आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

अक्षते-लेखानी सडक : ट्रयाक खुलेको २० वर्षपछि स्तरोन्नति गरिँदै

मंगलबार, माघ ९ २०८०
अक्षते-लेखानी सडक : ट्रयाक खुलेको २० वर्षपछि स्तरोन्नति गरिँदै

विसं २०६० मा जनसहभागितामा ट्र्याक निर्माण गरिएको अक्षते-सुल्डाँडा-लेखानी सडक २० वर्षपछि स्तरोन्नति गरिने भएको छ।

ढोरपाटन- सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाका थुप्रै ग्रामीण सडकको अवस्था निकै नाजुक छ। दुई दशक अगाडि ट्रयाक खोलिएका सडक अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। हिउँदमा धुलो र बर्खामा हिलोले सडक वरपरका स्थानीयवासी आजित छन्। 

तर अब भने विसं २०६० मा जनसहभागितामा ट्र्याक निर्माण गरिएको अक्षते-सुल्डाँडा-लेखानी सडक २० वर्षपछि स्तरोन्नति गरिने भएको छ। यसलाई लोकमार्गको वैकल्पिक सडकका रुपमा लिइएको छ। स्थानीयले कोदालो, गैँटी र बेल्चाले महिनौँ लगाएर निर्माण गरेको सडक यसवर्ष स्तरोन्नति हुने भएको हो। बहुवर्षीय योजना अन्तर्गत संघीय सरकार र काठेखोला गाउँपालिकाको सहकार्यमा सडक स्तरोन्नति हुन थालेको हो। 

काठेखोला-१ अक्षतेदेखि वडा नं ८ लेखानी जोडिएको १५ किलोमिटर सडकका लागि चालु आर्थिक वर्षमा एक करोड विनियोजन भएको छ। भुदीखोला पुलदेखि स्तारोन्नतिसहित ग्राभेलिङ गर्ने योजना गरेको काठेखोला गाउँपालिका-८ का अध्यक्ष प्रमानन्द कँडेलले जानकारी दिए। जिल्ला सदरमुकाम नजिकै भए पनि अप्ठ्रो सडकका कारण करिब दुई घण्टा यात्रा गर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ।

सडक सहज भए लेखानीदेखि बागलुङ बजार ३५ मिनेटमै पुग्न सकिने अध्यक्ष कँडेलले बताए। अहिले पालिका केन्द्र सुलडाँडा आउनका लागि एक घण्टा लाग्छ। 'ट्र्याक खुलेको २० वर्ष भयो, अहिले बल्ल स्तरोन्नति गर्ने तयारी छ, धेरै लामो सडक होइन, अक्षतेदेखि लेखानीसम्म १५ किलोमिटर छ, तर अहिलेसम्म काम हुनसकेको थिएन, सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना हुने र बर्खामा बढी समस्या हुन्थ्यो, आगामी असार मसान्तसम्म एक करोडको काम हुन्छन्, जसका लागि ठेक्का सम्झौता भइसकेको छ,' अध्यक्ष कँडेलले भने।

स्तरोन्नति अन्तर्गत सडक चौडा गर्ने, नाली निर्माण र बेसको अन्य काम  हुनेछ। बाटो स्तरोन्नति नहुँदा वर्षौँसम्म नागरिकले समस्या भोग्नु परेको थियो। 'बर्खामा बढी समस्या हुने, ठाउँ-ठाउँमा पहिरोले सडक भत्किँदा यातायात ठप्प हुने गर्थ्यो, यद्यपि हामीहरुले जनसहभागिताबाट खुलाउँदै सञ्चालन गर्दै आएका थियौँ,' उनले भने, 'अबको बर्खामा सहज हुने आशा गरेका छौँ। अबको डेढ दुई वर्षमा सडक स्तरोन्नति हुने छ।' रासस


प्रकाशित : मंगलबार, माघ ९ २०८०१६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend