सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

चिनियाँ सवारी उत्पादक रोकिएको भारतमा टेस्लापछि ‘भिनफास्ट’लाई रातो कार्पेट

ईभी उत्पादनमा भिनफास्टले २ अर्ब डलर लगानी गर्ने

बुधबार, पुस २५ २०८०
चिनियाँ सवारी उत्पादक रोकिएको भारतमा टेस्लापछि ‘भिनफास्ट’लाई रातो कार्पेट

प्रिमियम ईभी उत्पादन गर्ने र वार्षिक १ लाख ५० हजार कार बनाउने लक्ष्य भिनफास्टले लिएको छ।

काठमाडौं- भियतनामी सवारी उत्पादक कम्पनी भिनफास्ट भारत आउने निश्चित भएको छ। विश्वको तेस्रो ठूलो सवारी बजार भारतमा विद्युतीय कार निर्माता कम्पनी भिनफास्ट आउने भएको हो। 

चिनियाँ सवारीहरूलाई नियामकीय ‘नियन्त्रण’ गरिरहेको भारतले अमेरिकी विद्युतीय सवारी उत्पादक टेस्ला इंक र भियतनामी कम्पनी भिटफास्टलाई भने रातो कार्पेट बिच्छ्याएको हो।

टेस्लासँगै भिनफास्टले पनि भारतमा विद्युतीय सवारी उत्पादन गर्ने तय भएको छ। टेस्लाले भारतमा प्लान्ट स्थापनाको औपचारिक घोषणा आगामी साता हुने अनुमान गरिएको छ। त्यस्तै भिनफास्टले पनि भारतमा २ अर्ब अमेरिकी डलर लगानी गरेर आउने घोषणा गरेको हो। 

अमेरिकासहित केही महत्वपूर्ण बजारमा प्रवेश गरिसकेको भिनफास्टले भारतको तामिलनाडूमा प्लान्ट स्थापना गर्ने बताएको हो। कम्पनीले २०२५ भित्रमा भारतीय प्लान्टबाट विद्युतीय कार उत्पादन थालिसक्ने बताएको छ। 

तामिलनाडूमा स्थापना हुने प्लान्ट बनाउन सुरुवाती चरणमा ५० करोड डलर लगानी गर्ने तय भएको भिनफास्टका डेपुटी सीईओ (सेल्स एन्ड मार्केटिङ) ट्रान मइ होयले बताएको टाइम्स अफ इन्डियाले लेखेकोछ। प्रिमियम ईभी उत्पादन गर्ने र वार्षिक १ लाख ५० हजार कार बनाउने लक्ष्य भिनफास्टले लिएको छ। 

भियतनामी व्यवसायिक समूह भिनग्रुपको स्वामित्वमा रहेको भिनफास्ट विद्युतीय सवारीमात्र उत्पादन गर्ने गरि स्थापना भएको हो। कम्पनीले विश्वव्यापी बजार विस्तार गर्ने क्रममा भारतमा पनि प्लान्ट स्थापन गर्ने लागेको हो। 

भारतबाहेक भिनफास्टले अमेरिकामा विद्युतीय कार उत्पादन प्लान्ट बनाउन ४ अर्ब डलर लगानी गरिरहेको छ। अमेरिकामा बनिरहेको उक्त प्लान्टबाट यही वर्षको अन्त्यसम्ममा कार उत्पादन सुरु भइसक्ने कम्पनीले दाबी गरेको छ। 

भिनफास्टले २०२४ को अन्त्यसम्ममा विश्वका ५० देशमा विद्युतीय कार बिक्री गर्ने योजना बनाएको छ। त्यसका लागि भिनफास्टले इन्डोनेसियामा पनि विद्युतीय कार प्लान्ट बनाउन ४० करोड डलर लगानी गर्ने बताएको छ। 


प्रकाशित : बुधबार, पुस २५ २०८००९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend