सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

रस्साकस्सीबीच नाडामा सहमतिमै नेतृत्व चयन हुने, यो वर्ष करण चौधरी अध्यक्ष बन्ने

मंगलबार, पुस ३ २०८०
रस्साकस्सीबीच नाडामा सहमतिमै नेतृत्व चयन हुने, यो वर्ष करण चौधरी अध्यक्ष बन्ने

सहमतिबाटै नयाँ अध्यक्ष चयन गराउन उनले पूर्वअध्यक्षहरुसँग समेत राय लिएका थिए।

काठमाडौं- अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालमा आगामी नेतृत्व चयनका लागि सहमति भएको छ। दुई दिनसम्म चलेको घनिभूत छलफलपछि नयाँ नेतृत्वका लागि मंगलबार साँझ सहमति बनेको हो। 

'विद्यमान चुनौतीहरूमा चुनावी माहोलमा भिडिरहनुभन्दा सहमतिमा सबैको हित हुने गरी र सबैलाई समेट्ने गरी बढ्नु नै उपयुक्त हुने देखिएको हो' नेतृत्व चयन सहमतिमा नै गर्ने विषयमा धारणा मिलेको जनाउँदै करण चौधरीले भने। 

नयाँ अध्यक्षका लागि आकाश गोल्छा र करण चौधरी चुनावी मैदानमा होमिने तयारीमा थिए। चुनावको मिति नजिकिँदै गर्दा विषम परिस्थितिमा रहेको अटोमोबाइल व्यवसायलाई व्यवसायीहरू एकत्रित भएर जोगाउनु पर्ने चौतर्फी दबाब आइरहेको थियो। वर्तमान अध्यक्षदेखि आगामी नेतृत्वका आकांक्षीहरू सहमतिको प्रयासका लागि केही दिनदेखि छलफलमा थिए। पछिल्लो दुई दिन भने घनिभूत छलफल भएको हो। 

मंगलबारको सहमतिअनुसार यही पुस २० र २१ गते हुने नाडाको ४७औँ साधारण सभाबाट नयाँ अध्यक्षमा करण चौधरीलाई चयन गरिने छ। चौधरीको कार्यकालपछि आकाश गोल्छलाई अध्यक्ष बनाउने सहमति दुई पक्षबीच जुटेको हो। 

यसअघि जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा र सीजी होल्डिंसका करण चौधरी अध्यक्ष पदका लागि निर्वाचन प्रक्रियामा आमनेसामने हुने तय भएको थियो।

त्यस्तै नाडाका सदस्य प्रकाश कपुरीले पनि नाडाको अध्यक्ष पदमा चुनाव लढ्ने सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। 

कपुरीले अध्यक्षमात्र लड्ने घोषणा गरेपनि चौधरी र गोल्छा प्यानलसहित चुनावी मैदानमा होमिने तयारीमा थिए। दुई पक्षबीच आफ्नो प्यानलमा ककसलाई पार्ने वा तान्ने भन्नेमा रस्साकस्सी नै हुँदै थियो। 

सोमबार नाडाका अध्यक्ष ध्रुव थापाले चुनावमा होमिन लागेका पक्षहरूलाई समेटेर बैठक गरेका थिए। सहमतिबाटै नयाँ अध्यक्ष चयन गराउन उनले पूर्वअध्यक्षहरूसँग समेत राय लिएका थिए। सोहीअनुसार सोमबार र मंगलबारको छलफलपछि सबैको प्रयास सफल भएको हो।

अध्यक्षमा सहमति बनेसँगै दुवै पक्षलाई समेटेर नयाँ कार्यसमिति चयनको काम हुनेछ। त्योसँगै नाडाको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षको व्यवस्थालगायत विषयहरू समावेश गरेर अन्य कुराहरूको सम्बोधन गर्ने सहमति पनि दुई पक्षबीच बनेको छ। 


प्रकाशित : मंगलबार, पुस ३ २०८०१८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend