आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

४६ लाखको लागतमा ट्वाङखोलामा थालियो झोलुंगे पुल निर्माण

सोमबार, माघ २२ २०८०
४६ लाखको लागतमा ट्वाङखोलामा थालियो झोलुंगे पुल निर्माण
फाइल तस्बिर

घुरिनडाँडा-ठुलचौर जोड्ने गरी झोलुंगे पुल निर्माण सुरु भएको हो। वर्षायाममा आवागमन ठप्प हुँदा गाउँमै बस्नुपर्थ्यो तर अब गाउँलेका दुःखका दिन जाने पक्का भएको छ। ठूलाचौरमा करिब २० घर छन्।

तुलसीपुर- दाङको बबई गाउँपालिका-२ ठूलाचौर गाउँका नागरिक वर्षाको समयमा ट्वाङखोलामा आउने भेलले सधैँ पीडित हुन्थे। वर्षायाममा आवागमन ठप्प हुँदा गाउँमै बस्नुपर्थ्यो तर अब गाउँलेका दुःखका दिन जाने पक्का भएको छ।

लुम्बिनी प्रदेश सरकारको ४६ लाख रूपैयाँ लागतमा उक्त खोलामा झोलुंगे पुल निर्माण हुन थालेपछि स्थानीय खुसी भएका छन्। आगामी वैशाखमा सक्नेगरी झोलुंगे पुल निर्माण सुरु भएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए।

घुरिनडाँडा-ठुलचौर जोड्ने गरी झोलुंगे पुल निर्माण सुरु भएको हो। ठूलाचौरमा करिब २० घर छन्। यहाँका करिब ३५ जना विद्यार्थी नियमित उक्त पुलको बाटो भएर विद्यालय जाने गरेका छन्।

पुल नहुँदा विद्यार्थीहरु वर्षायाम पढ्नबाट वञ्चित हुन्छन्। 'गाउँमा कोही बिरामी परे पनि कसरी अस्पतालसम्म लैजाने भन्ने चिन्ता हुन्छ। वारी विद्यालय, पारी गाउँ छ', स्थानीय गंगाराम विकले भने, 'पुल नहुँदा वारीबाट पारी हेर्ने मात्रै हुन्छ, पुग्न सकिँदैन।' पुल बन्ने भएपछि खुसी मिलेको उनको भनाइ थियो।

वर्षायाममा खोलाले यहाँको दुई गाउँलाई अलग गराउने स्थानीय बताउँछन्। बबई-२ मा पर्ने ठूलाचौरका नागरिक वर्षामा वारिपारि गर्न सक्दैनन्। 

'विद्यार्थी पनि वर्षाभरि विद्यालय जान पाउँदैनन्। पानी पर्न थालेपछि विद्यालय जान नसकेर सबै घरमा बस्न बाध्य हुन्छन्', स्थानीय दिला विश्वकर्माले भने। खोलामा पुल नुहुँदा यसरी वर्षेनि समस्या भोग्नुपरेको उनको भनाइ थियो। पुल निर्माण भइरहेको भन्दै समयमै सम्पन्न भए वर्षामा आवागमन सहज हुने उनले बताए। रासस


प्रकाशित : सोमबार, माघ २२ २०८०१६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend