आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

ऊर्जामन्त्री भन्छन् - डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानका लागि उपयुक्त विकल्पको खोजीमा छौँ

मंगलबार, पुस २४ २०८०
ऊर्जामन्त्री भन्छन् - डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानका लागि उपयुक्त विकल्पको खोजीमा छौँ

उनले समस्या समाधानका लागि महान्यायाधिवक्ता कार्यालयको समेत परामर्शमा तीन दिनभित्र समाधानको उपयुक्त बिन्दु पहिल्याउने बताए।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले लामो समयदेखि सुल्झन नसकेको डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद समाधानका लागि उपयुक्त विकल्पको खोजीमा रहेको बताएका छन्।

प्रतिनिधिसभा,  पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री बस्नेतले नियमनकारी निकायले स्पष्ट जवाफ दिन नसक्दा यो समस्या बल्झदै गएको तथा विगतमा भएको निर्णयहीनताका कारण पनि कठिन अवस्था आइपरेको उल्लेख गरे। उनले समस्या समाधानका लागि महान्यायाधिवक्ता कार्यालयको समेत परामर्शमा तीन दिनभित्र समाधानको उपयुक्त बिन्दु पहिल्याउने बताए। 

लामो समयदेखि विवाद निरुपण हुन नसक्दा पछिल्ला दिनमा नेपाल विद्युत् प्राधिकरणले धमाधम लाइन काट्न थालेको छ र उद्योग व्यवसाय बन्द भएका छन्। 

मन्त्री बस्नेतले आगामी १२ वर्षभित्र २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकारले कार्ययोजना बनाएको र भारतसँग आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेसम्बन्धी सहमति भएको उल्लेख गरे।

नेपालमा उत्पादित बिजुली आन्तरिक खपत बढाउने र बढी भएको बिजुली भारत निर्यात गरिने उनको भनाइ छ। आन्तरिक खपत बढाउनका लागि सरकारले स्पष्ट कार्ययोजना नै तयार पारेको र त्यसलाई कार्यान्वयनमा लगिएको उनले बताए।

बैठकमा ऊर्जासचिव गोपालप्रसाद सिग्देलले भारतसँग पछिल्लो पटक भएको सहमतिका बारेमा जानकारी गराउँदै ऊर्जा क्षेत्रको समग्र हितलाई केन्द्रमा राखिएको बताए। साथै जलस्रोत तथा सिँचाइका सचिव सुशीलचन्द्र तिवारीले लामो समयदेखि थाती रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रुप दिन लागिएको बताए। उनले आगामी एक महिनाभित्र त्यसलाई टुंगो लगाउने गरी आवश्यक तयारी गरिएको बताए।

बैठकमा सांसदहरुले एकाध महिना बिजुलीको महसुल नतिर्दा सामान्य उपभोक्ताको लाइन काट्ने प्राधिकरणले ठूला व्यवसायीले डेडिकेटेड र ट्रंकलाइनमार्फत प्रयोग गरेको महसुल किन नउठाएको भन्दै तत्काल असुलउपर गर्न माग गरेका थिए।

बैठकमा सांसदहरु माधव सापकोटा, ठाकुर गैरे, प्रदीप पौडेल, सिके राउत, निशा डाँगीलगायतले सरकारले भारतसँग गरेको पछिल्लो सहमति, पञ्चेश्वर आयोजना र डेडिकेटेड र ट्रंकलाइनका सम्बन्धमा आ-आफ्नो धारणा राख्दै समस्या समाधानका लागि सरकारलाई सहयोग गर्न तयार रहेको बताएका थिए।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन समस्या समाधानका लागि गरिरहेको प्रयासका बारेमा जानकारी गराएका थिए। रासस


प्रकाशित : मंगलबार, पुस २४ २०८०१७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend