काठमाडौं- आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक नहुँदासम्म सेयर बजारमा उक पछि अर्को दिन उत्साह बढ्दो थियो।
जब नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति २०७८ साउन २९ गते सार्वजनिक गर्यो। मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजार ओरालो लाग्नो थाल्यो।
राष्ट्र बैंकले सेयर कर्जामा व्यक्तिगत तर्फ ४ करोड र संस्थागत १२ करोडको सीमा तोक्यो। जसका कारण ३२ सय अंकमा पुगेको सेयर बजार २५ सय अंकभन्दा तल झर्यो। साथै २१ अर्ब रुपैयाँसम्म पुगेको कारोबार ४ अर्ब रुपैयाँमा खुम्चियो।
लगानीकर्ताले न त सेयर खरिद गर्ने सके न त बिक्री नै गर्न सके। दसैंमा समेत लगानीकर्ताले सेयर बिक्री गर्न सकेन। किनकी मौद्रिक नीति अगाडि खरिद गरेको सेयरमा ४० देखि ६० प्रतिशतसम्म कमी आएको थियो।
अर्को पाटो आयात बढेसँगै लोनको माग बढ्न थाल्यो। बैंकहरुमा तरलता अभाव सुरु भयो। तरलता अभावसँगै बैंकहरुले निक्षेप संकलनका लागि ब्याजदर बढाए।
ब्याजदर बढ्यो, जसको प्रत्यक्ष असर सेयर बजारमा देखियो। बजार निरन्तर रुपमा ओरोला लाग्यो। ब्याजदर अस्भाविक बढ्न थालेपछि दसैंतिहारकै बीचमा राष्ट्र बैंकले ब्यादरमा केही अंकुश लगायो। राष्ट्र बैंकले दोहोरो अंकमा पुगेको ब्याजदरलाई एकल अंंकमा झार्ने काम गर्यो।
साथै ब्याजदर परिर्वतन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढाउन नपाउने नीति अबलम्वन गर्यो। बैंकहरुले अस्वभाविक रुपमा बढाएको ब्याजदर घट्यो। ब्याजदरको विषयपछि पुन केही दिन सेयर बजारमा उत्साह देखियो।
बजार बढेर २८ सयको हाराहारीमा पुग्यो। तर सेयर बजारमा उत्साह लामो समय रहेन। तिहारपछि सेयर बजारमा ठूलो परिर्वतन आएन। २७ सय २८ सय अंककै बीचमा सेयर बजार चलिह्योय र कारोबार रकम पनि ७ अर्बभन्दा माथि जान सकेन।
लगानी कर्ताले राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको सीमा ४ र १२ करोडको संशोधन हुने आशामा पर्ख र हेरकै नीतिमा रोकिए।
अधिकांश वाणिज्य बैंक, विकास बैंक, बीमा कम्पनी, लघुवित्त कम्पनीले लाभांश घोषणा गरे पनि सेयर बजारमा उत्साह देखिएन। लगानीकर्ता पर्ख र हेरको नीतिमै रोकिए। जब मंसिर सुरु हुन २ दिन मात्रै बाँकी रहेको अवस्थामा फेरि बैंकहरुले ब्याजदर बढाउने तयारी गरे। ब्याजदर बढेपछि पुन बजार तल झर्ने आकलन भइरहेको बेला राष्ट्र बैंकले अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशत ब्याज बढाउने पाउने गरे गरेको नीतिमा पनि केही कडाइ गर्यो।
राष्ट्र बैंकले औसतमा १० प्रतिशत भन्दा बढी ब्याजदर बढाउन नपाउने नीति लियो। बैंकहरुले सोही अनुसार ब्याजदर बढाए। ब्याजदर बढाउने प्रतिस्पर्धामा केही अंकुश लाग्यो। २४ बैंकको १०.०५ प्रतिशत ब्याज कायम भयो। २ वटा वाणिज्य बैंकहरुले भने कात्तिक महिनाको ब्याजदरमा कुनै परिर्वतन गरेन। तर पनि बजारमा उत्साह देखिएन। बजारले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा नै कुरिरहेको थियो।
शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्यो। तर बजार जुन विषयले असर पारेको थियो। त्यसमा कुनै परिमार्जन भएन। मौद्रिक नीतिमा गरिएको व्यक्तिगत ४ करोड र संस्थागत १२ करोडको लोनमा कुनै परिमार्जन भएन। यो नीति संशोधन हुने लगानीकर्ताको आशामा राष्ट्र बैंक कठोर भयो।
योसँगै अबको सेयर बजाार कसरी अगाडि बढ्छ भन्ने विषयमा लगानीकर्ताले चासोका साथ हेरिरहेका छन्। मौद्रिक नीतिले सेयर बजारलाई फाइदा हुने गरी कुनै पनि नीति नल्याएको विश्लेषक छोटेलाल रौनियार बताउँछन्।
गभर्नर महाप्रसाद अधिकारीले विभिन्न मञ्चमा बोलेको विषय सम्बोधन नभएको विश्लेषकहरुको आरोप छ। ‘४/१२ करोडको कर्जा सीमाले यति धेरै असर गर्छ भनेर सोचेको थिइनँ भनेर बोलेकै हो। अर्को कुरा अर्थमन्त्रीलगायतका विभिन्न सरोकार राख्नेहरुले बैंकको ब्याजदर कन्ट्रोल गर्ने विभिन्न उपाय सुझाएको पनि थिए। तर त्यसमा पनि खास काम गरेको देखिएन। आँखामा छारो हाल्ने काम भएको छ,’ रौनियारले भने।
अब बजार प्यानिक नहुने र लगानीकर्ताले ४/१२ को सीमा पचाइसकेको कारण बजार नघट्ने र यही अवस्थामा चलिरहेने उनको तर्क छ। ‘राष्ट्र बैंकले बजारमा उत्साह आउने गरी केही काम नगरेपनि अब पनि बजार घट्ने छैन। सुरुमा एक दुई दिन बजारमा प्यानिक भएर बेचे भने बेग्लै कुरा हो,' उनले भने, ‘अब बुझ्ने मान्छेले सेयर बेच्दैनन्। फेरि ब्याजदर बढेको अवस्थामा त अर्थमन्त्री तथा प्रधानमन्त्रीले समेत हस्तक्षेप गर्न सक्छन्। निर्वाचनको कुरा पनि छ। ब्याजदर कन्ट्रोल भएन भने त मुद्रास्फिति बढ्छ। यस्तो भएको अवस्थामा समग्र अर्थतन्त्रमा असर पार्छ। उद्योगधन्दा व्यापार सबैको लागत बढ्दै जान्छ। यसबाट सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्यमा समेत असर गर्छ। अर्थमन्त्रीले पनि समीक्षा गरिरहेकै होलान्।’
अर्का सेयर विश्लेषक रवीन्द्र भट्टराई पनि अबको केही सयम बजार यही अवस्थामा चलिरहने बताउँछन्। ‘लगानीकर्ताले ४/१२ करोडको व्यवस्था पचाइसकेको र यसले बजारमा अब असर गर्दैन। बजारमा ठूलो उतरचढाव आउने अवस्था छैन,’ उनले भने, ‘अलि अगाडिसम्म ४/१२ करोडको असर सेयर बजारमा थियो भन्ने बुझाई थियो। अब त्यो रहँदैन। बजार अहिलकै अवस्थामा केही समय चल्छ।’