आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मुग्लिन-मलेखु सडकको काम एक वर्षमा छ प्रतिशत

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ३ २०८०
मुग्लिन-मलेखु सडकको काम एक वर्षमा छ प्रतिशत

नक्सांकन परिवर्तनमा हिउँद बितेको, वर्षातमा काम गर्न नसकिएको र त्यसपछि चाडपर्वले काम प्रभावित भएको निर्माण कम्पनीको दाबी छ।

चितवन- मुग्लिन-मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा छ प्रतिशतमात्र भएको छ। पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ।

नागढुंगा-मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो। सन् २०२२ को डिसेम्बरदेखि काम सुरु गरिएको हो। नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार नक्सांकन परिवर्तन, वर्षात र चाडपर्वका कारण लक्ष्यअनुसार काम हुन नसकेको हो। 

नक्सांकन परिवर्तनमा हिउँद बितेको, वर्षातमा काम गर्न नसकिएको र त्यसपछि चाडपर्वले काम प्रभावित भएको निर्माण कम्पनीको दाबी छ।

एक वर्षमा १५ प्रतिशत काम गर्ने लक्ष्य लिइएको भए पनि नक्सांकन परिवर्तन गर्न नै छ महिना लागेको उनले जानकारी दिए। 

आचार्यका अनुसार अहिले पुलको जग निर्माण, नाली निर्माण, मोड सुधारको काम भइरहेको छ। यो सडकमा रहेका आठवटा पुलमध्ये छ पुल निर्माणका लागि ठेक्का लागेको थियो। तीमध्ये पाँचवटा पुलको काम भइरहेको उनले बताए। हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम सुरु हुन सकेको छैन। अन्य दुई पुल ठेक्का लगाउने चरणमा रहेका छन्।

तीन वर्षभित्र सम्पन्न गर्ने गरी विश्व बैंकको सहयोगमा सडक निर्माण थालिएको हो। शर्मा-जेडआई सिजी जेभीले ४ अर्ब ८० करोडमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ। यो योजनाअन्तर्गत पृथ्वी राजमार्गमा डेडिकेटेड दुई लेनको सडक बनाइँदैछ। हाल यो सडकको चौडाइ सात मिटर छ। अब सडक कम्तीमा नौ मिटर चौडाइको बन्ने आचार्यले बताए। 

बाक्लो बस्ती भएका चार ठाउँमा सडक चार लेनको बन्नेछ। विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर ७.१५ किलोमिटर सडक चार लेनको बन्नेछ। चार लेन सडक १४ मिटर फरकिलो हुन्छ। उकालोमा सडक तीन लेनको बनाइने छ र यो १० दशमलव पाँच मिटर फराकिलो हुनेछ।

त्यस्तै तीन लेनको बन्ने उकालो सडक तीन किलोमिटर छ। सडकको स्तरोन्नतिका लागि रूख काट्न वन विभागको कोषमा पैसा पठाइँदैछ भने विजुलीका पोल सार्ने प्रक्रिया अघि बढाइएको छ। गएको एक वर्ष ढिलाइ भएको भए पनि अब कामले गति लिने आचार्यले बताए। रासस


प्रकाशित : बुधबार, माघ ३ २०८०१५:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend