सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

रोल्स रोयसको विलासी विद्युतीय कार स्पेक्टर सार्वजनिक, यस्तो छ मूल्य र रेन्ज

शनिबार, माघ ६ २०८०
रोल्स रोयसको विलासी विद्युतीय कार स्पेक्टर सार्वजनिक, यस्तो छ मूल्य र रेन्ज

रोल्स रोयस स्पेक्टरले एकपटकको फुल चार्जमा ५ सय २० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ।

काठमाडौं- बेलायती विलासी कार ब्रान्ड रोल्स रोयसले पहिलो विद्युतीय कार भारतीय बजारमा सार्वजनिक गरेको छ। बिहीबार भारतीय बजारमा सार्वजनिक भएको रोल्स रोयसले स्पेक्टर सार्वजनिक गरेको हो। 

यो विलासी विद्युतीय कार स्पेक्टरको भारतीय बजारमा ७ करोड ५० लाख भारु मूल्य तोकिएको छ। विश्वभर अटोमोबाइल क्षेत्र विद्युतीय सवारीतर्फ उन्मुख हुँदै गएकाले रोल्स रोयसले पनि पहिलो विद्युतीय कार ल्याएको हो।

धेरै हदसम्म रोल्स रोयसको आइकोनिक मोडल फ्यान्टमबाट प्रभावित रहेको विद्युतीय कार स्पेक्टर दुई ढोके कुपे डिजाइनमा आएको छ। कम्पनीका अनुसार स्पेक्टर पनि समान किसिमको ‘आर्किचेक्टर अफ लक्जरी’ प्लेटफर्ममै बनेको छ। पछिल्लो पुस्ताको फ्यान्टम र कुलिना एसयूभीजस्तै विलासिता स्पेक्टरमा उपलब्ध रहेको रोल्स रोयसले बताएको इकोनोमिक टाइम्सले लेखेको छ।

रोल्स रोयसको मोडलमध्ये अहिलेसम्मकै उत्कृष्ट एरोडाइनामिक भएको दाबी गरिएको छ। पूर्णविद्युतीय पावर ट्रण्डमा आएको स्पेक्टरमा डुअल मोटर उपलब्ध रहेको छ। रोल्स रोयस स्पेक्टरले ५ सय ७७ एचपी पावर र ९ सय एनएम टर्क जेनेरेट गर्छ। 

Rolls-Royce-Spectre.jpg

रोल्स रोयस स्पेक्टरले एकपटकको फुल चार्जमा ५ सय २० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। त्यस्तै यो कारले शून्यदेखि १ सय किलोमिटरको गति ४.५ सेकेन्डमै तय गर्न सक्छ।

१ सय २ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध रोल्स रोयस स्पेक्टरमा २१ इन्चको अलोय ह्वील रहेको छ। यो कारको कुल तौल २ हजार ९ सय ७५ किलो छ। यो कारको लेन्थ ५४ सय ५३ एमएम, वाइड २ हजार ८० एमएम र हाइट १५ सय ५९ एमएम रहेको छ। 

रोल्स रोयसले २०३० देखि पेट्रोलियम इन्जिनयुक्त कार उत्पादन नगर्ने घोषणा यसअघि नै गरिसकेको छ। त्यसैले कम्पनीले विद्युतीय सवारी बजारमा ल्याउन थालेको हो। 


प्रकाशित : शनिबार, माघ ६ २०८०१७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend