आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

मध्यपहाडी लोकमार्गको काम अलपत्र पार्ने निर्माण कम्पनी कालोसूचीमा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २० २०८०
मध्यपहाडी लोकमार्गको काम अलपत्र पार्ने निर्माण कम्पनी कालोसूचीमा

लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनीलाई अधिकतम तीन वर्षका लागि कालोसूचीमा राखिएको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले जानकारी दिए।

बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बिहुँ-घोडाबाँधे खण्ड अधुरै छाड्ने निर्माण कम्पनी कालोसूचीमा परेको छ। 

कालोपत्रका लागि २०७२ माघमा जिम्मा पाएको एमपी/एससीएफ/इसिसी जेभीले वर्षौँसम्म काम नगरेपछि कालोसूचीमा परेको हो। 

तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भए पनि आठ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले पत्रिकामा सूचना प्रकाशन गरी उक्त निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो। 

सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार समयमै काम नगर्ने निर्माण कम्पनी/व्यवसायीलाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने प्रावधान छ।

सोहीअनुसार लोकमार्ग अलपत्र पार्ने निर्माण कम्पनीलाई अधिकतम तीन वर्षका लागि कालोसूचीमा राखिएको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले जानकारी दिए।

काठेखोला गाउँपालिकाको बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर सडक भारत पश्चिम बङ्गालको एमपी सितानी एण्ड सन्स, सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा, काठमाडौँले संयुक्तरुपमा ठेक्का लिएका थिए। हालसम्म सो सडकको ७४ प्रतिशत प्रगति भएको इञ्जिनियर सुवेदीको भनाइ छ। 

विसं २०७५ माघमा सक्नुपर्ने सडकको काम पाँच पटकसम्म म्याद थप गरिएको थियो। विसं २०८० असार ५ गतेसम्म काम नगरेपछि लोकमार्ग कार्यालयले गत असार १० गते ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्न सार्वजनिक कार्यालयलाई खरिद अनुगमन पत्र पठाएको इञ्जिनियर सुवेदीले बताए। उक्त खण्डमा पाँच किलोमिटर मात्र कालोपत्र गरिएको छ। सात किलोमिटर कालोपत्र गर्न अझै बाँकी रहेको उनको भनाइ छ। 

'लोकमार्गको यो खण्डमा लामो समयसम्म काम भएन, विभिन्न बहानामा निर्माण कम्पनीले काम गरेन, पाँच पटकसम्म म्याद पनि थपियो। काम नगरेपछि कालोसूचीमा राखिएको हो', इञ्जिनियर सुवेदीले भने, 'नयाँ ठेक्काका लागि प्रक्रिया अगाडि बढाइएको छ, बजेटको व्यवस्था भएलगत्तै काम सुरु हुन्छ।' लोकमार्ग कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रु र स्थानीय आजित छन्। रासस


प्रकाशित : शुक्रबार, पुस २० २०८०१४:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend