आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

प्राधिकरणको प्रसारण लाइनमा जोडियो झापा इनर्जीबाट उत्पादित १० मेगावाट सौर्य ऊर्जा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ११ २०८०
प्राधिकरणको प्रसारण लाइनमा जोडियो झापा इनर्जीबाट उत्पादित १० मेगावाट सौर्य ऊर्जा

झापा इनर्जी प्रालि र प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको थियो। सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ।

झापा- नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ। निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका-४ मा सञ्चालित छ।

प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेशनमा उक्त सौर्य ऊर्जा जोडिएको जानकारी दिए।

'झापा इनर्जीको यो परीक्षण उत्पादन हो', उनले भने, 'केही दिनसम्म लगातार परीक्षण जारी रहनेछ।' उक्त विद्युत् उत्पादन सबस्टेशनमा जोडिँदा विर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतरा, प्राधिकरणका कोशी प्रदेश कार्यालयका इन्जिनियर साजन महर्जन, झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईलगायतको उपस्थिति थियो।

झापा इनर्जीका प्रबन्ध निर्देशक भट्टराईले आगामी १५ दिनसम्म परियोजनाबाट विद्युत् उत्पादन गरेर प्राधिकरणको सबस्टेशनमा जोडिरहने जानकारी दिए। परीक्षणकाल भएकाले सो अवधिमा निजी कम्पनीले उत्पादन गरेको विद्युतको कुनै शुल्क प्राधिकरणले तिर्नुपर्दैन।

पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा परियोजना सञ्चालन भइरहेको छ। सोही स्थानमा सौर्य प्यानल राखिएको छ। सांसद एलपी साँवाको नेतृत्वमा ८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो। परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत स्थानीय सेयर छ। 

परियोजनास्थलबाट प्राधिकरणको बुलुचोक सबस्टेशन एक किलोमिटरको दूरीमा छ। सबस्टेशनसम्म विद्युत पुर्याउन कम्पनी आफैँले नौ सय ६० मिटर प्रसारण लाइन निर्माण गरेको थियो। झापा इनर्जी प्रालि र प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको थियो। सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ। रासस


प्रकाशित : बुधबार, पुस ११ २०८०१०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend