सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन राजनीतिक दलहरूलाई महासंघ वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

सोमबार, मंसिर २० २०७८
आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन राजनीतिक दलहरूलाई महासंघ वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन्।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनीतिक दलहरूले समान दृष्टिकोण बनाउनुपर्ने बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कोभिड १९ को माहामारीले संकटमा रहेको मुलुकको अर्थतन्त्रलाई द्रूत गतिमा पुनरुत्थान गर्न सबै राजनैतिक दलहरूको समान धारणा आवश्यक पर्ने बताए।

‘अहिले अर्थतन्त्र विस्तारै सुधार हुन थालेको छ। यो जुन सुधार देखिएको छ यसलाई रोकिन दिनुहुन्न। सबै मिलेर यसलाई द्रुत गतिमा पुनरुत्थान गर्नुको विकल्प छैन,’ उनले भने ‘यसका लागि सबै राजनैतिक दलहरूको समान दृष्टिकोण र सहयोग आवश्यक पर्छ।’

अहिले देखिएको कोरोनाको नयाँ ओमिक्रोन भेरियन्टको नेपालमा पर्न सक्ने प्रभाव बारे बोल्दै उहाँले यसलाई अहिलेसम्मका अध्ययनहरूले कम खतरापूर्ण रहेको बताउँदै आएकाले यससँगसँगै आर्थिक तथा व्यवसायिक गतिविधिहरू सञ्चालन गर्नुको विकल्प नभएको बताए।

लुम्बिनी प्रदेश मुलुककै धार्मिक, साँस्कृतिक तथा पर्यटकीय केन्द्र रहेको बताउँदै उनले विस्तारै विस्तारै यस क्षेत्रका भैरहवा र बुटवल जस्ता शहरहरू आर्थिक केन्द्रका रुपमा पनि विकास हुँदै गरेको बताए।

उनले आइएमई समूहको लगानीमा सातवटै प्रदेशमा केबलकार सहितको पर्यटकीय गन्तब्यहरू निर्माण भइरहेको र त्यस्ता परियोजनाहरूमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरूसँग समेत सहकार्य हुने बताए। 

‘हामीले सातवटै प्रदेशमा केबलकारसहितका पर्यटकीय गन्तब्यहरू निर्माण गर्न गइरहेका छौं। यसमध्ये एउटा परियोजना बुटवलमा पनि रहेको छ। यस्ता परियोजनाहरूमा स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरूसँग समेत साझेदारी र सहकार्य हुनेछ,’ उनले भने।

कोभिड–१९ को महामारीले चुनौतीहरूमात्र थपेको छैन, नयाँ अवसरहरूको ढोका पनि खोलेको छ। डिजिटल अर्थतन्त्र निर्माणको गतिलाई तीव्र बनाउन यो सङ्कटले हामी सबैलाई बाध्य पारेको उनको भनाइ छ।

‘इ–कमर्श, इ–कारोबार, सेवा तथा वस्तुको उत्पादन एवम् बजारीकरणमा डिजिटल प्रविधि र प्लेटफर्महरूको प्रयोग बढेको छ,’ उनले भने।


प्रकाशित : सोमबार, मंसिर २० २०७८११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend