आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बेनी-जोमसोम सडकखण्डको भिरकाटेमा सुरुङमार्ग बनाइने

आइतबार, माघ ७ २०८०
बेनी-जोमसोम सडकखण्डको भिरकाटेमा सुरुङमार्ग बनाइने

बेनी-जोमसोम सडकका आयोजना प्रमुख ध्रुव झाका अनुसार सुरुङमार्ग निर्माणका लागि ‘कन्टेन्जेन्सी’ खर्च कटाएर झन्डै ९० करोड रूपैयाँको लागत अनुमानसहित स्वीकृतिका लागि भौतिक पूर्वाधार मन्त्रालयमा पत्र पठाइएको छ।

म्याग्दी- राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत निर्माणाधीन बेनी-जोमसोम-कोरला सडकको पोखरेबगर भिरकाटेमा सुरुङमार्ग (टनेल) निर्माण गरिने भएको छ।

गण्डकी प्रदेशको प्रमुख आयोजनाअन्तर्गतको उत्तरमा चीन र दक्षिणमा भारत जोड्ने उक्त सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका-६, भिरकाटेमा कालीगण्डकी नदीको कटानका कारण सडक साँघुरो भएपछि दुई लेनको सुरूङमार्ग बनाउन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पत्र पठाइएको बेनी-जोमसोम सडकका आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए।

उनका अनुसार सुरुङमार्ग निर्माणका लागि ‘कन्टेन्जेन्सी’ खर्च कटाएर झन्डै ९० करोड रूपैयाँको लागत अनुमानसहित स्वीकृतिका लागि मन्त्रालयमा पत्र पठाइएको हो। कालीगण्डकीको कटानले सडक साँघुरो बनेपछि नियमित सडक सञ्चालनमा कठिन देखिएकाले तीन सय ८४ मिटर लामो सुरुङ बनाउन डिजाइनसहित फाइल तयार गरी स्वीकृतिका लागि पठाइएको आयोजना प्रमुख झाले जानकारी दिए। 'सुरूङबाहेक अर्को विकल्प छैन, सडकको सुरक्षाका लागि सडकको पुरानो बाटो परिवर्तन गरी सुरुङमार्गको डिजाइन गरिएको छ', उनले भने।

नियमित यातायात सञ्चालनका लागि अहिले उक्त सडकखण्डको भिरकोटमा ढुंगा राखेर डाइभर्सन गरिएको छ। कालीगण्डकी नदी कटानका कारण सडकको बेससमेत नरहेपछि उक्त खण्डमा यातायात सञ्चालन गर्न समस्या हुँदै आएको छ।

अत्यन्तै जोखिमपूर्ण मानिएको उक्तखण्डको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले स्थलगत अनुगमन गरी थप प्रक्रियाका बारेमा चासो देखाए। 'कालीगण्डकी करिडोरमा दिगो र सुरक्षित संरचना बनाउन सरकार सकारात्मक छ, 'बर्सेनि प्राकृतिक विपत्तिले क्षति पुग्ने सडकखण्डमा डिजाइन परिवर्तन गर्नुपर्छ', उनले भने।

बेनी-जोमसोम-कोरला सडकमध्ये म्याग्दी खण्डको बेनीदेखि घाँसासम्म पहिरोले क्षति पुग्नसक्ने भएकाले सुरुङबाहेका अन्य विकल्पबारे थप अध्ययन भइरहेको आयोजना प्रमुख झाले जानकारी दिए।

विसं २०७४ मा सुरु भएको बेनी-जोमसोम सडक सात अर्ब २७ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। एक सय ८६ किमी दुरीको उक्त सडक आयोजनाको कार्यक्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुंगादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ। रासस


प्रकाशित : आइतबार, माघ ७ २०८०१७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend