आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ निर्माण सुरु

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २७ २०८०
राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ निर्माण सुरु

राहुघाट जलविद्युत् आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ।

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘डिसेन्डर’ (बालुवा थिग्राउने पोखरी) निर्माण सुरु भएको छ। 

राहुघाटको प्रवर्द्धक प्राधिकरणको शतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड हो। म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ दग्नाम र वडा नं ५ झिँको फेदीमा एक सय १९ दशमलव सात मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर बनाउन थालिएको हो। 

झिँतर्फको भूगोलमा निर्माण भएको एक सय १२ मिटर लामो, एक सय १९ दशमलव सात मिटर अग्लो र पाँच मिटर फराकिलो ‘अण्डर सुुलुुस’बाट खोला डाइभर्सन गरेर दग्नामतर्फको भूगोलमा डिसेन्डर बनाउन थालिएको आयोजना व्यवस्थापक राज विष्टले जानकारी दिए। 

'अण्डर सुुलुुस र स्पिल वे निर्माण सकेर डिसेन्डर बनाउन सुरु भएको छ', उनले भने, '३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण अन्तिम चरणमा पुुगेको छ।'

राहुघाट जलविद्युत् आयोजनाको आगामी २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ। 

विसं २०७४ मङ्सिरमा छ अर्बमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार भारतको जयप्रकाश एसोशियटले हालसम्म ६५ प्रतिशत काम गरेको प्रवर्द्धक कम्पनी रघुुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। आयोजनाको ५० प्रतिशत वित्तीय प्रगति भएको छ। 

सुरुङ ९० प्रतिशत र विद्युत्गृह निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ। छ किलोमिटर दुई सय मिटर सुरुङमध्ये पाँच किमी छ सय मिटर सुरुङ निर्माण सकिएको छ। सुरुङबाट आउने पानीलाई रघुगङ्गा-३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधिन विद्युतगृहमा खसाल्ने एक सय ९६ मिटर ठाडो सुरुङलाई ‘फिनिसिङ’ गर्ने काम अन्तिम चरणमा पुगेको छ। 

पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण सकिएको छ। विद्युतगृह निर्माणस्थलबाट ‘भर्टिकल प्रेसर साफ्ट’सँग जोड्ने तीन सय २९ मिटर ‘वटम प्रेसर साफ्ट’को सुरुङ यसअघि नै जोडिएको थियो। अडिट नम्बर ३ देखि भर्टिकल प्रेसर साफ्टसम्मको पाँच सय ४१ मिटरमध्ये चार सय ५० मिटर सुरुङ निर्माण सकिएको छ। 

विद्युत्गृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ। विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युतगृह उपकरण जडान गर्न थालेको छ। 

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ। रासस


प्रकाशित : शुक्रबार, पुस २७ २०८०१७:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend