आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

कालीगण्डकी करिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र थालियो

बिहीबार , पुस १९ २०८०
कालीगण्डकी करिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र थालियो

समुदाय, जनप्रतिनिधि र सरोकारवालाको दबाबपछि निर्माण व्यवसायीले तीन वर्षपछि काम सुरु गरेका हुन्।

म्याग्दी- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ। अन्नपूर्ण गाउँपालिका-७ महभिरबाट वडा नं ६ पोखरेबगर र भुरुंग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो।

बेनी-जोमसोम-कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले ठेकेदार कम्पनीले यसअघि प्राइम कोड बिछ्याएको पोखरेबगर र भुरुंग-तातोपानी क्षेत्रमा बिटुमिन र चिप्ससहित पहिलो कोड राख्न थालेको जानकारी दिए।

'गाउँपालिकाको केन्द्र पोखरेबगर र नागढुंगा-भुरुंग तातोपानी क्षेत्रमा फस्ट कोड राखेको छ', उनले भने, 'महभिरबाट भिरकाटेसम्म कालोपत्रका लागि बेस राखिसकेको छ। त्यहाँ फस्ट कोड राख्ने तयारी भएको छ।' करिब तीन किलोमिटर सडक कालोपत्र गर्न लागिएको इन्जिनियर पन्तले जानकारी दिए।

समुदाय, जनप्रतिनिधि र सरोकारवालाको दबाबपछि निर्माण व्यवसायीले तीन वर्षपछि काम सुरु गरेका हुन्। रघुगंगा गाउँपालिका-३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका-२ भुरुंग तातोपानीको नागढुंगासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी-जोमसोम-कोरला सडक योजनाबीच ठेक्का सम्झौता भएको थियो।

प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माण विसं २०७७ हिउँददेखि सुस्ताएको थियो। धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार काममा फर्किएर कालोपत्र गर्न थालेको बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख ध्रुव झाले बताए।

'पहिरोग्रस्तस्थल र कडा पहरा फुटाउनुपर्ने भागमा वाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सबबेस बिछ्याउने काम सकिएको छ', उनले भने, 'चमेरे, वैसरी र महभिरबाहेकको सडकमा कालोपत्रको तयारी भएको छ।'

शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले करिब छ किलोमिटर दूरीमा सवबेस र बेस राख्ने काम सकिएको बताए। 'मौसमले साथ दियो भने छदेखि आठ किलोमिटर दुरीसम्मको सडक यसपालि नै कालोपत्र गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ', उनले भने।

यो खण्डमा विभिन्न स्थानमा करिब चार किलोमिटर पहिरोस्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइएको छ।

रघुगंगा गाउँपालिकाको राहुपारेबाट बेगखोला खण्डको करिब छ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो। राहुघाट-बेगखोला खण्डको सडक कालोपत्र गर्ने जिम्मेवारी लिएको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालकलाई ताकेता गरिएको शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सिनाले बताए।

बेगखोला-नागढुंगा खण्डको कामलाई पूर्णता दिन मूल ठेकेदार आएको हो। राहुघाट-बेगखोला खण्डको सहायक ठेकेदारले काम नगरे मूल ठेकेदारले नै पूर्णता दिने जनाएको छ। कालोपत्र भइसकेको बैसरी र सिरुवारी क्षेत्रमा ठूलो पहिरो खसेकाले जोखिम बढाएको छ।

यसैबीच बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुंगाबाठ काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण सुरु भएको छ। विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका-२ नागढुंगाबाठ वडा नं ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो।

भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दुरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ। पर्वतको मालढुंगाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दुरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ।

छवटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ। योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण सकिएका छन्। सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : बिहीबार , पुस १९ २०८०१५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend