शुक्रबार, जेठ २ गते २०८२    
शुक्रबार, जेठ २ २०८२
images
images

एक करोड फिरौती माग्ने तीनजना पक्राउ

images
आइतबार, मंसिर २४ २०८०
images
एक करोड फिरौती माग्ने तीनजना पक्राउ

पक्राउ परेको समूहले सूर्यप्रसादको घरमा पाँच राउण्ड गोली प्रहार गरेको थियो। उनीहरुले चलाएको गोलीबाट मानवीय क्षति भने भएको छैन।

images
images

मकवानपुर- मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका-९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

images
images
images

तीनै जनाले यही मङ्सिर १९ गते राति हेटौँडा-९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए। प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए। फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन्। तीनैजना आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ।

images
images

प्रहरी उपरीक्षक रिजालका अनुसार पक्राउ परेको समूहले सूर्यप्रसादको घरमा पाँच राउण्ड गोली प्रहार गरेको थियो। घटनाको मुख्य योजनाकार निश्चल रहेको उनले बताए। 'निश्चलले नै सूर्यप्रसादको घरमा गोली हान्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ', प्रहरी उपरीक्षक रिजालले भने। 

images
images

उनीहरुले चलाएको गोलीबाट मानवीय क्षति भने भएको छैन। 'फिरौती रकम माग्न तर्साउने उद्देश्यले घरको भित्तामा गोली हानेको पाइएको छ', उनले भने, 'फिरौती नदिए जे पनि हुनसक्छ भनेर आरोपितहरुले फोनबाट धम्की दिएको खुलेको छ।' 

प्रहरीले योजनाकार निश्चलको साथबाट पेस्तोलसहित २० थान गोली बरामद गरेको छ। आरोपितहरुले हेटौँडा-४ मा कोठा भाडामा लिएर लागुऔषधको कारोबारसमेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले तीनैजनाको साथबाट दुई मोटरसाइकल, दुई ग्राम खैरो हिरोइन, पाँच थान मोबाइल र ५० हजार रूपैयाँ बरामद गरेको छ। पक्राउ परेका तीनै जनामाथि प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ। रासस


प्रकाशित : आइतबार, मंसिर २४ २०८०१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend