आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

४३९ मेगावाटको बेतन कर्णाली आयोजना निर्माणको बाटो खुल्यो, १३ अर्बको आईपीओ जारी गरिने

सोमबार, माघ १ २०८०
४३९ मेगावाटको बेतन कर्णाली आयोजना निर्माणको बाटो खुल्यो, १३ अर्बको आईपीओ जारी गरिने

कर्मचारी सञ्चय कोषले अगाडि बढाएको आयोजना निर्माणका लागि ८८ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान छ। आयोजनाबाट विद्युत उत्पादनपछि ४०० केभीको ५ किलोमिटर प्रसारणलाइन निर्माण गरेर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ।

काठमाडौं- बेतन कर्णाली अर्ध-जलाशययुक्त जलविद्युत आयोजना निर्माणको बाटो खुलेको छ। ४३९ मेगावाटको क्षमताको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै निर्माणको बाटो खुलेको हो।

अछाम र सुर्खेतमा निर्माण हुने  आयोजनाले अछामको ढकारी गाउँपालिका ६, ७, तुर्मखाँद गाउँपालिका ३, ४, ५  र सुर्खेतको चौकुने गाउँपालिका ४, ५ , ६ र पञ्चपुरी नरपालिका ७ प्रभावित हुनेछ। अर्ध-जलाशय प्रकृतिको यो आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ। आयोजनाको विद्युतगृह भूमिगत हुनेछ। निर्माण थालेको ५ वर्षमा विद्युत उत्पादन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। सर्वसाधारणका लागि १२ अर्बको साधारण सेयर बिक्री हुनेछ।

कर्मचारी सञ्चय कोषले अगाडि बढाएको आयोजना निर्माणका लागि ८८ अर्ब १९ करोड रुपैयाँ लाग्ने अनुमान छ।

आयोजनाको प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमा नेपाल विद्युतको प्राधिकरणको १० प्रतिशत, विद्युत उत्पादन कम्पनीको १० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५ प्रतिशत र कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताहरुको ४० प्रतिशत सेयर छ। स्थानीय प्रभावितलाई १० प्रतिशत, सर्वसाधरणबाट १३ प्रतिशत र अति विपन्न परिवारलाई २ प्रतिशत सेयर दिएर लगानी जुटाइने छ।

प्रस्तावित आयोजनाको हेडरेस सुरुङ तीनवटा निर्माण हुनेछ। जसको लम्बाइ क्रमश : २०१७.२६ मिटर, २०११.१५ मिटर र २०१७.३९ मिटर हुनेछ। जलाशयको करिब २१.९३ किलोमिटर हुनेछ। आयोजनाबाट विद्युत उत्पादनपछि ४०० केभीको  ५ किलोमिटर प्रसारणलाइन निर्माण गरेर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ।

आयोजनाको इन्टर्नल रेट अफ रिटर्न १२.७३ प्रतिशत छ। आयोजनाको कार्यालय, निर्माण शिविर, सेना शिविर, सामान भण्डारण क्षेत्र र विस्फोटक भण्डारण क्षेत्रलगायत सहायक संरचनाहरुका लागि आवश्यक जग्गा अधिग्रहण भइसकेको छ।

आयोजना प्रमुख न्यौपानेले कनेक्सन एग्रिमेन्ट भएकाले विद्युत खरिदबिक्री सम्झौता (पीपीए) को तयारी भएको बताए। उनका अनुसार छिट्टै पीपीए गर्ने तयारी छ। त्यससँगै अब फाइनान्सियल क्लोजर (लगानीको अन्तिम टुंगो) गर्ने तयारी सुरु गर्न लागिएको हो। 


प्रकाशित : सोमबार, माघ १ २०८०१६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend