आइतबार, जेठ ६ गते २०८१    
images
images

१५ अर्बको लागतमा पाँच अस्पताल तथा मेडिकल कलेज निर्माण हुँदै, कुनमा कति लगानी?

images
शनिबार, माघ ६ २०८०
images
images
१५ अर्बको लागतमा पाँच अस्पताल तथा मेडिकल कलेज निर्माण हुँदै, कुनमा कति लगानी?

भगवान कोइरालसहितको संलग्नतामा २ अर्ब ६५ करोड रूपैयाँको लगानीमा काठमाडौंको बुढानीलकण्ठमा बाल अस्पताल निर्माण हुँदैछ।काठमाडौंको तीनकुने र धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा पनि अस्पताल बन्ने भएको छ।

images
images

काठमाडौं- पाँचवटा अस्पताल तथा मेडिकल कलेज निर्माण तथा स्तरोन्नतिका काम अगाडि बढेको छ।

images
images
images

अस्पताल तथा मेडिकल कलेज निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टसमेत सार्वजनिक भइसकेको छ। कतिपयको भने संरचनासमेत निर्माण भइसकेको छ। कतिपयको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत हुने चरणमा छ। 

images

कर्णाली प्रदेशको सुर्खेतमा सुर्खेत मेडिकल कलेज निर्माण हुने भएको छ। ६ सय शय्याको सुर्खेत मेडिकल कलेज निर्माणमा १ अर्ब ७० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

images
images

यसैगरी भगवान कोइरालसहितको संलग्नतामा २ अर्ब ६५ करोड रूपैयाँको लगानीमा काठमाडौंको बुढानीलकण्ठमा बाल अस्पताल निर्माण हुँदै छ।

images
images

काठमाडौंको तिनकुनेमा ५ अर्ब ९३ करोडको लगानीमा ३ सय शय्याको 'काठमाडौं इन्टरनेशनल अस्पताल निर्माण हुने छ भने काभ्रेको धुलिखेलमा ३ अर्ब ५० करोडको लगानीमा पतंजली आयुर्वेदिक मेडिकल कलेज तथा रिसर्च सेन्टर निर्माण हुने भएको छ।

यसैगरी मधेश प्रदेशको जनकपुर उपमहानगरपालिका १ अर्बको लागतमा ३ सय शय्याको रवीन्द्र मेमोरियल अस्पताल निर्माण हुने भएको छ। 

कुन अस्पताल निर्माणमा कति लगानी?

पतञ्जली आयुर्वेदिक मेडिकल कलेज तथा रिसर्च सेन्टरको पूर्ण संरचना निर्माण गर्न ३ अर्ब ५० करोड लाग्ने

काभ्रेको धुलिखेलमा सञ्चालन भएको पतञ्जली आयुर्वेदिक मेडिकल कलेज तथा रिसर्च सेन्टरको पूर्ण संरचना निर्माण तथा सञ्चालनका लागि साढे ३ अर्ब रूपैयाँ लाग्ने अनुमान भएको छ। सेन्टरको संरचना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सार्वजनिक भइसकेको छ।

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ३ मा सेन्टरको संरचना बन्ने छ। २००६ सालमा स्थापन भएको सेन्टरमा हालसम्म ३ वटा भवनको स‌ंरचना बनिसकेको छ। अब थप १२ वटा संरचना बन्ने छ। सेन्टरमा २ सय शय्या रहने छ। सेन्टरमा एक पटकमा १ सय  ५० वटा सम्म सवारी पार्किङ बन्ने छ।

६ सय शय्याको सुर्खेत मेडिकल कलेज निर्माणमा १ अर्ब ७० करोड खर्च हुने

कर्णाली प्रदेशको सुर्खेतमा सुर्खेत मेडिकल कलेज निर्माण हुने भएको छ। ६ सय शय्याको मेडिकल कलेजको लागत १ अर्ब ७० करोड रूपैयाँ लागत अनुमान गरिएको छ। कलेज निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि भन्दै वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरिसकेको छ।

 रिपोर्ट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भएको हो। प्रस्तावक भने सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना रहेको छ। कलेज निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार गर्न २०७६ जेठ २ मा नैशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भएको थियो।
 
एकै समयमा मन्त्रालयले मधेस प्रदेशको बर्दिवास, लुम्बिनी प्रदेशको रुपन्देशी र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन तयार गर्न सहमति दिएको थियो।सोही अनुसार ६ सय शय्याको मेडिकल कलेज निर्माणका लागि सुर्खेत मेडिकल कलेज निर्माणका लागि विकास आयोजनाले रिपोर्ट तयार पारेको हो। मेडिकल कलेज सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११  र १३ मा आधुनिक स्तरको निर्माण हुने छ।

२९.८८९ हेक्टर जग्गामा साइट ए र साइट बी गरी मेडिकल कलेज तथा अस्पताल सेवा सञ्चालन गरेर आवश्यक बिरामीहरूलाई  उपचार सेवा प्रदान गरिने लक्ष्य आयोजनाको छ। मेडिकल कलेजमा रेडियोलोजी, अल्ट्रासाउण्ड, ईसीजी, प्याथोलीजी, सर्जरी, युरोलोजी, अंकोलोजी, नाक, घाँटीसम्बन्धी सेवाहरू उपलब्ध हुने रिपोर्टमा उल्लेख छ। 

कलेज निर्माण हुने साइटको क्षेत्रफल १६.५० हेक्टर र साइट बीको १३.3८ हेक्टर रहेको छ। कलेज निर्माण सुरु हुनु अगाडि वन क्षेत्रको प्रयोगमा स्वीकृत, टेन्डर तथा कम्पनी छनोट प्रकृयामा वातावरणीय व्यवस्थापको सुनिश्चित आवश्यक पर्छ। कलेज निर्माण चरणमा २४ हजार मानव दिन दक्ष तथा १ लाख २६ हजार मानव दिन अदक्ष कामदारका लागि शिविर सञ्चालन हुने रिपोर्टमा उल्लेख छ।

कलेजको साइट ए मा १० वटा र साइट बी मा ११ वटा ब्लक निर्माण हुने छ। विद्यार्थी क्षमता वार्षिक १ सय रहने छ। कलेजमा ८ वटा संकाय तथा डिपार्टमेन्ट रहने छ। कलेज निर्माण क्षत्रे वन क्षेत्रमा पर्नेछ। कलेजमा बोरिङबाट भूमिगत पानी प्रयोग गर्नुपर्ने छ।

भगवान कोइरालाले २ अर्ब ६५ करोडको लगानीमा बुढानीलकण्ठमा बाल अस्पताल निर्माण गर्ने

मुटुरोग डाक्टर भगवान कोइरालासहितले २ अर्ब ६५ करोडको लगानीमा काठमाडौंको बुढानीलकण्ठमा बाल अस्पताल निर्माण गर्ने भएका छन्। काठमाडौंमा सुविधासम्पन्न बाल अस्पताल निर्माण हुने भएको छ। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-७ हेपाली हाइटमा किओच-काठमाडौं बाल अस्पताल बन्ने भएको हो। 

अस्पताल निर्माणका लागि वन तथा वातावरण मन्त्रालयले स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयमार्फत आएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरिसकेको छ। सार्वजनिक रिपोर्टमा अस्पताल निर्माणको लागत २ अर्ब ६५ करोड ८१ लाख ८ हजार ६ सय ६६ रूपैयाँ रहेको उल्लेख छ।

अस्पताल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट प्रस्तावक भने काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ रहेको छ। अस्पतालको क्षमता २ सय शय्या हुनेछ। अस्पताल कुल निर्माण क्षेत्र २३ हजार ९ सय ७१ वर्गमिटर हुने रिपोर्टमा उल्लेख छ। अस्तपालत निर्माणमा नकारात्मक प्रभाव न्यूनीकरण गर्नका लागि ५८ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

यसैगरी वातावरणीय अनुगमनका लागि ६ लाख १५ हजार रूपैयाँ, आयोजन सञ्चालन चरणको क्रममा सकारात्मक प्रभाव अभिवृद्धि गर्न ७ लाख रूपैयाँ तथा नकारात्मक प्रभाव न्यूनीकरण गर्नका लागि ५८ लाख रूपैयाँ गरी ६५ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

आयोजनाका लागि कुल वातावरणीय लागत खर्च भने ७१ लाख १५ हजार रूपैयाँ रहने रिपोर्टमा उल्लेख छ। अस्पताल निर्माण गर्ने कम्पनी मुनाफा वितरण नगर्ने गरी दर्ता भएको छ। गैर सरकारी सामाजिक संस्थाका हैसियतमा समाज कल्याण परिषद्‌मा आबद्ध भएको कम्पनी हो। गैरनाफामूलक संस्था भएकाले यसको सञ्चालन सेवामुखी शैलीबाट गरिने समेत रिपोर्टमा उल्लेख छ।

अस्पताल प्रादेशिक अस्पतालको अवधारणमा रहेन छ। केन्द्रीय अस्पताल रहेको प्रदेश बाहेकका बाँकी ६ वटै प्रदेशमा स्थानीय स्वास्थ्य संस्थाहरूसँग समेत सहकार्य गर्ने गरी सुरुमा ५० शय्या क्षमताका बाल अस्पतालहरू विस्तार गर्ने रिपोर्टमा उल्लेख छ।

अस्पताल चक्रपथ नारायणगोपाल चोकबाट २ किलोमिटर उत्तरतर्फ रहेको छ। अस्पतालको भवन आरसीसी फ्रेमको हुनेछ।  पाँच तले (भुइँ तल्लासहित) भवनको अस्पतालमा १ सय २० वटा कार पार्किङ क्षमता रहनेछ। अपांगता मैत्री संरचनासहित ४ वटा लिफ्ट अस्पताल भवनमा रहनेछ। 

५ अर्ब ९३ करोडको लगानीमा तीनकुनेमा ३ सय शय्याको 'काठमाडौं इन्टरनेशनल अस्पताल

काठमाडौं तीनकुनेमा निर्माण हुने ३ सय शय्या काठमाडौं इन्टरनेशनल अस्पतालमा ५ अर्ब ९३ करोड ४६ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ। भवन बेसमेन्टसहित सात तल्लाको निर्माण हुनेछ। १ सय ५० वटा चार पांग्रे र २ सय वटा २ पांग्रे सवारी पार्किङ क्षमता रहने रिपोर्टमा वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

रिपोर्टमा ओपीडी सेवा वर्ष दिनमा ३ सय दिन र आपतकालीन सेवा ३ सय ६५ दिन नै सञ्चालन हुने उल्लेख छ छ। अस्पतालले भूमिगत पानीदेखि काठमाडौं उपत्याका खानेपानीले वितरण गरेको पानी प्रयोग गर्नेछ।

अस्पताल निर्माणका लागि गरिएको लगानी करिब ८ वर्षमा उठ्ने रिपोर्टमा उल्लेख छ। १२.४३ रोपनी जग्गामध्ये २४ सय ६८ वर्गमिटरमा अस्पतालको संरचना निर्माण हुनेछ। भवनको उचाई ३७.७० मिटर हुनेछ।

१ अर्बको लागतमा ३ सय शय्या रवीन्द्र मेमोरियल अस्पताल निर्माण हुने

धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा ३ सय शय्याको रवीन्द्र मेमोरियन अस्पताल निर्माण हुने भएको छ। 

अस्पताल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भइसकेको छ। मन्त्रालयले रिपोर्ट राय सुझावका लागि सात दिनको समय दिएर सार्वजनिक गरेको छ। अस्पताल उपमहानगरपालिका वडा नम्बर २३ मा निर्माण हुने छ।

गनिनाथ गोविन्द हेल्थ फाउन्डेसन प्रालि प्रस्तावमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत रिपोर्ट वन तथा वातावरण मन्त्रालयमा पेस भएको  थियो। अस्पतालले आउटडोर सेवा र इन्डोर सेजा तथा निदात्कम सेवा र २४ सै घण्टा आकस्मिक सेवा तथा फार्मेसी सेवा प्रदान गर्ने प्रस्तावमा रिपोर्टमा उल्लेख छ।

अस्पतालले खानेपानी जमिनमुनिको प्रशोधित पानी प्रयोग गर्ने छ। अस्पतालको लागि १० हजार १ सय ६३ वर्गमिटर क्षेत्रफल प्रस्ताव भएको छ। जसमा ९ सय ३९ वर्गमिटर क्षेत्रमा अस्पतालकफ भवन निर्माण हुनेछ। 

सात तल्ले अस्पतालकोझ भवनको जम्मा क्षेत्रफल १० हजार ३ सय ४४ वर्गमिटर रहेको छ। यसैगरी पार्किङ तथा खुल्ला क्षेत्रका लागि ८ हजार ५ सय २१ वर्गमिटर छुटाइएको छ। अस्पताल निर्माणसँगै ३ सय ७४ जनाले कर्मचारीले रोजगारी पाउने छन्। आयोजनाको लागत कर बाहके १ अर्ब अनुमान गरिएको छ।


प्रकाशित : शनिबार, माघ ६ २०८०११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend