आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

प्रधानसेनापतिको गर्जनपछि द्रुतमार्गमा पर्ने ४३ सय ४५ रुख काट्न सरकारको स्वीकृति

शुक्रबार, पुस १३ २०८०
प्रधानसेनापतिको गर्जनपछि द्रुतमार्गमा पर्ने ४३ सय ४५ रुख काट्न सरकारको स्वीकृति

४ वटा रुख काट्न महिनौँ धाउँदा पनि काम हुँदैन अनि कसरी समयमा काम गर्न सकिन्छ? भन्ने प्रश्न प्रधान सेनापित शर्माले सांसदहरुलाई नै गरेका थिए।

काठमाडौं- सरकारले काठमाडौं-तराई-मधेश द्रुतमार्ग क्षेत्रमा पर्ने रुख कटानका लागि अनुमति दिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले द्रुतमार्ग आयोजना क्षेत्रमा पर्ने ४३ सय ४५ वटा रुख कटान गर्न स्वीकृति दिएको हो। 

अघिल्लो साता प्रधानसेनापति प्रभुराम शर्माले संसदीय समितिमा रुख कटान नहुँदा काम रोकिएको विषय गम्भीरताका साथ उठाएका थिए। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनामा समयमा काम नभएको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए। 

उक्त प्रश्नको जवाफ दिँदै प्रधानसेनापति शर्माले ४ वटा रुख काट्न ९ महिनासम्म धाउँदा त्यो काट्न नसकिएको बताएका थिए। त्यसका लागि आफूले प्रधानमन्त्रीसम्मलाई भेट्दा पनि काम नभएको उनको गुनासो थियो। 

'४ वटा रुख काट्न महिनौँ धाउँदा पनि काम हुँदैन अनि कसरी समयमा काम गर्न सकिन्छ?' भन्ने प्रश्न प्रधानसेनापित शर्माले सांसदहरूलाई नै गरेका थिए। 

प्रधानसेनापति शर्माले त्यस्तो गुनासो गरेको अर्को साता बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजना क्षेत्रमा पर्ने ४३ सय ४५ वटा रुख कटानको अनुमति दिएको हो। 

मन्त्रिपरिषदको निर्णयमा भनिएको छ, 'काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजनाको सडक खण्ड निर्माणको लागि संलग्न सर्तहरूको पालना गर्नेगरि कमवानपुर र बारा जिल्लाको राष्ट्रिय वन क्षेत्रको जम्मा ४०.१९ पहेक्टर जग्गा प्रयोग गर्न र सो वनमा रहेका ४३ सय ४५ वटा रुख/पोल कटान गर्न स्वीकृति दिने।' 

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको हालसम्मको भौतिक प्रगति २९ प्रतिशतमात्र रहेको छ। 


प्रकाशित : शुक्रबार, पुस १३ २०८०१६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend