आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भुक्तानी नहुँदा बागलुङका दर्जनभन्दा बढी आयोजना अलपत्र, लागत बढ्ने जोखिम

मंगलबार, मंसिर १९ २०८०
भुक्तानी नहुँदा बागलुङका दर्जनभन्दा बढी आयोजना अलपत्र, लागत बढ्ने जोखिम

सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले समयमै भुक्तानी दिन नसक्दा बागलुङमा साना ठूला गरी एक दर्जन बढी आयोजनाको काम रोकिएको बताए। यसवर्ष पनि धेरै कम बजेट आउँदा काम गर्न समस्या हुने उनको भनाइ छ।

ढोरपाटन- समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला दर्जनौँ आयोजना अलपत्र परेका छन्। कतिपय आयोजना निर्माण कम्पनीको लापरबाहीले त कतिपय बजेट अभावका कारण अलपत्र परेका हुन्।

पछिल्लो समय धमाधम काम भइरहेका आयोजना पनि भुक्तानीका कारण रोकिएका छन्। विशेषगरी भुक्तानी नहुँदा दुई ठूला आयोजना ठप्प भएका छन्। बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गतको बागलुङ बजार, सिगाना, बरेङ-गुल्मी शान्तिपुर सडक र निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको हरिचौर, मल्म-पाण्डपखानी रमुवा, रणसिंह, भिमगिठे हुँदै प्यूठान जोड्ने सडकको काम ठप्प भएका हुन्। सडक निर्माण ठप्प हुँदा स्थानीयवासीलाई सास्तीसँगै समयमै काम नहुँदा बनेका संरचना जीर्ण बन्ने थप लागत बढ्ने जोखिम बनेको छ।

बजेट अभावमा दुई ठूला आयोजनासहित बागलुङ र पर्वत जोड्ने जैमिनीघाट मोटरेवल पुल, बडिगाड मोटरेबल पुलमा, बोङ्गादोभान पुललगायतका दर्जन बढी आयोजना अलपत्र पर्ने अवस्थामा पुगेका हुन्। बजेट अभावमा खास गरी बहुवर्षे आयोजनाका कामले गति लिन सकेको छैन।

दुई वटा निर्वाचन क्षेत्र अन्तर्गतका सडकमा निर्माण कम्पनीले धमाधम काम गरेका थिए। गत आर्थिक वर्ष काम गरेको करोडौँ रकम पाउन नसकेपछि कामदार र मेसिन फिर्तासमेत लगेका छन्। समयमै भुक्तानी नहुँदा आफूहरुले ठूलो नोक्सान बेहोर्दै आएको निर्माण कम्पनी बताउँछन्।

निर्वाचन क्षेत्र नं १ अन्तर्गतको बागलुङ बजार, सिगाना, बरेङ-गुल्मी शान्तिपुर सडकको जिम्मा पाएको निर्माण कम्पनी कर्ण विल्डर्सले जिल्लामै सबैभन्दा छिटो काम गरेर आयोजना समयमै सक्ने अवस्थामा पुगेको थियो। तर अहिले काम रोकिएपछि निर्माणाधीन सडकको अवस्था निकै जोखिमयुक्त बनेको छ। तिस महिनाको समय पाएको निर्माण कम्पनीले हालसम्म ४५ प्रतिशत बढी काम गरेको छ। भुक्तानी नपाएपछि करिब छ महिनादेखि काम रोकिएको छ।

कर्ण विल्डर्सका प्रमुख नवीन गुरुङले गतवर्ष काम गरेको दुई करोड ५० लाख रूपैयाँ अहिलेसम्म पाउन नसक्दा काम रोक्न बाध्य भएको बताए। निर्माणका लागि सडक डिभिजन कार्यालयसँग २९ करोड रूपैयाँको सम्झौता गरेको काम सुरु गरेको भन्दै हालसम्म नौ करोड ५० लाख रूपैयाँभन्दा बढीको काम गरेको उनले बताए।

'लामो समय भुक्तानी पाउन सकिएन, भुक्तानी नपाएपछि काम गर्न सक्ने अवस्था आएन, त्यसले गर्दा अहिले काम रोकिएको छ, कामदार र मेसिन पनि अन्तै पठायौँ, म्याद सकिनुभन्दा अगाडि नै काम सक्ने उद्देश्य थियो, काम रफ्तारमा भएको थियो तर भुक्तानी आएन', गुरुङले भने, 'अहिले व्यवहार मिलाउन साह्रै गाह्रो भएको छ, यस मितिमा भुक्तानी हुन्छ भन्नेबित्तिकै मैले तत्काल कामदार र मेसिन लगाएर काम थालिहाल्थेँ, तर भुक्तानी कहिले हुन्छ भन्ने थाहा छैन, समयमै काम नगर्दा हाम्रो पनि लागत बढ्ने, बनाएका ‘बेस’ बिग्रिने हुँदा पछि थप समस्या हुन्छ।'

सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले समयमै भुक्तानी दिन नसक्दा बागलुङमा साना ठूला गरी एक दर्जन बढी आयोजनाको काम रोकिएको बताए। यसवर्ष पनि धेरै कम बजेट आउँदा काम गर्न समस्या हुने उनको भनाइ छ। अघिल्लो वर्ष काम गरेका विभिन्न निर्माण कम्पनीलाई सात करोड ४२ लाख रूपैयाँभन्दा बढी रुकम भुक्तानी गर्न बाँकी रहेको अधिकारीले बताए।

भुक्तानी गर्न नसक्दा निर्माण कम्पनीलाई काम गर्न लगाउन पनि गाह्रो भएको उनी बताउँछन्। उनी भन्छन्, 'यस कार्यालयबाट सञ्चालन भएका धेरै आयोजना भुक्तानी नपाउँदा रोकिने अवस्थामा पुगेका छन्, अघिल्लो आर्थिक वर्षकै ठूलो रकम उहाँहरुलाई भुक्तानी गर्न बाँकी छ, यसवर्ष पनि निकै न्यून बजेट आएको छ, निर्माण कम्पनीलाई काम लगाउनै गाह्रो भएको छ, तीन वटा ठूलो आयोजनाको अघिल्लो वर्षकै करोडौँ रकम हामीले भुक्तानी गर्नुपर्ने छ।'

स्थानीय नेत्रबहादुर केसीले निर्माण कम्पनीले काम नगर्दा स्तरोन्नति गर्नका लागि तयार भएका सडक बिग्रिएर अप्ठ्यारा बनेको बताए। ठेकेदार कम्पनीले पैसा नपाएको भन्दै काम छोडेर गएपछि निर्माण सकिन लागेका आयोजना फेरि पुरानै अवस्थामा पुग्ने स्थिति आएको उनको भनाइ छ। नाली निर्माण, चौडा गर्नेदेखि अन्य संरचना तयार गरेकोमा लामो समयदेखि काम नहुँदा ती सबै भत्किएर काम नलाग्ने भएको उनले बताए। दैनिक दर्जनौँ यातायातका साधान गुड्ने सडकमा गाल्डाखुल्डी र साँघुरो हुँदा आफूहरुले सास्ती भोग्नु परेको गुनासो पोखे। रासस


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०१४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend