह्रै महिना वारपारमा सहज भएको उनी बताउँछन्।

क्षेत्रीले भने, 'लामो समयदेखि खोला तरेर बजार पुग्नु परेको थियो, समय-समयमा खोला तर्दा केहीले ज्यान पनि गुमाए तर यहाँ पुल बनेपछि यस क्षेत्रका खोलाले बगाएर कसैको मृत्यु भएको छैन, युवा जसोतसो खोला पार गरे पनि साना बालबालिका र बूढाबूढीलाई समस्या हुने गरेको थियो, धेरै समय लाग्थ्यो, तर अहिले समय छोटो समयमै बजार पुगिन्छ, कसैले पनि खोला तर्नु परेको छैन, पहिले धेरै ठाउँमा काठको फड्के हालेर मान्छे खोला वारपार गर्थे, अहिले धेरै ठाउँमा पुल बनेका छन्।'

चार वर्षको अवधिमा निसीखोलामा मात्रै १८ वटा झोलुंगे पुल बनेका छन्। आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म वडा नं १ मा लेवाङ्खोलाघाट, आङटारीघाट, माडाखोलाघाट, खनिबासघाट र आठबोरघाटमा झोलुंगे पुल निर्माण भएका छन्। वडा नं २ मा खोर्घाघाट, धौलाघाट र खग्रेनीघाटमा पुल निर्माण भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए।

उनका अनुसार वडा नं ५ मा चुसिबाङघाट, सरिटाघाट, सेराबाङघाट र मगराखोला घाटमा झोलुंगे पुल निर्माण भएका छन्। वडा नं ३ मा गहतेराखोलाघाट र ढुवाखोरघाट, वडा नं ४ मा कारीखोलाघाट, वडा नं ७ कुतखोलाघाट, सेलाखेतघाट र वडा नं ५ मा यारीखोलामा झोलुंगे पुल निर्माण गरेको गौतमको भनाइ छ। संघीय सरकारको ८७ र गाउँपालिकाको १३ प्रतिशत लगानीमा १८ पुल निर्माण भएको उनले बताए।

पुल निर्माणका लागि करिब आठ करोड १० लाख खर्च भएको उनको भनाइ छ। आर्थिक वर्ष २०७९/८० देखि हालसम्म निर्माण भएका सातवटा झोलुंगे पुलको एक करोड ७६ लाख रूपैयाँ भुक्तानी दिन बाँकी रहेको गौतमले बताए। संघीय सरकारबाट आउने बजेट समयमै नआउँदा भुक्तानी गर्न नसकिएको उनको भनाइ छ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगर विगतमा यस गाउँपालिका पछाडि पर्दा झोलुंगे पुल बन्न नसकेको भन्दै स्थानीय तह आएपछि छोटो समयमै धेरै पुल निर्माण गर्न सफल भएको बताए। नागरिकको आवश्यकता र मागका आधारमा धेरै ठाउँमा पुल निर्माण गरेको भन्दै अब कुनै पनि नागरिकले पुल नभएका कारण खोलामा बगेर ज्यान गुमाउनु नपर्ने बताए।

निसीखोलामा स-साना दर्जनौँ खोला रहेको भन्दै सबै ठाउँमा पुल निर्माण गर्दै आएको उनको भनाइ छ। पुल निर्माण भएपछि घण्टौँको यात्रा पाँच/दश मिनेटमै छोटिएको अध्यक्ष घर्ती मगरले बताए।

'पाँच वर्ष अगाडिसम्म निसीखोला क्षेत्रमा थोरै मात्र झोलुंगे पुल थिए, थोरै पुलमा धेरै जनताले यात्रा गर्नुपर्ने बाध्यता थियो, ठाउँठाउँमा काठका साँघु हालेर खोला वारपार गर्ने गर्थे, त्यसी यात्रा गर्दै धेरैले ज्यानसमेत गुमाएँ,' उनले भने, 'जब स्थानीय सरकार आयो त्यस यता धेरै पुल बने, अझै बन्ने क्रममा छन्, पुलले नागरिकलाई सहज बनाउने त भयो नै ज्यान पनि बचाउँछ, समय पनि बचाउँछ, आवश्यक पर्ने ठाउँमा पनि क्रमैसँग पुल बन्नेछन्।' रासस


प्रकाशित : बुधबार, माघ २४ २०८०१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend