आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

अछेते बजारमा घरटहरा भत्काएसँगै मध्यपहाडी लोकमार्ग विस्तारको बाटो खुल्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ६ २०८०
अछेते बजारमा घरटहरा भत्काएसँगै मध्यपहाडी लोकमार्ग विस्तारको बाटो खुल्यो

अहिले घरटहरा भत्काइएको र क्षतिपूर्तिको मूल्यांकनको आधारमा पाँच घरधनीलाई ६५ लाख भुक्तानी गर्न लागिएको छ।

बागलुङ- मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा पर्ने घरटहरा भत्काइएको छ। लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ खण्डको अछेते बजारमा लोकमार्ग विस्तारसँगै कालोपत्र गर्नका लागि घरटहरा भत्काइएको हो। क्षतिपूर्ती दिएर घर टहरा भत्काएपछि लोकमार्गको कालोपत्र गर्ने बाटो खुलेको छ।

सात वर्षदेखि कालोपत्रेको काम थालेपछि उक्त खण्डमा अझै कालोपत्र हुन सकेको थिएन। घरटहरा भत्काउन क्षतिपूर्ति दिनुपर्ने भए पनि अहिलेसम्म क्षतिपूर्ति दिन नसक्दा लोकमार्गको मापदण्डमा पर्ने घर तथा टहरा भत्काउन समस्या भएकाले लोकमार्ग कालोपत्रमा ढिलाइ भएको थियो। 

लोकमार्ग सम्पन्न गर्न निर्माण व्यवसायीको ढिलासुस्ती र लोकमार्ग छेउछाउका घरटहराले समेत समस्या बनाए पनि अहिले निर्माण व्यवसायी धमाधम काममा लागेको छ भने लोकमार्गका मापदण्डमा पर्ने आठ वटा घर तथा टहरा भत्काइएको लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी पवन सुवेदीले जानकारी दिए। 

नेपालमै सबैभन्दा लामो सडकखण्डको रुपमा बागलुङमा एक सय ४२ किमीमध्ये लोकमार्गको १२ किमी मात्रै कालोपत्र गर्न बाँकी छ। लोकमार्ग विस्तारसँगै कालोपत्र गर्न पाँच परिवारका आठ घर तथा टहरा भत्काइएको छ भने ६५ लाख क्षतिपूर्ति दिन थालिएको छ।

'एक हप्ताभित्रै खातामा क्षतिपूर्ति दिइनेछ, घर टहरा भत्काइसकिएको छ, अब लोकमार्ग विस्तारसँगै कालोपत्र हुन्छ', सुवेदीले भने, 'लोकमार्गको सबैभन्दा समस्याग्रस्त स्थानमा लोकमार्गको मापदण्डअनुसार संरचना हटाइएको छ, निर्माण व्यवसायी काममा फर्केर कालोपत्रका लागि ग्राभेल गरिरहेको छ।'

बागलुङ बजारबाट बिहुँसम्मको १३ किमी सडक खण्डमा अहिले कालोपत्रका लागि पाँचौँ पटक म्याद थप गर्न लागिएको छ। काठेखोला गाउँपालिकाको अछेते बजारमा घर टहरा भत्काउन नसक्दा अहिलेसम्म लोकमार्ग विस्तारसमेत हुन सकेको थिएन।

अछेते बजारका घरटहरा भत्काउनका लागि आवश्यक क्षतिपूर्ति प्रदान गर्ने निर्णय २०८० असार १९ गतेको मन्त्रिपरिषद्ले गरेको थियो। त्यसैअनुसार अहिले घरटहरा भत्काइएको र क्षतिपूर्तिको मूल्याङ्कनको आधारमा पाँच घरधनीलाई ६५ लाख भुक्तानी गर्न लागिएको हो।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा अछेते बजारको घर टहरा भत्काउने प्रयोजनमा उपसमिति बनाएर मूल्याङ्कनपछि घरटहरा भत्काइएको हो।

उपल्लाचौरबाट अक्षेते-बिहुँ खण्ड २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर बनाउन दुई वर्षमा काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो। निर्माण व्यवसायीले समयमै काम नगरी पाँचौँ पटक म्याद थपको चरणमा पुगेको छ। निर्माण व्यवसायी काममा फर्केकाले अन्तिम पटक म्याद थपको काम गर्न लागिएको जनाइएको छ। 

उक्त घर टहराको मूल्य अहिलेको बजारअनुसार सहरी विकास तथा भवन निर्माण विभागको मापदण्डबमोजिम भुक्तानी दिने तयारी भएको छ। लोकमार्गको अन्य खण्डमा कालोपत्रेको काम भइसकेकाले अहिले अछेते बजारमा मात्रै वर्षौंदेखि घर टहरा भत्काउन बाँकी रहँदा कालोपत्रको काम रोकिएको थियो। रासस


प्रकाशित : शुक्रबार, पुस ६ २०८०१४:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend