आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कोरला-त्रिवेणी सडक आयोजना : डेढगाउँ-झ्यालबास खण्ड आउँदो कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ३ २०८०
कोरला-त्रिवेणी सडक आयोजना : डेढगाउँ-झ्यालबास खण्ड आउँदो कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य

मुस्ताङको कोरलाबाट नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस बाटोलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।

नवलपरासी- कोरला-त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ-झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ। गण्डकी प्रदेश सरकारले सो आयोजनालाई  प्रदेश गौरवको योजनामा राखेको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगति सन्तोषजनक नै रहेको पूर्वाधार विकास कार्यालय नवलपुरका सडक इन्जिनियर रामकृष्ण घिमिरेले जानकारी दिए।

डेढगाउँ-झ्यालबास खण्डमा पहिलो चरणमा हाल १४ दशमलव एक किलोमिटर सडक निर्माण अघि बढिरहेको छ। विसं २०७९ बैशाखमा सम्झौता भएर निर्माण सुरु गरिएको सो  खण्ड  विसं २०८१ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ३२ करोड २० लाखको लागतमा सडक निर्माण लामा गौरीशंकर जेभीले गरिरहेको छ।

नालासहित कालोपत्र गर्ने योजनाका साथ काम चलिरहेको सो खण्डमा हाल सडक चौडा गर्ने काम सकिएको छ। नालासहित ११ मिटर चौडाइ रहने यस खण्डमा तीन किलोमिटरमा नाला निर्माण सकिएको इन्जिनियर घिमिरेले बताए। उनका अनुसार नाला निर्माणसँगै ठाउँ-ठाउँमा ग्याविन भर्ने, सडक छेउमा पर्खाल निर्माण गर्ने काम जारी छ।

सम्झौताको २१ महिना सकिएको र अब १० महिना बाँकी छ। सम्झौताको अवधिभित्रै काम सक्नेगरी लागिरहेको इन्जिनियर घिमिरेले बताए। सडक चौडा पार्ने, ग्याविन भर्ने, छेउछाउमा पर्खाल लगाउनेजस्ता मुख्य काम धेरैजसो सकिएकाले बाँकी रहेको अवधिमा सबै काम सम्पन्न हुने उनको भनाइ छ। 'प्रारम्भमा गर्नुपर्ने धेरै मुख्य काम सकिने चरणमा छन्, निर्माण नियमित सञ्चालन भए, सम्झौता अवधिमा नै सबै काम सम्पन्न हुन्छ', उनले भने।
 
नवलपुरको डेढगाउँबाट प्रारम्भ हुने सो सडक रुचाङ-झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ। यसै खण्डमा दोस्रो चरणमा थप सात किलोमिटर सडक निर्माणको समेत अगाडि बढेको इन्जिनियर घिमिरेले बताए। 'पहिलो खण्डको १४ किलोमिटरपछि थप सात किलोमिटर सडक निर्माण अगाडि बढेको छ, चाँडै सम्झौता भएर अर्को खण्डको काम सुरु हुन्छ', उनले भने।

डेढगाउँबाट झ्यालबाससम्म करिब ४१ किलोमिटरमध्ये दोस्रो चरणको काम अघि बढेपछि २० किलोमिटरको काम बाँकी रहने उनले बताए। गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजना भएकाले क्रमशः सबै खण्डको काम अघि बढ्ने उनले बताए। झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर सडक गत वर्ष निर्माण भइसकेको छ।

चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्कीबासबाट त्रिवेणी पुर्याउने प्रदेश सकारको लक्ष्य छ। तर दुम्कीबास-त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै काम अघि बढ्न सकेको छैन। सो सडक उत्तरतर्फ जिल्लाको डेढगाउँबाट तनहुँको मानपुर, भिमाद हुँदै खैरेनीटारमा गएर पृथ्वीराजमार्गमा जोडिन्छ। 

मुस्ताङको कोरलाबाट नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस बाटोलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। रासस


प्रकाशित : बुधबार, माघ ३ २०८०१०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend