आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

२३ करोड लागतमा स्तरोन्नति हुँदै रत्नेचौर-भकुण्डे-भकिम्ली सडक

सोमबार, माघ २२ २०८०
२३ करोड लागतमा स्तरोन्नति हुँदै रत्नेचौर-भकुण्डे-भकिम्ली सडक

३० महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो। सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्र र दुई किमी आरसीसी ढलान गर्ने निर्माण कम्पनीका सञ्चालक अरुण सेढाईंले जानकारी दिए।

म्याग्दी- ट्याक (मार्ग) खुलेको २४ वर्षपछि म्याग्दीकोे रत्नेचौर-भकुण्डे-भकिम्ली सडक स्तरोन्नति तथा कालोपत्र भइरहेको छ। 

विसं २०५६ मा ट्र्याक खोलिएको बेनी नगरपालिका-१, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो।

सडक निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र-नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक २३ करोड ३२ लाख रूपैयाँमा ३० महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो।

विगत १६ महिना (२०७९ भदौदेखि २०८० पुससम्म) सडक चक्लाउने, पर्खाल लगाउने, नाली बनाउनेलगायत काम भएका र अबको बाँकी समय कालोपत्रको काम गरिने निर्माण कम्पनीका सञ्चालक अरुण सेढाईंले जानकारी दिए। सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डीबीएसडी प्रविधिको कालोपत्र र दुई किमी आरसीसी ढलान गर्ने उनले जानकारी दिए।

घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि भैरहेको सेढाईंले बताए। हाल चारदेखि पाँच मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे हुने समस्या थियो। 

संघीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक/एक वटा रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न ४०/४० करोड रूपैयाँ विनियोजन गरेको थियो।

म्याग्दीका निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दीका प्रमुख तीन रणनीतिक सडक मध्य कुनै पनि कार्यक्रममा नसमेटिएको र बागलुङको ताराखोला गाउँपालिकासँग जोड्ने भएकाले रत्नेचौर-भकुण्डे-भकिम्ली-बरङ्जा सडक आयोजनालाई सिफारिस गरेको जानकारी दिए।

भकुण्डे र उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नाली निर्माण गर्ने काम सकिएको छ। पहिलो चरणमा उपल्लाचौरदेखि नौ किलोमिटर दुरीमा पर्ने बेनी नगरपालिका-३ तोराखेतसम्म कालोपत्र गर्ने लक्ष्य रहेको छ। यसअघि संघीय सरकारकै बजेटबाट सडकको प्रवेशबिन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किमी तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो। यसैगरी भकिम्ली-बरङ्जा-अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ।

बेनी नगरपालिका-१ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नं २ को ज्यामरुककोट, सानालेक, तोराखेत हुँदै वडा नं ३ भकिम्ली जोड्ने सडक स्तरोन्नति हुने बेनी नगरपालिका-१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, माघ २२ २०८०१३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend