आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बेनी-कोरला खण्डमा १६ पुल निर्माण, आठ स्थानमा निर्माणाधीन

आइतबार, मंसिर १७ २०८०
बेनी-कोरला खण्डमा १६ पुल निर्माण, आठ स्थानमा निर्माणाधीन

मुस्ताङको थापाखोला र बोक्सीखोलमा पुल निर्माणका लागि खरिद प्रक्रिया थालिएको छ। बाँकी स्थानमा पुल निर्माणका लागि आयोजनाले अध्ययन गरिरहेको जनाएको छ।

बेनी- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट मुस्ताङको कोरलासम्मको सडकमा पक्की पुल निर्माणले तीव्रता पाएको छ। कालोपत्रसहित सडक स्तरोन्नति भइरहेको यस सडकखण्डअन्तर्गत बेनी-जोमसोम-कोरला खण्डमा अहिलेसम्म १६ मोटरेबल पुल निर्माण भइसकेका छन्।

पक्की मोटरेबल पुल निर्माण हुन थालेपछि खोला-खोल्सामा जोखिमपूर्ण तरिकाले सवारी वारपार गराउनुपर्ने बाध्यता हटेको सवारी चालक विकास भण्डारीले बताए। 'बेग खोलालगायतका धेरै खोलामा वर्षायाममा ज्यानै जोखिममा राखेर सवारी चलाउनुपर्थ्यो, कतिपटक त सवारीसाधन नै खोलाले बगाएका पनि थिए, अब यो समस्या बिस्तारै कम हुँदै गएको छ', उनले भने।

आयोजनामार्फत १३ र सडक विभागअन्तर्गतको पुल महाशाखाले तीन गरी १६ मोटरेबल पुल निर्माण सम्पन्न भएको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिए। गलेश्वरस्थित राहुघाट, बेगखोला, तिप्ल्याङ, पोखरेबगर, दाना, मुस्ताङको लुप्राखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भइसकेको छ।

यस्तै मुस्ताङको  छान्ताङखोला, लेतेखोला, लोमान्थाङ खोला, किम्लिङ खोला, नामडोक खोला, भर्माखोला, स्याङखोला र घट्टेखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको आयोजनाले जनाएको छ।

रुप्से झरना, मुस्ताङको खहरेखोला, सेताखोला, पाण्डाखोला र लेतेखोलामा पुल निर्माणका लागि प्रस्ताव गरिएको इन्जिनियर चापागाईँले जानकारी दिए। बेनी-जोमसोम-कोरला खण्डका विभिन्न आठ स्थानमा पक्की मोटरेबल पुल निर्माणाधीन अवस्थामा रहेको उनले बताए।

यसैगरी पुल महाशाखामार्फत मुस्ताङको थापाखोला र बोक्सीखोलमा पुल निर्माणका लागि खरिद प्रक्रिया थालिएको छ। बाँकी स्थानमा पुल निर्माणका लागि आयोजनाले अध्ययन गरिरहेको जनाएको छ। पर्वतको मालढुंगाबाट बेनी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय आठ किलोमिटर दुरीको मालढुंगा-बेनी-जोमसोम-कोरला सडक विगत सात वर्षदेखि स्तरोन्नतिसहित कालोपत्र योजना सञ्चालन गरिएको छ। रासस


प्रकाशित : आइतबार, मंसिर १७ २०८०११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend