आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

डुम्रे-बेँसीसहर-चामे सडक : सम्झौताको मिति सकियो तर कालोपत्र सकिएन

बुधबार, मंसिर २० २०८०
डुम्रे-बेँसीसहर-चामे सडक : सम्झौताको मिति सकियो तर कालोपत्र सकिएन

२०८० कात्तिक २२ मा यस सडक खण्डको कालोपत्र सम्पन्न गर्ने गरी ३८ करोड नौ लाख ८६ हजार चार सय ९२ रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। समयमै काम पूरा नहुँदा असार मसान्तसम्मका लागि समय थपिएको छ।

तनहुँ- डुम्रे-बेँसीसहर-चामे सडकको स्तरोन्नतिको काम भइरहेको छ। यस सडकको प्रवेश नाकाका रुपमा रहेको तनहुँको भानु नगरपालिका क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ।

सो योजनामध्ये तनहुँ खण्डमा कालोपत्रको काम भइरहेको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए। दुई लेनको यस सडक योजनाको ७० प्रतिशत सडक कालोपत्र गरिएको उनले बताए।

भानु-३, खहरे तथा चाम्बास क्षेत्रमा कालोपत्र गरिसकिएको अधिकारीले बताए। भानु-१ भन्सार तथा नगरपालिकाको कार्यालय क्षेत्रमा कालोपत्रका लागि सम्याउने र पुरानो कालोपत्र हटाउने काम भइरहेको उनले बताए। असार मसान्तसम्ममा कालोपत्र सकिने गरी काम भइरहेको उनले जानकारी दिए।

खहरेका केही स्थानमा साना पुल र घुम्ती क्षेत्रमा ‘लेबल’ मिलाउने कार्य भइरहेको सडक योजनाले जनाएको छ। उनले भने, 'केही स्थानमा कालोपत्रका लागि तयारी भइरहेको छ, केही स्थानमा ‘लेबलिङ’को काम भइरहेको छ, यतिबेला कामले गति लिएको छ।' यस सडक खण्डको डुम्रेदेखि चाम्बाससम्म आठ किलोमिटर सडक कालोपत्र गरिने अधिकारीले बताए।

कुल आठ किलोमिटरमध्ये साढे चार किलोमिटर एकपत्र कालोपत्र सकिएको र दुई किलोमिटर दुईपत्र कालोपत्र गरिसकिएको उनले जानकारी दिए। उनका अनुसार अन्य क्षेत्रमा नाला निर्माण र पर्खाल निर्माणको काम भइरहेको छ।

एम/एस आशिष अनेस्ट जेभी भरतपुर चितवनले यस योजनाको निर्माणको जिम्मा पाएको छ। विसं २०७८ बैशाख २२ मा ठेक्का सम्झौता भइ विसं २०७८ बैशाख २९ मा सडक स्तरोन्नतिको कार्य प्रारम्भ भएको थियो। विसं २०८० कात्तिक २२ मा यस सडक खण्डको कालोपत्र सम्पन्न गर्ने गरी ३८ करोड नौ लाख ८६ हजार चार सय ९२ रूपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। सम्झौताको मितिसम्म सडक स्तरोन्नतिको काम गरिसक्नुपर्ने भए पनि पूरा भने भएन।

यस योजनाको ३० प्रतिशत सडक खण्डको कालोपत्रको काम नसकिँदै ठेक्का सम्झौता सकिएको थियो। ठेक्का सम्झौताको मिति सकिँदासम्म ७० प्रतिशत मात्रै काम सकिएपछि समय थप गरिएको अधिकारीले जानकारी दिए। उनले भने, 'सम्झौताको मिति सकियो, तर कालोपत्र सकिएन, काम पूरा गर्न असार मसान्तसम्मका लागि समय थपिएको छ।' करिब ३० प्रतिशत काम पूरा गर्न अझै बाँकी रहेको उनले जानकारी दिए।

यो सडक खण्ड हिमाली जिल्ला मनाङको मेरुदण्डको स्थलमार्गका रुपमा रहेको छ। तनहुँतर्फको काम तीव्र भइरहेको छ भने लमजुङ र मनाङतर्फका सडक खण्डको पनि स्तरोन्नतिको काम भइरहेको सो कार्यालयले जनाएको छ। यस सडक खण्डको तनहुँतर्फ कालोपत्र सकिएपछि सहज रुपमा यात्रा गर्न सकिने जनाइएको छ। रासस


प्रकाशित : बुधबार, मंसिर २० २०८०१४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend