कैलाली- आधुनिकीकरण हुन नसक्दा यहाँका आरन व्यवसाय संकटमा पर्न थालेका छन्। परम्परागत सीपमा आधारित आरन व्यवसाय समयअनुसार परिवर्तन, आधुनिकीकरण र पुस्तान्तरण नहुँदा संकटमा पर्न थालेको आरन व्यवसायीहरू बताउँछन्।
कैलालीको गोदावरी नगरपालिका-८, स्याउले बजारका खड्ग तिरुवाले आरनमा काम गर्ने औजार आधुनिक किसिमका नभएकाले समस्या हुन थालेको बताए। 'बजारमा आधुनिक औजारबाट बनेका सामान सस्तोमा पाउन थाले। हामीले आरनमा बनाएका सामानमा मेहनत बढी लाग्ने र महँगो पनि पर्ने भएकाले बिक्री गर्न पनि समस्या भएको छ', उनले भने, 'कोइला किन्नुपर्छ। नयाँ सामान बनाउनका लागि दुईजना आरनमा चाहिन्छ। घनले फलाम पिटेर सामान बनाउनुपर्छ।'
एउटा हँसियालाई पाँच सयदेखि पन्ध्र सय रूपैयाँसम्ममा बिक्री गर्ने गरेको तिरुवाको भनाइ थियो। सरकारले आधुनिक किसिमका विद्युतीय औजारको व्यवस्था गरिदिए काम गर्न सजिलो हुने आरनको काम गर्ने पनि बढ्ने उनको अपेक्षा छ।
'म हँसिया, कुटो, कोदालो, बञ्चरो, ताउलगायत कृषि र घरायसी प्रयोजनका सबै सामान बनाउँछु। पाँच जनाको परिवार यसैबाट पालेको छु', उनले भने, 'आरनकै सीप सिकेकाले अन्य काम गर्न पनि मन लाग्दैन। तर यसमा मेहनत धेरै छ। आम्दानी कम छ। त्यसैले त अहिले यो व्यवसाय धेरैले छोडिसके। नयाँ पुस्ताले त झन यो काम सिक्न नै मन पराउँदैनन्।'
समयानुकूल आरन व्यवसाय परिवर्तन हुन नसक्दा लोप हुने अवस्थामा पुगेको सोही ठाउँका ५० वर्षीय शेरबहादुर तिरुवाले बताए। 'कोइला पाइँदैन। वनबाट दाउरा काटेर ल्याउन नमिल्दा गोल किन्नुपर्छ। औजार पनि आधुनिक किसिमका भएनन्। पुराना औजारबाट बनाइएका सामान महँगा हुनाका साथै ग्राहकले किन्न पनि मन पराउँदैनन्', उनले भने, 'आधुनिक जमानामा हामीले काम गर्ने औजार पुरानै भए। औजार आधुनिक किसिमका भएको भए सामान बनाउन सजिलो हुन्थ्यो। नयाँ पुस्ताले पनि काम गर्थे होला। कृषि कार्यमा चाहिने सबै सामान बनाउँछु', शेरबहादुरले भने, 'कमाइ त हुन्छ। सम्पूर्ण घरखर्च यसै आरनको कमाइबाटै चलाएको छु। यसैबाट दस जनाको परिवार पालेको छु। दैनिक एक हजारसम्म कमाइ गर्छु।'
समयअनुसार परिवर्तन हुन नसक्दा परम्परागत सीपमा आधारित आरन व्यवसाय लोप हुने अवस्थामा पुगेको गोदावरी नगरपालिका-८ का वडाध्यक्ष गोविन्द चौधरीले बताए। उनले भने, 'परम्परागत सीपमा आधारित यस्ता व्यवसाय हामीले संरक्षण गर्न आवश्यक छ। यसले रोजगारी पनि सिर्जना गर्ने भएकाले आरन व्यवसायलाई आधुनिकीकरण गर्न सकेसम्म पहल गर्छु।' रासस