सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भन्सारमा रहेका ३६ सय गाडी जाँचपास गराइहाल्न सरकारी ताकेता

व्यवसाय शिथिल भएकाले सहजीकरण गरिदिन व्यवसायीको आग्रह

बुधबार, पुस ४ २०८०
भन्सारमा रहेका ३६ सय गाडी जाँचपास गराइहाल्न सरकारी ताकेता

कोरोना महामारीदेखि पछिल्लो डेढ वर्षयता अर्थतन्त्रमा देखिएको समस्याका कारण कुनैपनि क्षेत्र चलायमान हुन सकेको छैन।

काठमाडौं- सरकारले भन्सार राजस्व उठौतीमा दबाब बढेपछि अटोमोबाइल व्यवसायीलाई अतिरिक्त दबाब दिएर सवारी जाँचपास गराउन ताकेता गरिरहेको छ।

अहिले मुख्य गरि सवारी आयात हुने दुई नाका वीरगञ्ज र भैरहवाको भन्सार याडमा ३६ सय वटाभन्दा बढी सानाठूला सवारी थन्किएर बसेका छन्। यो संख्यामा भारततर्फको याडमा भएका सवारी संख्या समावेश छैन।

भारततर्फको याडमा भएका सवारी तीन महिनामा वारी ल्याइसक्नु पर्ने र बढीमा एक पटक म्याद थप हुने व्यवस्था रहेको छ। वीरगञ्ज भन्सारको याडमा १६ सयभन्दा बढी र भैरहवा भन्सारको याडमा २ हजारभन्दा बढी सवारीसाधन जाँचपास हुन नसकेर रोकिएका छन्। 

कोरोनाको समयदेखि नै अटोमोबाइल व्यवसाय शिथिल हुँदै आएको छ। दुई पांग्रेदेखि कार हुँदै ठूला कमर्सियल सवारीसम्मको व्यापार हुन नसकिरहेको अटोमोबाइल व्यवसायीहरूको भनाइ छ।

यस्तो समयमा भन्सार कार्यालयहरूले सूचना जारी गर्दै ६० दिनभन्दा बढी सयमदेखि भन्सार याडमा रहेका सवारी जाँचपास गराउन दबाब दिइरहेको नाडा अटोमोबाइल्स एसोसिएसनले जनाएको छ। 

कोरोना महामारीदेखि पछिल्लो डेढ वर्षयता अर्थतन्त्रमा देखिएको समस्याका कारण कुनैपनि क्षेत्र चलायमान हुन सकेको छैन।

सरकारले विकास निर्माणको नयाँ काम सृजना गर्नु त परको कुरा निर्माण व्यवसायीलाई गरेको कामको समेत पैसा भुक्तानी गर्न सकिरहेको छैन। त्यसैले निर्माण क्षेत्र ठप्पै छ। जसका कारण ठूला कमर्सियल गाडी र मेसिनरी उपकरणको बिक्री शून्यप्रायः छ। 

त्यस्तै बैंकले कर्जा दिन कसिलो नीति लिएपछि ‘विलासी’ मानिने कारको व्यापार पनि नगन्य संख्यामा भइरहेको छ। विद्युतीय कारको व्यापार तुलनात्मक रुपमा राम्रो भएपनि पेट्रोलियम इन्जिनयुक्त कारको बिक्री निक्कै सानो संख्यामा भइरहेको छ। मोटरसाइकल तथा स्कुटरको व्यापार पनि नराम्ररी प्रभावित भएको छ। 

अर्थतन्त्रका सबै अवयवहरू धिमा गतिमा रहेको अवस्थामा सरकारले अटोमोबाइल व्यवसायीलाई मात्रै किन यतिधेरै खेद्न खोजेको हो बुझ्न नसकिएको नाडाका एक अधिकारीले बताए। ‘भन्सार कार्यालयहरूले मंसिर दोस्रो सातादेखि भन्सारमा आएर रोकिएका सवारी आयातकर्ताहरूलाई सार्वजनिक सूचनासँगै अलग अलग रुपमा सवारी जाँचपास गराउन पत्र काटेका छन्,’ ती अधिकारीले भने, ‘व्यापार हुन्थ्यो भने पैसा तिरेर सवारी भन्सारमा राख्ने रहर व्यवसायीलाई छैन। तर सरकारले परिस्थितिको मूल्यांकन नै नगरि व्यवसायीलाई पेल्न न्यायोचित भएन।’

भन्सार कार्यालयले सवारीसाधनसहित अन्य सामान जाँचपास गराउन सूचना जारी गरेपछि अटोमोबाइल व्यवसायीहरूले भन्सार विभागको महानिर्देशकसँग छलफल गरिसकेका छन्। विभागले सूचना जारी भएको सयमबाट व्यवसायीको आग्रहमा एक महिना मौखिक रुपमा समय थप गरिदिएको व्यवसायीहरूलाई बताइएको थियो। त्यसरी थपिएको समय पनि पुसको आधाआधीमा सकिने छ। 

सरकारले अर्थतन्त्र चलायमान बनाउन पहल गरे व्यवसायीहरूले क्रमिक रुपमा भन्सारको दबाबबिनै सवारी जाँचपास गराउन लागि पर्ने एक सवारी बिक्रेताले बताए।

‘बिक्री नै नहुने भएर सवारी जाँचपास गरेर नल्याइएको हो,’ ती व्यवसायीले भने, ‘बिक्री हुन्थ्यो भने खरिद गरिएको सवारीको ब्याज र भन्सार याडको भाडा तिरेर सवारी किन पार्किङ गरिन्थ्यो र?’ सरकारले राजस्व उठौतीमा कमी आयो भनेर व्यवसायीलाई मात्र निचोर्ने काम रोक्नु पर्ने व्यवसायीहरूको भनाइ छ। 

यता नाडाले पुनः भन्सार विभाग तथा अर्थ मन्त्रालयलाई दबाबमा नभइ बिक्रीका आधारमा सवारी जाँचपास गर्ने प्रबन्ध मिलाउन संस्थागत रुपमा पहल गर्ने बताएको छ। 


प्रकाशित : बुधबार, पुस ४ २०८००९:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend