आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

काँकरभिट्टा-लौकही सडक स्तरोन्नतिको काम थाल्ने तयारी, साढे ११ हजार रुख काटिने

आइतबार, पुस ८ २०८०
काँकरभिट्टा-लौकही सडक स्तरोन्नतिको काम थाल्ने तयारी, साढे ११ हजार रुख काटिने

तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ। सडकको लागत २८ अर्ब १७ करोड रूपैयाँ छ।

मोरङ- पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा-लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ। तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ। सडकको लागत २८ अर्ब १७ करोड रूपैयाँ छ।

काँकडभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव सात सय ७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ। जसमा सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुख कटान हुने वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको काँकडभिट्टा-लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिए। सडक क्षेत्रबाट ३५ मिटर क्षेत्रभित्र पर्ने रुखमात्र काटिने र काटिएका रुखको दश गुणाबढी बिरुवा रोपिने उनले बताए
  
डिभिजन वन कार्यालय मोरङका वन अधिकृत घनश्याम यादवका अनुसार मोरङ खण्डको ३६ किलोमिटर क्षेत्रमा पाँच हजार पाँच सय ५६ वटा रुख पर्छन्। मोरङ खण्डका मङ्गलबारे, पथरी, कानेपोखरी, बेलबारी र सलकपुर सवडिभिजन वन कार्यालयले सडक क्षेत्रमा पर्ने रुखको धमाधम छपान गरिरहेको यादवले बताए। पाँचवटै सबडिभिजन वन कार्यालयबाट चार/पाँच जना जनशक्ति परिचालन गरी रुख छपान गर्ने काम भइरहेको छ।

सडक दुई खण्डमा ठेक्का लागेको छ। काँकडभिट्टाबाट दमकसम्मको ४५ किलोमिटर सडक दमकस्थित कार्यालयले हेर्नेछ भने दमकबाट इटहरी पश्चिमसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ। सडक आयोजना इटहरी कार्यालयका प्रमुख प्रजापतिका अनुसार सडक र पुल निर्माणका लागि पाँच वटा अलगअलग ठेक्का लगाएको छ। ठूला र साना पुल निर्माणका लागि बेग्लाबेग्लै ठेक्का लागेको छ भने ० देखि ४५ किमीसम्म,४५ देखि ८५ किमीसम्म र ८५ देखि ९७ दशमलव सात सय ७० किमीसम्म पाँच वटा ठेक्का लागेको छ।

निन्दा, विरिङ, कन्काई पुल निर्माणका लागि एउटा, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको अर्को ठेक्का लागेको छ। यी छ वटा पुल तीन सय मिटरभन्दा लामा छन्। काम छिटो सम्पन्न गर्न अलगअलग टेण्डर आह्वान भएको आयोजना प्रमुख प्रजापतिले बताए।

तीन वर्गमा निर्माण हुने सडक बजार, जंगल र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ। बजार क्षेत्रमा ५० मिटर, जंगल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने आयोजनाले जनाएको छ। सडक क्षेत्रमा रहेका चार सय चार वटा अस्थायी संरचना हटाउनु पर्नेछ।  
  
सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडक एकैपटक काम सुरु हुनेछ। तीन सय मिटरभन्दा लामो पुल रहेका छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन्। नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले संयुक्तरुपमा गर्ने सडक निर्माणको कामका लागि धमाधम साइड खाली गर्ने काम भइरहेको आयोजना दमक कार्यालय प्रमुख सुनीलबाबु पन्तले बताए। रासस


प्रकाशित : आइतबार, पुस ८ २०८०१७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend