मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

बाढीले क्षति भएको तल्लो मोदी जलविद्युत् आयोजना तीन महिनापछि सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १६ २०७८
बाढीले क्षति भएको तल्लो मोदी जलविद्युत् आयोजना तीन महिनापछि सुरु

गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको थियो।

पर्वत- पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी-१ जलविद्युत् आयोजनाको उत्पादन झण्डै तीन महिनापछि पुन: सुरु भएको छ।

गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको थियो। पर्वतको कुश्मा नगरपालिका-८ चुवामा युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित १० मेगावाट क्षमताको यो आयोजनामा ठूलो क्षति पुगेका कारण मर्मत गर्न लामो समय लागेको हो। प्राविधिक र आयोजनाका कर्मचारीको निरन्तरको प्रयासपछि गत शुक्रबारदेखि उत्पादन सुचारु गरिएको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए। 

आयोजनाभन्दा माथिबाट आएको पहिराले ठूलो क्षति पुर्‍याएपछि तत्काल मर्मत गर्न नसकिएको हो। बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको थियो। विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो। उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सवस्टेसन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको ४ नम्बर टावरसमेत पहिराले ढालेको थियो।

टावर ढलेसँगै तल्लो मोदी-१ को विद्युत्गृहमा पठाउने पानीको नहरको ५०० मिटर भागमा लेदोसहितको माटो थुप्रिनुका साथै करिब एक किलोमिटर क्षेत्र क्षतविक्षत बनाएको थियो। त्यसबाहेक युनाइटेड मोदी आयोजनाले नै निर्माण गरेको विद्युत् प्रसारण टावरसमेत पहिराले ढालेको थियो। 

निर्देशक गौतमका अनुसार बाढी र पहिराका कारण मात्र पाँच करोड रुपैयाँभन्दा बढी क्षति भएको छ। त्यसैगरी अहिलेसम्म विद्युत् उत्पादन नहुँदा थप दुई करोड रुपैयाँ आम्दानी समेत घटेको उनले बताए। आयोजनाको मर्मत पूर्णरुपमा अझै नसकिएको उनको भनाइ छ। यसअघि पनि जेठ ३१ गते राति सुन्दरेखोलामा आएको बाढीले नहर पुरिँदा झण्डै एक महिनापछि आयोजना सुचारु भएको थियो। रासस


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८०५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend